‘टेक्निकल सपोर्ट’ गर्ने डब्लुएचओले सचिव खुशी पार्न ल्यापटपदेखि टिभीसम्म बाँड्यो 


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ‘टेक्निकल सपोर्ट’ गर्नुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सचिव खुशी पार्न ल्यापटपदेखि टिभीसम्म उपहार दिइएको पाइएको छ । तत्कालीन् स्वास्थ्य सचिव लक्ष्मण अर्यालले डब्लुएचओसँग डेढ लाखको ल्यापटपदेखि साढे सात लाख पर्ने स्मार्ट टिभीसम्म बुझेको तथ्य स्वास्थ्य लाइभले फेला पारेको हो । डब्लुएचओले दिइएको कतिपय सामान सचिव अर्यालले निजी बनाएर लगेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

कोरोना जस्तो महामारीमा खोप, परीक्षण उपकरण र अन्य प्राविधिक सहयोगमा भूमिका खेल्नु पर्ने डब्लुएचओले ल्यापटप, टिभी, स्पीकर, मिक्सर, एम्पलीफायर, माइक्रोफोन,ऐन्टिना, फ्टवेयरको लाइसेन्स, पार्केटिङसहित ६० लाख मूल्य बराबरको अनावश्यक सामान बाँड्दै हिडेको पाइएको छ ।

सचिव अर्यालले डब्लुएचओसँग सानातिना अनावश्यक सामान मागेर राष्ट्रको इज्जतमा धुमिल पारेका मात्रै छैनन् मन्त्रालयमा डब्लुएचका कर्मचारीले मर्यादा नाघेर काम गर्ने वातावरण सिर्जना गरिदिएका छन् । डब्लुएचओका कम्युनिकेसन कन्सल्टेण्ट सुनूर बर्माले मन्त्रालयका अधिकारीहरूको कोठामा प्रवेश गरी टिभीदेखि घडीसम्म चले/नचलेका सूचना दिने गरेका छन् । उनले यस्तै अनावश्यक सामान बाँडेर सचिव- सहसचिव खुशी पार्दै आफू अनुकूल घुमाउने गरेको सरकारी अधिकारीहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका एक पूर्वअधिकारी डब्लुएचओले सामान दिए पनि महामारीमा सचिवले यस्ता अनावश्यक कुरा लिन नहुने बताउँछन् । लिने नै भए महामारीको बेला आवश्यक पर्ने सहयोग लिनुपर्ने ति अधिकारीको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ सुशील नाथ प्याकुरेलले अत्यावश्यक क्षेत्रमा मात्रै डब्लुएचओले टेक्निकल सपाेर्ट गर्नुपर्ने बताए । तर, नेपालमा बेला-बेला सिस्टम बाहिर गएर सचिव, मन्त्री तथा महाशाखा प्रमुखहरुलाई रिझाउन सामन दिने गरेको उनको भनाइ छ ।

डब्लुएचओसँग अर्यालले बुझेका सामानहरू

डब्लुएचओसँग सचिव अर्यालले बुझेको सामानमा डेल कम्पनीको ल्याटिच्युड (५३१०) मोडलको  एक लाख ५० हजार हजार मूल्य पर्ने एक थान ल्यापटप, सामसुङ कम्पनीको ५५ इन्चको प्रति थान करिब एक लाख पर्ने स्मार्ट टिभी ४ थान, ८५ इन्चको प्रतिथान साढे ७ लाख पर्ने स्मार्ट सामसुङ टिभी दुई थान रहेको छ ।

डब्लुएचओले ३२ हजार भन्दा बढी पर्ने यामाहा मिक्सर १ थान,  करिब ११ हजार पर्ने आहूजा वाल स्पीकर एक थान,  ३१ हजार मूल्यको आहूजा एम्पलीफायर एक थान,  प्रति थान २८ हजार भन्दा बढी मूल्य पर्ने आहूजा वायरलेस माइक्रोफोन ११ थान,  एक लाख १५ हजार भन्दा बढी मूल्यको आहूजा वायरलेस कन्फेरेन्स सिस्टम एक थान, ८ हजार मूल्यको आहूजा वायरलेस कन्फेरेन्स ऐन्टिना एक थान पनि दिएको छ ।

त्यस्तै डब्लुएचओबाट ८ हजार मूल्यको आहूजा वायरलेस ह्यान्डहेल्ड माइक्रोफोन एक थान,  एक लाख २८ हजार मूल्य प्रतिथान पर्ने सिलिङ माइक्रोफोन चार थान,  ८ लाख भन्दा बढी मूल्यको साउण्ड स्ट्रक्चर एक थान,  ६५ हजार पर्ने इगल आई आइभी एक थान,  ७ लाख ३७ हजार पर्ने इगल आई आइभी एक थान,  ७ लाख ३७ हजार पर्ने इगल आई डाइरेक्टर एक थान सचिव अर्यालले बुझेको देखिन्छ ।

डब्लुएचओले एक लाख १९ हजार  मूल्य बराबरको सफ्टवेयरको लाइसेन्स,  जाब्रा स्पीकर १ थान, जाब्रा प्यानकास्ट २ थान, एक लाख पचास हजार पर्ने जुम लाइसेन्स,वैठक कक्षको लागि तीन लाखको पार्केटिङसहित ६० लाख मूल्य बराबरको अनावश्यक सामान दिएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ