पुकारले अंग प्रत्यारोपण केन्द्रको कार्यकारी बन्न यतिसम्म गरे

डा.पुकारलाई केन्द्रको कार्यकारी निर्देशक बनाउन उनको साथमा माफिया मात्रै होइन देशै लागेको छ ...


काठमाडौँ । एउटा व्यक्ति कार्यकारी पद हत्याउन जेसुकै गर्न तयार छ भन्ने उदाहरण डा. पुकारचन्द्र श्रेष्ठ बनेका छन् ।

राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरको कार्यकारी निर्देशक बन्न शक्ति केन्द्र धाउनेदेखि सिंहदरबारबाट रामशाहपथसम्म कागजात घुमाउनेसम्मका कुकृत्य गरेको तथ्य फेला परेको छ ।
मन्त्रिपरिषद्को निर्णय एउटा च्यानलबाट मात्र पठाउने गरिन्छ । मन्त्रिपरिषद्ले गरेका निर्णय परिपक्व हुन २४ घण्टासम्म लाग्छ भन्ने सामान्य मान्यता छ । मन्त्रिपरिषद्ले त्योबीचमा कुनै निर्णय सच्याउन पनि सक्छ । तर मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. प्रेम ज्ञवालीलाई हटाउने निर्णयमा डा. पुकारले हदैसम्मको चलखेल गरेको तथ्य स्वास्थ्य लाइभलले फेला पारेको छ । डा. पुकारले मुख्यसचिव शंकरदास बैरागी (खनाल)सँग पहुँच पु¥याएर स्वास्थ्य मन्त्रालयमा मन्त्रिपरिषद्ले ज्ञवालीलाई हटाउने निर्णय ल्याएर पत्र तयार गर्न लगाएको आरोप लागेको छ ।

मन्त्रिपरिषद्ले डा. ज्ञवालीलाई हटाउने निर्णय गरेपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले नहटाउन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णय सच्चाउने तयारी गरेका थिए । त्यसको सुइको पाएका डा. पुकारले आफैं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गई मुख्यसचिवबाट निर्णय फुत्काएर स्वास्थ्यमन्त्री र सचिवलाई थाहै नदिइ नीति योजना महाशाखा प्रमुख (एघारौं तह) डा. गुणराज लोहनीलाई प्रयोग गरी पत्र तयार गर्न लगाएर बाहिर ल्याएको खुल्न आएको हो । यस्तो कुकृत्य गरेको थाहा पाउँदा पनि स्वास्थ्य मन्त्री उमेश श्रेष्ठ र स्वास्थ्य सचिव डा. रोशन पोखरेल डा. गुणराज लोहनी र डा. पुकार श्रेष्ठका अगाडि निरीह बनेका छन् ।

वीर अस्पतालमा काम गर्न छाडेर सधैं स्वास्थ्य मन्त्रालयमा धर्ना दिने उनले निर्णय उल्टिन लागेको सुइको पाएपछि पत्र बनाउन लगाएर बाहिर ल्याएको सिंहदरबारभित्र व्यापक चर्चा छ । यति मात्रै होइन डा. पुकारलाई अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक बनाउन पूरै देश लागेको उनीहरुको बुझाई छ ।

वीर अस्पतालमा अन्य सहकर्मीलाई प्रत्यारोपण गर्न नदिएर बिरामी भड्काउने पुकार दिनैपिच्छे स्वास्थ्य मन्त्रालय आएर पत्रकारसहितका अन्य सहकर्मीहरूमाथि बिसबमन गर्ने गरेको पाइको छ । उनले पत्रकारहरुलाई नराम्रो गाली गरेर आफू राम्रो हुँ भन्ने दाबी गर्ने गरेको स्वास्थ्यका अधिकारीहरु सुनाउछन् । स्वास्थ्य क्षेत्रमा पुकारको विषयमा अख्तियार र महालेखाले निकालेका करोडौं अनियमितताका प्रतिवेदनहरूले उनको त्यो अभिव्यक्तिलाई गिज्याइरहेको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार डा. पुकारलाई अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक बनाउन देशै लबिङ्मा लागेको छ । ‘एक हप्तादेखि स्वास्थ्य सचिव र स्वास्थ्यमन्त्रीले विवादित व्यक्ति भन्दै कार्यकारी निर्देशक नबनाउने अडान लिइरहेका छन् तर, उनलाई केन्द्रको कार्यकारी निर्देशक बनाउन देशै लागेकाले दुई जनाले कति दिन थेग्छन् हेर्न बाँकी छ’, मन्त्रालयका एक अधिकारीले भने ।

स्रोतकाअनुसार अहिले आएर प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपाल, मुख्यसचिव शंकरदास बैरागी सबै पुकारलाई केन्द्रको कार्यकारी निर्देशक बनाउन दबाब दिइरहेका छन् । अन्य केही व्यक्ति अदृश्यरुपमा लागेको देखिएको स्वास्थ्यका एक अधिकारी सुनाउँछन् ।

‘स्वास्थ्य मन्त्रालयमा सबै पुकारका फायल एक मिनेट पनि अड्किएका छैनन् । सरकारी सेवामा आवद्ध भएको २५ वर्ष भयो’, अर्का एक अधिकारीले भने, ’यस्तो छिटो फायल सदर भएको पहिलो पटक देख्दैछु ।’, अहिले पुकार अंग प्रत्यारोपण केन्द्रको कार्यकारी बन्न साम, दाम, दण्ड, भेद जे पनि गर्न तयार छन् । उनले शक्ति प्रदर्शन गर्न थालेको स्वास्थ्यमा चर्चा छ ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com