स्वास्थ्य मन्त्रालय कब्जा गर्ने आइएनजिओ एनएचएसएसपी अझै हटेन


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  कब्जा गर्ने  आइएनजिओ नेपाल हेल्थ सेक्टर सपोर्ट कार्यक्रम (एनएचएसएसपी) मन्त्रालयबाट अझै  हटेको छैन । स्वास्थ्य मत्रालयको भौतिक पूर्वाधारदेखि नीति निर्माणसमेतमा पहुँच राख्न सक्ने हैसियत भएको  (एनएचएसएसपी) ले मन्त्रालमबाहिर सर्न मन्त्रालयलाई टेरेको छैन ।

एनएचएसएसपीको कब्जामा रहेको मन्त्रालयको कोठा

मन्त्रालयको फाइलदेखि ट्वाईलेटसम्म कब्जा गर्ने एनएचसएएसपीका मुख्य व्यक्ति कृष्णप्रसाद शर्मा (गौतम) र उनका मुख्य साझेदार डा. सुशील बराल र सुरेश तिवारी हुन् । हर्ट इन्टरनेसनलका प्रबन्ध निर्देशक (एमडी) डा. बराल र बेलायती आइएनजिओ अक्सफोर्ड पोलिसी म्यानेजमेण्ट (ओपीएम) नेपालका कन्ट्री डाइरेक्टर डा. तिवारीसँग मिलेर शर्माले एनएचएसएसपी हाँकेका छन् ।

एनएचसएएसपीका शर्मा, तिवारी र बराल

एनएचएसएसपीले बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग (डएफआईडी÷युकेएड) को आर्थिक सहयोग हेर्दै र प्रयोग गर्दै आएको छ । बेलायतको बजेट चलाएर नेपालको मन्त्रालय कब्जा गर्ने संस्थालाई एनएचएसएसपी भनिन्छ भन्ने व्यंग्य गर्न थालिएको छ । यो स्वास्थ्य क्षेत्रमा व्यंग्य भन्दा पनि वास्तविकता हुन थालेको छ ।

तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य उपेन्द्र यादव र प्रमुख विशेषज्ञ डा. सुशिलनाथ प्याकुरेलले मन्त्रालय छाड्न एनएचएसएसपीलाई निर्देशन दिएका थिए । तर, स्वास्थ्य तथा जनसंख्या सचिव भएर लक्ष्मण अर्याल आएपछि एनएचएसएसपीले उल्टै संरक्षण पायो । उनीहरु झन बलिया आइएनजिओ माफिया भएर निस्केको स्वास्थ्यका अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य मन्त्रालय माथिल्लो तलादेखि स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको तल्लो तलासम्म कब्जा गरेर एनएचएसएसपीले स्वास्थ्यमा आफ्नै साम्राज्य खडा गर्न सफल देखिन्छ । सचिव अर्यालले बराल, तिवारी र शर्माको एनएचएसएपीलाई मन्त्रालयमा हालिमुहाली गर्न दिएर संरक्षण गर्नुको कारण भने अर्यालका नजिकका नातेदार देबेन्द्र ज्ञवाली भएको स्वास्थ्य मन्त्रालयका अधिकारी सुनाउँछन् । ज्ञवाली अहिले एनएचएसएसपीमै काम गर्न थालेका छन् । अर्याललाई खुसी पार्न ज्ञवालीलाई जागिर दिएपछि एनएचएसएसपीले मन्त्रालयमा रजाईं गर्ने छुट पाएको ती अधिकारीहरुको दाबी छ ।

यस अघिका सचिवले मन्त्रालयमा यसरी नै बसेका जिआइजेट, आईपास, पिएसआइलाई निकालेका थिए । तर, अर्याल भने आइएनजिओको संरक्षक बनेर सरकारी अधिकारीहरूमाथि अभद्र व्यवहार गर्न थालेपछि एनएचएसएसपीले स्वास्थ्य मन्त्रालयको कोठा, ट्वाईलेटदेखि नियम, कानुन मात्र कब्जा गरेन बिजुली र पानीको पैसासमेत सरकारलाई नै तिराउन थालेको हो ।

अर्यालपछिका सचिवलेसमेत  प्याकुरेलले जस्तो एनएचएसएसपी हटाउने कुरामा त्यति चासो दिएका छैनन । अर्याल पछिका सचिवले पनि एनएचएसएसपीलाई हटाउन प्याकुरेलको जस्तो आँट देखाउन सकेका छैनन ।

एनएचएसएसपीको कब्जामा मन्त्रालयको ट्वाईलेट

एनएचएसएसपीले बेलायत सरकारले दिएको रकमको खर्च कसरी भइरहेको छ भनेर मनिटरिङको कामसमेत गर्ने गरेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार यो सहयोग वार्षिक ५ अर्ब रुपैयाँ भन्दाबढी हुन्छ । एनएचएसएसपीले बाहिर बसेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक सहयोग गर्नु पर्ने हो । एनएचएसएसपीका एक उच्च अधिकारीकाअनुसार स्वास्थ्य मन्त्रालयलाई आवश्यक परेको खण्डमा बजेटिङ, विशेष गरी तथ्यांकहरु (एचएमआइएस, एलएमआइएस जस्ता) मन्त्रालयको चाहनाअनुसार सहयोग गर्ने हो । तर, उनीहरुको टिओआरअनुसार काम भएको छैन ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामा  स्वास्थ्य उपकरण खरिदमा सहयोग गर्ने भनेर एनएचएसएसपी बसेको छ । सरकारी खरिदका लागि स्पेसिफिकेसन्स बनाउनेदेखि ठेकेदार र हाकिमसँग सेटिङ मिलाउने काममासमेत एनएचएसएसपीका कर्मचारी अग्रसर हुने गरेको पाइएको छ ।

स्वास्थ्य विभागमा एनएचएसएसपी

खरिदमा एनएचएसएसपी जस्तो आइएनजिओका कर्मचारी संलग्न गराइएकाले आइएनजिओकर्मीले टेन्डरमा सेटिङ गर्ने गरेको भन्दै यो अत्यान्तै संवेदनशील र गम्भीर कुरा भएकाले तुरून्तै हटाउन आवश्यक रहेको महाशाखाका अधिकारीहरु बताउँछन् । तर, उच्च अधिकारीको संरक्षण भएकाले एनएचएसएसपीले रजाईं गरिरहेको ती अधिकारीहरूको गुनासो छ ।

स्वास्थ्य क्षेत्र आफू अनुकूल घुमाउने एनएचएसएसपीका आइएनजिओ माफियाहरूलाई मन्त्रालय बाहिर निकाल्न चौतर्फी आवाज उठेपनि उनीहरूले कसैलाई टेरेका छैनन ।

एनएचएसएसपीद्वारा विभागको ट्वाईलेट पनि कब्जामा

स्वास्थ्य क्षेत्रको धेरै कुरा कब्जामा लिएको एनएचएसएसपीलाई तत्काल भौतिक सम्पत्ति कब्जा गर्नबाट मुक्त गर्न स्वास्थ्य मन्त्रालयले कदम चाल्नु पर्ने हो । तर त्यस्तो हुन सकेको देखिंदैन । स्वास्थ्य क्षेत्रमा आबद्ध अधिकारीहरू मन्त्रालय कब्जा गर्ने एनएचएसएसपीका बराल, शर्मा र तिवारीको सम्पत्तिमाथिसमेत छानविन गर्न आवश्यक रहेको औंल्याउँछन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com