सुमेरू अस्पताललाई बन्द गर्ने चेतावनीसहित २० हजार रूपैयाँ जरिवाना

सुमेरू अस्पतालको ठगी धन्दामा स्वास्थ्य लाइभ फलोअप


काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ललितपुरले जावलाखेलस्थित सुमेरु सिटी अस्पताललाई सेवाग्राहीसँग एन्टिजेन परीक्षणमा बढी शुल्क लिएको ठहर गर्दै २० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) घनश्याम उपाध्यायले सुमेरू सिटी अस्पतालमाथि ऐन्टिजन परीक्षणमा बढी शुल्क लिएको पाइएपछि २० हजार रुपैयाँ जरिवाना गराएको जानकारी दिए । ललितपुरको सिडिओ भएर गएपछि सुशासन कायम गराउन लागिपरेका उपाध्यायले जनता ठग्ने सुमेरू अस्पतालको ठगी धन्दामा ब्रेक लगाएका छन् ।

स्वास्थ्य लाइभले ‘सुमेरु सिटी अस्पतालको ठगी धन्दा, एन्टिजेन गर्दै २५ सय लिँदै’ शीर्षकमा समाचार प्रकाशित गरेपछि ललितपुर प्रशासनले कारबाही प्रक्रिया अघि बढाएको थियो ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतको नेतृत्वमा गठित अनुगमन समितिले सुमेरू अस्पतालले बढी शुल्क लिएको भन्दै ठाउँको ठाउँ २० हजार रुपैयाँ जरिवाना गराएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले अब उप्रान्त परीक्षण गर्न आउने सेवाग्राहीसँग अस्पताल बढी शुल्क लिएको पाइए ल्याब नै बन्द गरिने स्पष्ट पारे । ‘संयुक्त अनुगमन टोलीले स्थलगत निरीक्षण गर्दा सरकारले तोकेको भन्दा १५ सय बढी शुल्क असुलेको पाइयो’, उनले भने, ‘ सेवाग्राहीले देख्नेगरी मूल्य सूची राख्नु पर्ने र प्रत्येक १५-१५ दिनमा शुल्क उठाएको विवरण पेश गर्न निर्देशन दिइएको छ । नियमित रूपमा अनुगमन गर्दा बढी शुल्क लिइएको पाइए अब ल्याब नै बन्द गरिन्छ ।’,

सुमेरू सिटी अस्पताललाई यो अन्तिम चेतावनी भएको भन्दै अब यस्तो गतिविधि दोहोरिए अस्पतालको ल्याब बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतको भनाइ छ । उनले ललितपुरका अन्य अस्पतालको पनि नियमित अनुगमन गरिने  जनाए । बस्नेतले कुनै अस्पतालले बढी शुल्क लिएको भए उजुरी गर्न आग्रह गर्दै बढी शुल्क लिएका अस्पतालमाथि कारबाही गरिने प्रतिबद्धता जनाए ।

अनिता घिमिरेको दायाँ मिर्गौलामा पथ्थरी भई उपचारका लागि सुमेरु सिटी अस्पताल जावलाखेल गएकी थिईन् । स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार कोभिड १९ पत्ता लगाउनका लागि गरिने एन्टिजेन परीक्षण शुल्क १ हजार मात्र लिन पाउनेमा सुमेरूले २५ सय रुपैयाँ लिएर ठगी गरेको कुरा स्वास्थ्य लाइभले सार्वजनिक गरेको हो । यसैका आधारमा जिल्ला प्रशासन कार्यालय, ललितपुरले सुमेरू सिटी अस्पतालमाथि एक्सन लिएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com