स्वास्थ्यमा सचिव लक्ष्मण अर्यालको ज्यादती कायमै


समाचार टिप्पणी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरूवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएका सचिव लक्ष्मण अर्यालको स्वास्थ्यमा ज्यादती कायमै रहेको पाइएको छ । उनले स्वास्थ्य मन्त्रालयबाट सिंहदरबार जाने स्वास्थ्यका अधिकरीमाथि धम्की दिने गरेको आरोप लागेको हो ।

स्वास्थ्य मन्त्रालय र मातहतका निकायका अधिकारीलाई सचिव अर्याल फोन गरेर टर्चर दिन थालेको गुनासो छ। औषधि व्यवस्था विभागका महानिर्देशकदेखि मन्त्रालय र विभागका अधिकारीहरूलाई फोन गरेर सचिव अर्यालले स्पष्टीकरण लिने गरेको ती अधिकारीहरुको भनाइ छ ।

अर्याल निकट स्वास्थ्यमा रहेका कर्मचारीहरू विवादित सचिव अर्यालको सुराकीको रुपमा काम गरिरहेको स्वास्थ्य मन्त्रालयमा चर्चा छ । बाह्रौं तहको कासमू किर्ते गरेका अर्यालले त्यो ढाकछोप गर्न दबाब दिएका थिए ।

पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोभिड १९ को बारेमा सूचना दिएको भन्दै ती कर्मचारी फाजिलमा राखेका अर्यालले अहिले पनि स्वास्थ्य सचिव आफै हो भन्ने जसरी प्रस्तुत हुन् थालेका छन् ।

लिक्विड अक्सिजन ट्यांक खरिदमा कमिसन सेटिङ मिलाएबापत शंकर अक्सिजन प्रालिका शंकरलाल अग्रवाललाई समाजसेवीको रुपमा विभूषण दिलाउन सफल अर्यालले आफूले लिक्विड अक्सिजन ट्यांक राख्न दबाब दिएका अस्पतालका सञ्चालकलाईसमेत फोन गरेर धम्की दिन थालेका छन् ।

स्वास्थ्य लाइभमा सचिव अर्यालको विषयमा समाचार आउनेबित्तिकै त्यो सूचना किन दिइस भनेर असम्बन्धित व्यक्तिलाई पनि उनले फोन गरेर टर्चर दिएको सम्बन्धित व्यक्तिहरूको गुनासो छ । पदकमा आफ्ना आसेपासे सिफारिस गरेका अर्यालले अहिले पनि सिंहदरबार गएर स्वास्थ्यमा अनावश्यक शासन गर्नु आपत्तिजनक कुरा रहेको सरकारी अधिकारीहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालयमा हुँदा खोप खरिदमा नयाँ दिल्लीस्थित नेपाली दुतावासमा रहेकी श्रीमती निता अर्याल पोखरेललाई मिलाएर व्यापारी सुरज वैद्य र विजय दुगडसँग कमिसन बार्गेनिङ गरेको सचिव अर्यालमाथि आरोप छ । अर्याल स्वास्थ्यबाट सरूवा भएर गएपछि सुटुक्क दिल्ली पुगेका थिए ।

सचिव अर्यालले पहिला पनि कृष्णहरि पुष्करलाई कांग्रेसीको ट्यांग लगाई दिल्लीबाट फिर्ता बोलाउन लगाएर श्रीमती पोखरेललाई इकोनोमिक मिनिस्टर बनाउन सफल भएका थिए । अहिले फेरि दिल्लीमै  टिकाउन चलखेल थालेका छन् ।

सचिव अर्याल अन्य मन्त्रालयमा सरुवा भएर जान सम्बन्धित मन्त्रालयमा कार्यरत सचिवमाथि अनावश्यक ब्लेम लगाउन थालेका छन् । उनी आफू राम्रो भन्दा पनि त्यो फलानो सचिव खत्तम हो भनेर भन्ने गरेको प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरु बताउँछन् । सहकर्मीलाई गलत देखाएर आफू त्यो मन्त्रालयमा जाने दाउमा  सचिव अर्याल रहेको ती अधिकारीको भनाइ छ । यति धेरै चलखेल गर्ने सचिव अर्याललाई प्रधानमन्त्री शेरबहादुर देउवा र मुख्य सचिव शंकरदास बैरागी खनालले केही गर्न सकेका छैनन् ।

दिल्लीस्थित दुतावासमा रहेकी विवादित इकोनोमिक मिनिस्टर पोखरेललाई फिर्ता बोलाएर अर्को सक्षम व्यक्ति पठाउनु पर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च अधिकारीहरुको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयमा आइएनजिओको संरक्षण गरेर स्रोत साधन दुरूपयोग गरेका सचिव अर्यालको गतिविधमाथि स्वास्थ्य लाइभले निरन्तर फ्लोअप गरिरहेको छ । तर विवादित सचिव अर्यालको विषयमा प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म मौन देखिन्छ ।

क्याटेगोरी : विचार, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ