हाकिमको स्वार्थले स्वास्थ्य सेवा विभागमा खोप प्रमाणपत्र लिनेको भिड


काठमाडौं । स्वास्थ्य सेवा विभागका हाकिमको स्वार्थले एक ठाउँबाट मात्र खोप लगाएको क्यूआर कोडसहितको खोप प्रमाणपत्र वितरण गर्दा सेवाग्राहीहरुको भिड देखिएको छ ।

विभागले जिल्लास्तरबाटै खोप प्रमाणपत्र दिने बताउँदै आएपनि विभागका मुख्य अधिकारीहरू व्यक्तिगत स्वार्थमा फस्दा टेकुबाट मात्रै प्रमाणपत्र पाउने व्यवस्था गरिएको छ । यसैका कारण दसैंको मुखमा खोप प्रमाणपत्र लिने सयौंको लाइन विभाग परिसरमा देखिन्छ ।

कोरोनाका कारण स्वास्थ्य मन्त्रालयले करोडौं खर्च गरेर दुई मिटरको दूरी कायम गरौं भन्ने प्रचारप्रसार गर्दै आएको छ । तर, स्वास्थ्य सेवा विभाग भित्रै त्यो विपरीत ठेलम्ठेल भीड लागेको छ ।

खोप प्रमाणपत्रमा पनि अनियमितता गर्न खोज्दा स्वास्थ्य सेवा विभाग परिसर टेकुमा भिड बढेको आरोप लागेको छ । यो भिड कोरोना फैल्याउने माध्यम बन्न सक्ने भन्दै विभागकै अधिकारीहरू चिन्ता व्यक्त गर्छन् ।

खोप प्रमाणपत्रमा खान खोज्दा यस्तो अवस्था आएको ती अधिकारीहरूको टिप्पणी छ । खोप प्रमाणपत्र वितरणलाई व्यवस्थित बनाएको र लाइन बस्नु नपर्ने दाबी गर्दै आएका विभागका महानिर्देशक डा. आरपी बिच्छालाई उक्त भिडले गिज्याइरहेको छ । अरूलाई सिकाउने र यसैका नाममा करोडौं खर्च गर्ने स्वास्थ्य मन्त्रालय भने आफ्नै मातहतको विभागमा यस्तो हालत रहँदा पनि मौन देखिन्छ ।

कतिपयले नक्कली कागजात लिएर पनि खोप प्रमाणपत्र लिइरहेको फेला परेको छ । स्थानीय तहलाई नै जिम्मा लगाएर खोप प्रमाणपत्र सहज ढंगले वितरण गर्नुपर्नेमा विभागका अधिकारीहरुको स्वार्थमा टेकुको एक ठाउँबाट मात्र प्रमाणपत्र दिने काम भइरहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com