स्वास्थ्यमा के गर्लान् बिरोधले?


स्वास्थ्य लाइभ ‘ब्रिफिङ’

काठमाडौं ।  कोरोना महामारीकाबीच आशा र सम्भावना बोकेर स्वास्थ्य तथा जनसंख्यामन्त्रीको हैसियतमा बिरोध खतिवडा आएका छन् ।

खरो प्रतिपक्षको रुपमा चिनिएका र संसदमा जनताको आवाज बुलन्द रूपमा उठाउन सक्ने भनेर पहिचान स्थापित गराउन सफल बिरोध मन्त्री बनेसँगै राजकाजमा कतिको सफलता हासिल गर्छन् हेर्न बाँकी नै छ ।

निडर र साहसिक स्वभावका बिरोधले बेथितिको भुमरीमा रहेको स्वास्थ्य मन्त्रालय सम्हाल्ने मौका पाएका छन् । भनिन्छ, जहाँ समस्या छ त्यहाँ सम्भावना पनि रहन्छ । मन्त्रीको हैसियतमा पहिलोपटक परीक्षण हुन लागेका उनलाई स्वास्थ्य मन्त्रालय सुधार गर्न बोल्ड स्टेप चाले सम्भावना हो नसके चुनौतीको चाङले  थिचिने अवस्था आउन सक्छ ।

सरकारले चैत्रभित्र सबै नागरिकलाई खोप दिने घोषणा गरिसकेको छ । अहिलेसम्म ३० प्रतिशत नागरिकले पूर्णखोप पाएका छन् । थप खोप आउने क्रममा छन् । सरकारको टार्गेट पूरा भयो भने स्वास्थ्यमन्त्री बिरोधको सफलता त्यहाँ देखिन्छ ।

स्वास्थ्यमन्त्री बिरोधलाई एनजिओ, आइएनजिओले कब्जा गरेको स्वास्थ्य मन्त्रालयबाट त्यो एनजिओ, आइएनजिओ व्यवस्थापन अर्को चुनौती देखिन्छ । स्वास्थ्य क्षेत्रका माफियाहरुले चलाएको हेल्थ सेक्टर सपोर्ट कार्यक्रम (एनएचएसएसपी) समानन्तर मन्त्रालयको रूपमा स्वास्थ्य भित्रै रहेको छ । यसलाई नहटाएसम्म जुनसुकै स्वास्थ्यमन्त्री भएर आएपनि स्वास्थ्य मन्त्रालय एनजिओ, आइएनजिओ माफियाको पञ्जाबाट मुक्त हुने देखिँदैन ।

स्वास्थ्य मन्त्रालयमा एनजिओ, आइएनजिओ हाबी हुँदा मन्त्रालय मात्र होइन सरकार नै कमजोर बन्दै गएको छ । मन्त्रालय कब्जा गरेर मनलाग्दी गर्ने एनजिओ, आइएनजिओ व्यवस्थापन गर्न सके भने बिरोधको कार्यकाल सफल हुने देखिन्छ । मन्त्रालयमा एनजिओ, आइएनजिओको छाडातन्त्र कायम रहने हो भने उनी पनि जागिरे मन्त्रीबाहेक केही हुनेवाला छैनन् ।

स्वास्थ्य गगन कुमार थापाले मन्त्रीको हैसियतमा सफल परीक्षण भएर राजनीतिक हाइट बढाएको मन्त्रालय हो । बिरोधले पनि त्यो हाइट कायम गर्न आइएनजिओ माफियाबाट स्वास्थ्य मन्त्रालयलाई मुक्त बनाउनैपर्छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू भ्रष्टहरूको अखडा भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा शुद्धीकरण अभियान जारी छ । नक्कली प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई तत्काल बर्खास्त गरेर स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियानको नेतृत्व तथा सुरूवात गर्न सक्ने अवसर स्वास्थ्यमन्त्री बिरोधमाथि छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा पनि भ्रष्टाचारले सीमा नाघिसकेको छ । अनियमितताको चक्रव्यूमा रहेको राप्ती प्रतिष्ठानबाट विवादास्पद उपकुलपति डा. संगिता भण्डारीलाई हटाएर कारबाहीको दायरमा ल्याउन सके भने बिरोधको असली साहस त्यहाँ परीक्षण हुन्छ ।  अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठान हालत त्यहिँ छ । प्रतिष्ठानका पदाधिकारीले आफूखुशी तलब सुविधा तोकेर राज्य लुटिरहेका छन् । कानून ल्याएर त्यसलाई व्यवस्थित र पारदर्शी गर्न सकेको खण्डमा देश र स्वास्थ्य क्षेत्रले बिरोधलाई सधै सम्झिरहने छ ।

दबाई माफियाहरूको स्वार्थमा औषधिको मूल्य बृद्धि भएको छ । औषधिमा सरकारी निकाय तथा अधिकारीहरूको मिलेमतोमा जनतालाई लुट्ने काम भइरहेको छ । यसलाई ट्रयाकमा ल्याउन सके र भ्रष्ट कर्मचारी  नियमनको दायराम ल्याएर देखाउन सके बिरोधको सफलता यहाँनेर पनि देखिन्छ।

सरकारी अस्पताललाई व्यवस्थित र सुविधासम्पन्न बनाउनतर्फ ध्यान केन्द्रीत हुनुपर्छ । स्वास्थ्य क्षेत्र सुधार गर्ने आँट र हिम्मतका साथ आएको हो भने बिरोधले कैंची लिएर सर्जका रुपमै स्वास्थ्यमा देखिएका बेथिति चिर्न मैदानमा उत्रनु पर्छ ।  नत्र स्वास्थ्यले एकथान मन्त्री पाउनेसिवाय केहीँ हुँदैन ।

मन्त्री बिरोध स्वास्थ्यमा बेथितिको चाङले थिचिने कि संसदमा जस्तै सशक्त भूमिका निर्वाह गरेर स्वास्थ्य अवस्था परिवर्तन गर्न भूमिका खेल्ने हुन् उनकै  इच्छाशक्ति र कार्यशैलीमा निर्भर रहन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, विचार, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com