समुदायलाई स्वस्थ, स्फूर्त राख्ने अभियानमा दीपेन्द्र,

मेयरले बजेट फ्रिज गराइदिए, दीपेन्द्रले डोजर लगाइ ग्राउण्ड सम्याएर खेल मैदान बनाइदिए


काठमाडौं । भनिन्छ, ‘जहाँ इच्छा त्यहाँ उपाय’, बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठको हकमा त्यहिँ लागू भएको छ । जेएन तण्डूकारलगायतका भूमाफियाले हडपेको बुद्धनगरको करिब साढे दुई रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन दीपेन्द्रले आफ्नै खल्तीको पैसा हाल्नसमेत पछि परेनन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारी ललितबहादुर लिम्बु र वेदप्रसाद शिवाकोटीले अख्तियार छोड्दै गर्दा उक्त नदी उकाशको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन मालपोत डिल्लीबजारलाई निर्देशन दिए । मालपोतका तत्कालीन हाकिम प्रेमबहादुर खापुङलगायतको टिमले रातारात व्यक्तिको नाममा उक्त सरकारी जग्गा दर्ता गरायो । त्योबिरुद्ध बुद्धनगर विकास समिति सर्वोच्च अदालत गयो। प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको एकल इजलासले अख्तियारको निर्णय उल्टाउँदै उक्त जग्गा पुनः सरकारी हुने ठहर गर्‍यो । व्यक्तिको नाममा ल्याउन निर्देशन दिने निर्णयमा संलग्न अख्तियारका पदाधिकारीलाई कारबाही गर्नू भन्ने सर्वोच्चले परमादेशसमेत जारी गर्‍यो ।

युएन पार्कको नाममा लगिएको उक्त जग्गा भूमाफियासँग मिलेर युएन पार्क हेर्ने अधिकारप्राप्त निकाय चुपचाप बस्यो । यता बद्धनगर विकास समितिका मान्छेहरूलाई भूमाफियाले धम्की दिन थाले र मुद्दा लड्ने पैसा पनि छैन भन्दै वानेश्वर सामुदायिकका अध्यक्षसमेत रहेका दीपेन्द्र श्रेष्ठलाई गुहारे, दीपेन्द्रले त्यो केस जिम्मा लिएर सरकारी कायम गराउन सफल भए ।

भूमाफियाको पोल्टामा पुगेको जग्गा सरकारको नाममा फिर्ता ल्याएपछि दीपेन्द्रले युएन पार्क हेर्ने निकायमा गएर स्वामित्व लिएर जग्गा खाली गराउन आग्रह गरे । तर, भूमाफियासँग मिलेको युएन पार्क हेर्ने अधिकार सम्पन्न एकीकृत बागमती विकास सभ्यताका मान्छेहरुले दीपेन्द्रलाई टेरपुच्छर लगाएनन् ।

यसैबीच सामुदायिक सेवा केन्द्रका अध्यक्ष दीपेन्द्रले बागमती प्रदेश काठमाडौं क्षेत्र नम्बर १ (क)का लागि कांग्रेसबाट टिकट पाए र प्रदेश सभा सदस्यमा चुनाव पनि जिते । सरकारी जग्गा जोगाउने अभियानमा लागेका दीपेन्द्र चुनाव जितेर फेरि फिल्डमा आए । तर पनि अधिकारसम्पन्न बागमतीका पदाधिकारीहरु भूमाफियाबाट जग्गा फिर्ता ल्याउन तयार देखिएनन् । त्यसपछि दीपेन्द्र आफैं ज्यानको बाजी राखेर मुद्दा जितेर ल्याएको जग्गामा भूमाफियाले रोपेको मकैं भाँच्न पसे ।

स्थानीयको सहयोगमा उनले भूमाफियाको पञ्जाबाट फिर्ता ल्याएको जग्गामा अधिकार सम्पन्न बागमतीका पदाधिकारीले चासै दिएनन् । दीपेन्द्र आफैं लागिपरेर त्यो जग्गामा तारबार लगाए ।

स्थानीय जनसमुदायको माग बमोजिम उनले त्यहाँ पार्क बनाउने भन्दै सांसदले पाउने प्रदेश पूर्वाधार कार्यक्रममार्फत २० लाख बजेट हाले । दीपेन्द्रले हरियाली पार्क बनाएर स्थानीयलाई स्वच्छ र स्वस्थ वातावरण प्रदान गर्न खोजेपछि बागमती सभ्यताका हर्ताकर्ता उद्धव तिमिल्सिनालाई प्रयोग गरेर एमालेका नेता एवं बागमती कै प्रदेशसभा सदस्य गणेश दुलालले चलखेल थाले । त्यहाँ सपिङ कम्प्लेक्स बनाएर कमिसन खाने दाउमा लागेको थाहापाएपछि दीपेन्द्र रोक्न लागिपरे । त्यसपछि एमाले कार्यकर्तासमेत रहेका भूमाफिया जेएन तण्डुकार सांसद दुलाललाई लिएर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेट्न गएका थिए । त्यो कुराको जानकारी प्राप्त गरेपछि दीपेन्द्र मेयर शाक्यलाई भेट्न गए । मेयर शाक्यले भूमाफियासँग मिलेर दीपेन्द्रले पार्क बनाउन हालेको बजेट फ्रिज गराइदिए ।

यति गर्दा पनि दीपेन्द्रले हिम्मत हारेनन् । खाने मुखलाई जुँघाले छेक्दैन भनेझैं मेयरले बजेट फ्रिज गराइदिएपनि दीपेन्द्र अहिले आफ्नै खर्चले डोजर लगाएर स्थानीयलाई खेल्न र स्वस्थ जीवन जिउन ब्याडमिन्टन कोर्ट बनाइदिने कार्यमा जुटेका छन् ।

तत्कालका लागि दुईवटा ब्याडमिन्टन कोर्ट बनाएर स्थानीयलाई खेल्ने, कुद्ने र स्वस्थ हुन सिकाउने कार्यमा आफू लागेको सांसद दीपेन्द्रको भनाई छ ।

मेयर शाक्यले बजेट फ्रिज गराइदिएपनि आफैंले स्रोत जुटाएर दीपेन्द्रले त्यो जग्गा सार्वजनिक प्रयोजनमा ल्याउने अभियानमा लागेका छन् । खेल मैदान बनाउन उद्देश्यले उनले आफैं फिल्डमा गएर शनिबार डोजर लगाएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com