पूर्व स्वास्थ्यमन्त्रीहरूको दसैं यसरी बित्दैछ


काठमाडौं । वडा दसैं नेपालीहरूको महान चाड हो । वडा दसैं २०७८ मा स्वास्थ्यका शासकदेखि प्रशासकसम्मले कसरी मनाउँदैछन् भनेर स्वास्थ्य लाइभले यहाँहरुसमक्ष पस्कने कोशिश गरेको छ । आज हामीले पूर्व स्वास्थ्यमन्त्रीको दसैं कस्तो रहनेछ भनेर यहाँ प्रस्तुत गर्नेछौं । पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापादेखि उमेश श्रेष्ठसम्मको दसैं कस्तो रहनेछ भनेर कुराकानी गरेका छौं । हामीले उक्त कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।

गगन थापाः यस वर्षको दसैँ हाम्रा लागि थप उत्साहपूर्ण भएको छ । अष्टमीको दिन पारेर छोरीहरुको गुन्युचोली गरिदिएका छौं । लामो समयपछि अमेरिकाबाट भाइ दसैं मनाउँन आएको छ ।
बुबा आमा सँगै भएकाले थप खुसी साटासाट गर्न पाएका छौं । राजनीतिक कारणले अरुबेला व्यस्त हुने म अहिले भने परिवारसँग बसेर रमाइलो गरिरहेको छु ।

उपेन्द्र यादवः अरुको जस्तो हाम्रो टीका लगाउने चलन हुँदैन । तर, पनि हामी दुर्गा माताको पूजा आराधना गर्छौं । टीका नलगाए पनि खाने, पिउने रमाइलो गर्ने चलन हाम्रोमा पनि छ । म अहिले चाडपर्व मनाउन तराईमा आएको छु ।

हृदेयश त्रिपाठी : तराईबाट भर्खरै काठमाडौं आएको छु । बुबा आमा नभएकाले गुरुबाट पहिलो टीका र आशिर्वाद ग्रहण गरेपछि अन्य परिवारका सदस्यलाई टीका लगाई दिन्छु । अहिले हामी सपरिवार दसैंको रमाइलोमा जुटेका छौं । एक आपसमा खुसी साटासाट भइरहेको छ ।

अमिक शेरचन: अहिले म बुटवलमा छु । यही दसैं मनाउँछु । छोराछोरीले आउँछुभनेका छन् । उनीहरुलाई तिलौराकोट घुमाउन लैजान्छु ।
बुबाको देहान्त भएपछि हामी कसैले पनि यसपटक टीका नलगाउने भएका छौं । टीका नलगाउने बाचा गरेको ०६२ सालदेखि हो, अहिलेसम्म लगाएका छैनौं ।

पद्मा अर्याल:  हामी आफ्नै गाउँ स्याङजामा वडा दसैं मनाउँछौं । सपरिवार भेला भएका छौं । घरमा ९१ बर्षको बुबा र ८० वर्षकी आमा हुनुहुन्छ । उहाँहरुको हातबाट टीका र जमरा थापी आशिर्वाद ग्रहण गर्नेछु ।


शेरबहादुर तामाङः अघिल्लो वर्ष कोरोनाले गर्दा राम्रोसँग दसैं मनाउँन पाइएन् । यसपटक काठमाडौं र सिन्धुपाल्चोकमा दसैं मनाउँदैछु । दसैं सुरु भएदेखि दिनहुँ सिन्धुपाल्चोक र काठमाडौं आउ–जाउ भइरहेको छ । फूलपातीको दिन सिन्धुपाल्चोक थिएँ । अष्टमीको दिन काठमाडौं आएको छु । नवमीको दिन सिन्धुपाल्चोक गएर साँझ काठमाडौं फर्कदैछु । काठमाडौंमा बृद्ध ससुरा बुबा भएकाले टीकाको दिन उहाँबाट आशिर्वाद ग्रहण गर्नेछु र सोही दिन गाउँमा काका बुबाको टिका थाप्न जान्छु र बेलुका काठमाडौं नै फर्कन्छु ।

भानुभक्त ढकाल: यस वर्ष मेरो दसैं छैन । मेरी दिदी मैसँग हुनुहुन्थ्यो । उहाँको निधन भएकाले मेरो यस वर्ष दसैं नहुने भएको हो । तर, पनि सुभकामना आदानप्रदानका लागि मोरङ–सुनसरी गएको थिए । निर्वाचन क्षेत्रमा साथीहरुसँग शुभकामना आदानप्रदानपछि अष्टमीको दिन काठमाडौं फर्केको छु ।

उमेश श्रेष्ठ:  दसैं मनाउन फूलपातिको दिन चितवन आएको छु । चीतवनमा ३२ वर्ष अगाडि बनाएको घर छ । चितवनमा सबै नेता कार्यकतासँग रमाइलो गरेर टीकाको दिन बिहान आमाको हातको आशिर्वाद लिन काठमाडौं फर्कन्छु ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com