स्वास्थ्य मन्त्रालयको अवैधानिक १४ कोठामा मन्त्रालयको कामकाज र एनएचएसएसपीको बसोबास


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सबैभन्दा माथिल्लो तला अवैधानिक रहेको पाईएको छ । चारतला रहेको स्वास्थ्य मन्त्रालयलको भवन तीनतलासम्म वैधानिक र सबैभन्दा माथिल्लो एक तला अवैधानिक रुपमा थपिएको पाइएको हो ।

जानकारहरुले बताएअनुसार सन् १९९७–९८ सालमा हालको स्वास्थ्य मन्त्रालय (तत्कालीन परिवार नियोजन संघ) को भुईबाट चौथो तला अवैधानिक ठहरिएको हो । मितिमा केही फरक परे यसलाई हामी सच्याउने छौं ।

हालको स्वास्थ्य मन्त्रालय भएको भवन पिल्लर बिहीन छ । यो भवन फ्रान्सका प्रसिद्ध भवन डिजाइनर लुई कानले डिजाइन गरेका हुन् । यसको सम्पूर्ण खर्च युएसएडले गरेको हो । तर, भवन बनाउँदा लागेको खर्च सार्वजनिक गरिएको छैन ।

स्वास्थ्य क्षेत्रका जानकार डा. बाबुराम मरासिनीकाअनुसार विश्वमा यस्ता तीनवटा भवन बनेका छन् । जसको डिजाइनर लुई कान हुन् । उनले फरक–फरक प्रयोजनका लागि नेपाल, पाकिस्तान र श्रीलंकामा डिजाइन गरेका छन् ।

‘नेपालमा भुई तलादेखी तीन तलाको डिजाइन गरिएको थियो डा. मरासिनीले भने, ‘तर, तत्कालीन सहसचिवले त्यसको डिजाइन बिगारेर एक तला थप्न लगाए । तला थपेपछि अन्तर्राष्ट्रिय रुपमै विवाद भएको थियो।’

स्वास्थ्य मन्त्रालयको थपिएको तला स्पष्ट छुट्याउन सकिन्छ । तला थपेर जस्ता लगाइएको छ । थपिएको तलामा एनएचएसएसपी डब्लुएचओका केही कर्मचारी र स्वास्थ्य मन्त्रालयको लेखा शाखा र नीति योजना महाशाखाको केही कर्मचारी गरी १४ कोठा अवैध क्षेत्रमा चलिरहेका छन् ।

अन्तर्राष्ट्रिय जगतमा नाम चलेको भवनको डिजाइन बिगारेर स्वार्थमा तला थपेपछि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापितले भवन रोक्न महानगरपालीकाको पत्र बोकेर स्वास्थ्य मन्त्रीसमक्ष पुगेका थिए । तर, बलमिच्चाई गरेर तला थपेपछि आफ्नो डिजाइन बिगारेको भन्दै लुई कान र अन्य दातृ निकायले सर्वोच्चमा मुद्दासमेत हालेका थिए । स्थापित ०५४ सालको चुनावमा काठमाडौं महानगरपालिकाको मेयर बनेका थिए ।

त्यस अघिसम्म स्वीजरल्याण्डबाट आर्किटेकमा डिग्री गर्दै गरेका विद्यार्थी हरेक वर्ष नेपालमा अध्ययन अनुसन्धानका लागि सो भवन हेर्न आउने गरेका थिए । जब स्वास्थ्य मन्त्रालयका अधिकारीले डिजाइन बिगारेर तला थप गरी जस्ताको छानो लगाए त्यस बेलादेखि बाँकी भवन पनि बनेन् विद्यार्थीहरु पनि विदेशबाट ल्याउन रोक लगाइएको मरासिनीको भनाइ छ ।

स्वास्थ्य लाइभले यस विषयको आवश्यक कागजपत्र प्राप्त गर्नसाथ सार्वजनिक गर्ने छ । अधिकारीहरुले भनेका छन् , ’हालको भवन दक्षिणी मोहोडा मात्रै हो । उत्तरी मोहोडा अवैध तला थप्ने भएपछि बन्न सकेन ।

यस्तो छ भवनको आकर्षक

यस्तो भवन विश्वमा नेपाल, श्रीलंका र पाकिस्तानमा मात्रै छ । पिल्लरको प्रयोग नगरी वाल सिस्टमले भवन बनाइएको छ । बि.स २०७२ सालको बिनासकारी भुकम्पले पिस्लर सिस्टमका घरहरु भत्किए तर, यो भवनको कुनै पनि भागमा असर गरेको छैन । यस भवन भित्रका कोठाहरु काठले पार्टेसन गरिएको छ ।

अझ मुख्य कुरा त परिवार नियोजन संघको मिटिङहरु हुने भएकाले एक कोठाबाट बोलेको कुरा अर्को कोठामा सुनिँदैन थियो । तर, अहिले यसको संरचना बिगारिएको छ । आवश्यकताअनुसार कोठा घटाउन र बढाउन मिल्ने किसिमले भवन बनाइएको छ । जुन विश्वमा डिजाइन भएका छैनन् ।

विश्वको नमुना भवनको डिजाइन बिगारेर तला थपेको विद्धको सर्वोच्च अदालतमा मुद्धा परेको थियो । उक्त मुद्दाको फैसला गर्दै स्वास्थ्य मन्त्रालयलाई अवैध रुपमा थपिएको तला तत्काल भत्काउन र पुरानै डिजाइनमा ल्याउन आदेश दिएको स्वास्थ्य लाइभले पत्ता लगाएको छ । तर, उक्त आदेशको अहिलेसम्म पनि पालना भएको छैन ।

स्वास्थ्य मन्त्रालयका हालका कुनै अधिकारीलाई मन्त्रालयको सबैभन्दा माथिल्लो तला अवैधानिक रूपमा बनेको र सर्वोच्च अदालतले भत्काउन आदेश दिएको विषयमा जानकारी छैन ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com