विमानस्थलमा नाङ्गलो पसलझैँ अवैध पिसिआर ल्याब, स्वास्थ्य मन्त्रालय रमिते बन्दा रिपोर्टको गुणस्तरमै शंका

स्वास्थ्य मन्त्रालयका अधिकारीसँग स्पष्टीकरण माग्छु: स्वास्थ्य मन्त्री


काठमाडौं । गत असोज १६ गते नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की परिवारसहित दुबई जान विमानस्थल गए । दुबईका लागि उड्ने जहाज भित्र प्रवेश गर्नु चार घण्टा अगाडिको पिसिआर रिपोर्ट देखाउँनु पर्छ ।

उनीहरुले स्टार अस्पतालमा एक दिन अगाडि पिसिआर परीक्षण गरेका थिए । तर, उक्त रिपोर्ट विमानस्थलले नमान्ने भएपछि विमानस्थलमा रहेको क्रिस्टल ल्यावमा परीक्षण गरे । क्रिस्टल विमानस्थलका कर्मचरीले सेटिङ गरेको ल्याव हो । उक्त ल्यावले प्रहरी समेत सेटिङ गरेको अधिकारीहरु बताउँछन् । त्यस्तो सेटिङ गरेको ल्यावको शिकार चिकित्सक संघका अध्यक्ष नै बने ।

नेपालमा प्रयोगशाला सञ्चालन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति लिएको हुनुपर्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति नलिएको र अनुगमन नभएको ल्याब सञ्चालन गर्नु अवैध कार्य हो । त्यस्तो ल्याव संचालन भएको जानकारी पाउन साथ सम्बन्धीत निकायले कारबाही गर्नुपर्छ तर, कारबाही गर्ने हिम्मत कसैको देखिएन ।

डा. कार्कीकाअनुसार अघिल्लो दिन स्टार अस्पतालमा आरटी–पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको नतिजालाई क्रिस्टलले दुबई उड्नु पूर्व आमा र छोरामा कोरोना भएको रिपोर्ट दियो । ’आफूलाई शंका लागेपछि प्रयोगशालाको विषयमा जानकारी लिए, सोही समयमा पुनः परीक्षण गर्न लगाउँदा फेरि नेगेटिभ नतिजा आयो’, डा. कार्कीले भने ।

यसरी पैसा कमाउने नाममा अनुमति र मापदण्डबारे अनुगमन नगरी खुलेका प्रयोगशालाको गुणस्तरमा ठूलो प्रश्न उठेको कार्की बताउँछन् । नामै नसुनेका प्रयोगशालाले कोरोनाको बाहनामा गरिब नागरिकमाथि चरम ठगी गरिरहेका छन् । यस्तो कार्य स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्य प्रयोगशालालाई जानकारी छ । तर, मन्त्रालय रमिते बनिरहेको छ । डा. कार्की एक उदाहरण मात्रै हुन् । यस्ता घटना दिनहुँ सयौंमा हुने गरेको विमानस्थल हेल्थ डेस्कका कर्मचारी बताउँछन् ।

स्वास्थ्य मन्त्रालय अनुगमन तथा गुणस्तर महाशाखा प्रमुख डा. मदन उपाध्याय आफूहरुलाई पनि विमान स्थलको पिसिआर ल्याबबारे जानकारी नभएको बताउँछन् । नयाँ प्रयोगशाला वा सञ्चालनमा रहेको प्रयोगशालाको शाखा विस्तार गर्न पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग अनुमति लिएको हुनुपर्छ । हालसम्म विमानस्थलमा स्टार अस्पताल र सुमेरु अस्पतालको पिसिआर परीक्षणलाई मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचए) ले अनुमति दिएको छ ।

कानुनले नै ल्याबसम्बन्धी सम्पूर्ण अधिकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दिएको छ । तर, विमानस्थलमा खुलेका स्टार र सुमेरुबाहेक अन्य ल्याबले एनपिएचएलबाट अनुमति लिने त कुरै छाडौं जानकारीसमेत गराएका छैनन् ।

मन्त्रालयका गुणस्तर महाशाखा प्रमुख डा. उपाध्याय प्रयोगशालाको अनुमति नलिएका र मापदण्ड नपुगेकालाई बन्द गर्ने बताउँछन् । तर, स्वास्थ्य मन्त्रालयका अधिकारीले अवैध ल्याबमाथि कारबाही गर्न सक्छन् भन्नेमा स्वास्थ्य लाइभलाई आशंका छ । किनकि अवैध ल्याबकोबारेमा बोल्दा माफियाको दवाव थेग्न स्वास्थ्यका अधिकारीलाई चर्को पर्ने छ ।

विमानस्थल हेल्थ डेस्कका प्रमुख गोपाल पाण्डे नेपालबाट विदेश उड्नका लागि ४८ घण्टाको पिसिआर रिपोर्ट वा सम्बन्धित देशको नियम लागू हुने बताउँछन् । मन्त्रिपरिषदबाट निर्णय गर्दै दुबईबाहेक अन्य देशका लागि ४८ घण्टा भित्रको रिपोर्ट चाहिने निर्णय भएको छ । तर, दुबईले भने चार घण्टाको रिपोर्ट चाहिने भनेको छ । चार घण्टाको रिपोर्टका लागि विमानस्थलमा अनिवार्य ¥यापिड परीक्षण गर्नै पर्ने हुन्छ । कमिसनको चक्करमा लागेर यसका लागि अनुमति नलिएका प्रयोगशाला अगाडि सारिएको छ ।

अधिकारीहरु भन्छन्, ’माफियाले शक्तिको चरम दुरुपयोग गरी नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै आएका छन् ।’, उनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक दर्जन पिसिआर परीक्षण गर्ने ल्याब खोलेका छन् । ती ल्याब सञ्चालक को हो कुनै जानकारी सरकार र एनपिएचएललाई छैन ।

स्वास्थ्य मन्त्रालयलेसमेत आफूसँग दर्ता नभएका अवैध ल्याबमाथि कारबाही गर्न सकेको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झा विमानस्थलमा खुलेका प्रयोगशालामा ठूलो समस्या रहेको बताउँछिन् । त्यस्ता ल्याबको अनुगमन गरेर कारबाहीको दायरामा ल्याउनुको विकल्प नभएको उनको भनाइ छ । विमानस्थलमा ल्याब सञ्चालन गर्ने गिरोह अदृश्य रुपमा बसेका छन् ।

कोरोनाले जनता पिल्सिएका बेला राज्य संयन्त्रको चरम दुरुपयोग गरी नियमविपरीत ल्याब चलाएर जनता ठग्ने गिरोहमाथि सरकार लाचार देखिन्छ । स्वास्थ्य सचिव र मन्त्रीले विज्ञप्ति जारी गर्नेबाहेक अर्को कुनै कारबाहीमा जान नसक्दा यस्ता प्रयोगशाले थप प्रोत्साहन पाइरहेका छन् भने जनता ठगिन बाध्य छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीसँग स्पष्टीकरण माग्छु

विरोध खतिवडा, स्वास्थ्य मन्त्री

म स्वास्थ्य मन्त्रालयका जिम्मेवार अधिकारीहरुसँग यस विषयमा गम्भीर छलफल गर्ने छु ।
ल्याबले ठगी गरेको विषय पुष्टि हुन सहज छैन तर, यसबारेमा यथेष्ट जानकारी मन्त्रालय र विभागका जिम्मेवार अधिकारीसँग लिने छु । मंगलबार मन्त्रालयमा पुगेर सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक सबैलाई बोलाएर विमानस्थलमा खुलेका पिसिआर ल्याबको विषयमा स्पष्ट जवाफ माग्ने छु । म कोरोना परीक्षणमा भएको बदमासीको सुधार चाहन्छु ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com