आइएनजिओको ‘पैताला’मुनी स्वास्थ्य मन्त्रालय

आइएनजिओ हटाउन अख्तियारको निर्देशनसमेत मानेन स्वास्थ्यले


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कब्जा जमाएर बसेको आइएनजिओ नेपाल हेल्थ सेक्टर सपोर्ट कार्यक्रम (एनएचएसएसपी) अझै हटेको छैन । मन्त्रालयमा बसिरहन पाउँ भन्दै शक्ति केन्द्र धाइरहेको छ ।

स्वास्थ्य मन्त्रालयलाई आफ्नो पैतालामुनी राखेर एनएचएसएसपी नामक एक आइएनजिओले स्वास्थ्य क्षेत्रमा मनलाग्दी गरिरहेको छ । स्वास्थ्य मन्त्रालयमा आइएनजिओको हस्तक्षेप अपाच्य रुपमा बढेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सचिवलाई एनजिओ, आइएनजिओमाथि आवश्यक कारबाही गर्न भन्दै पत्र पठाएको छ ।

स्वास्थ्य तथा जनसंख्या सचिव डा. रोशन पोखरेलले त्यसलाई हलुका रुपमा मात्रै लिएका छैनन् उनले अहिलेसम्म कारबाहीको कुनै प्रक्रिया अगाडी बढाएका छैनन् ।

स्वास्थ्य लाइभले गत साउन ३ गते ‘स्वास्थ्य मन्त्रालय एनजिओको कब्जामा, टिप्पणी उठाउनेदेखि पत्र बनाउनेसम्म एनजिओको काम’ शीर्षकमा समाचार प्रकाशित गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक कारबाही गर्नू भन्दै साउन ४ गते स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । अख्तियारले दिएको निर्देशन स्वास्थ्यबाट अहिलेसम्म पालना भएको छैन ।

स्वास्थ्यका अधिकारीहरू कारबाही गरेर मन्त्रालयबाट आइएनजिओ निकाल्नु भन्दा सेटिङ्का आधारमा उनीहरुकै पक्षपोषणमा लाग्न थालेका छन् । एनएचएसएसपीले अहिलेसम्म स्वास्थ्य मन्त्रालय भित्र बस्नेबारे स्वास्थ्यसँग भएको सम्झौता देखाउन सकेको छैन ।

स्वास्थ्य मन्त्रालय भित्र बस्नै नमिल्ने एनएचएसएसपी सबैभन्दा शिरमा छ । शिरमा बसेको एनएचएसएसपीले आफूले चाहेअनुसार सचिव, मन्त्री मात्रै हैन पूरै कर्मचारीलाई चलाउने गरेको छ । युकेएडको आर्थिक सहयोगमा नेपाल हेल्थ सेक्टर सपोर्ट कार्यक्रम सञ्चालन भएपछि त्यसको कुनै औचित्य पुष्टि हुन सकेको छैन ।

स्वास्थ्य क्षेत्रका अधिकारीहरु भन्छन् पैतालामुनी राख्नु पर्ने आइएनजिओलाई शिरमाथि राख्दा समस्या आएको हो । शिरमाथि बसेको एनएचएसएसपीले स्वास्थ्यका नीति निमार्णमा पुरै हस्तक्षेप गरेका छन् । स्वास्थ्यमा कार्टेलिङ गरेर बसेका आइएनजिओ हटाउन बलियो मुटु भएको नेतृत्व चाहिन्छ ।

स्वास्थ्य मन्त्रालयको शिरमा बसेर दादागिरी गरेको एनएचएसएसपीले सरकारी ट्वाइलेटसमेत चाबी लगाएर व्यक्तिको घर जस्तो बनाएको छ । सार्वजनिक शौचालयलाई चाबी लगाएर व्यक्तिको बनाउँदासमेत त्यसलाई खोल्ने आँट स्वास्थ्य सचिव र मन्त्रीले गरेका छैनन् । अहिले पनि कुर्सी नपाएर कयौं कर्मचारी फाजिलमा छन् । उनीहरु दिनभर घरको काम गर्ने र ४ बजे हाजिर गर्न मात्रै अफिस (मन्त्रालय) आइरहेका छन् । उनीहरुले गर्ने हरेक काम एनजिओ, आइएनजिओका कर्मचारीले गर्दै आएका छन् ।

मन्त्रालयको फाइलदेखि ट्वाईलेटसम्म कब्जा गर्ने एनएचसएएसपीका मुख्य पात्र कृष्णप्रसाद शर्मा (गौतम) र उनका मुख्य साझेदार डा. सुशील बराल र सुरेश तिवारी हुन् । हड इन्टरनेसनलका प्रबन्ध निर्देशक (एमडी) डा. बराल र बेलायती आइएनजिओ अक्सफोर्ड पोलिसी म्यानेजमेण्ट (ओपीएम) नेपालका कन्ट्री डाइरेक्टर डा. तिवारीसँग मिलेर शर्माले एनएचएसएसपी मात्रै हैन पूरै स्वास्थ्यको संरचना हाकिरहेका छन् ।

स्वास्थ्य क्षेत्रका जानकार डा. बाबुराम मरासिनी अन्तर्राष्ट्रियस्तरमासमेत बदनाम हुँदा सरकारले बाहिर निकाल्न नसक्नु र एनएचएसएसपी आफूसमेत नहट्नुले अनेक शंका उब्जाएको छ । ’कुनै काम बिनाको आइएनजिओलाई मन्त्रालय भित्र स्पेस दिएर राख्नु राम्रो हैन’, डा. मरासिनी भन्छन् ।

’सरकारी पैसाबाट विशेषज्ञ हायर गर्ने भनेर एनएचएसएसपी सुरु गरेको हो ’, डा मरासिनीले अघि थपे, ‘तर अहिले विकृतिको रुपमा देखिएको छ, सरकारलाई हैन आइएनजिओलाई जो मान्छे राख्दा फाइदा हुन्छ त्यहीँ मान्छे राखेर काम गर्दै आएका छन् ।’, तत्काल स्वास्थ्यमन्त्रीले मन्त्रालय भित्र रहेका सबै एनजिओ, आइएनजिओलाई हटाउनुको विकल्प छैन । यसले दीर्घकालमा ठूलो संकट ल्याउने निश्चित छ । आइएनजिओको पैतालामुनी स्वास्थ्य मन्त्रालय राख्दा यसले मन्त्री र सचिव मात्र होइन सिंगो मन्त्रालय, सरकार र देश नै असफल र पैतालामुनी दबिने अवस्था आउन सक्ने सम्भावना रहन्छ ।

यता स्वास्थ्यमन्त्री  विरोध खतिवडाले मन्त्रालयमा आइएनजिओ बसेको पहिलोपटक सुनेको बताए । उनले विषयमा आफू स्पष्ट भएपछि निर्णय लिने सुनाए । ’स्वास्थ्य मन्त्रालयमा कुन-कुन आईएनजिओ बस्छन् यसबारे म चाँडै जानकारी लिन्छु अनि मात्रै थप कदम चाल्छु।’, स्वास्थ्यमन्त्री खतिवडाले भने ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सार्वजनिक सरोकार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com