चिकित्सक भुसालका श्रीमान् सापकोटा चीनको राजदूत ताक्दै


काठमाडौं । चीनका लागि नेपाली राजदूत बन्ने चर्चामा रहेका डा. रुपक सापकोटा चिकित्सक प्रमिला भुसालका श्रीमान् हुन् । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत चिकित्सक डा. भुसालका श्रीमान् रुपकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकबाट राजीनामा दिएसँगै चीनको राजदूत हुने चर्चा चुलिएको हो ।

चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा ‘पिएचडी’ गरेका रुपक सभामुख अग्नीप्रसाद सापकोटाका छोरा हुन् । उनी माओवादी केन्द्रको कोटाबाट चीनको राजदूत बन्ने निश्चित जस्तै रहेको परराष्ट्र उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो । प्रतिष्ठानमा उपकार्यकारी  निर्देशकको राजनीतिक नियुक्ति खाइरहेका रुपकले हठात् राजीनामा दिनुले परराष्ट्र स्रोतको भनाइसँग तालमेल देखिन्छ ।

चीन मामिलाका जानकार सापकोटा चीनको राजदूतका लागि उपयुक्त पात्र रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट नेताहरु बताउँछन् । चीनका लागि राजदूत रहेका महेन्द्र पाण्डेलाई सरकारले फिर्ता बोलाएपछि त्यहाँको नियोगमा राजदूत रिक्त रहेको छ ।

श्रीधर खत्रीलाई अमेरिका, ज्ञानचन्द्र आचार्यलाई बेलायत र शंकरप्रसाद शर्मालाई भारतको राजदूतमा सिफारिस गरेसँगै चीनको राजदूत को बन्छ भन्ने कुरामा सर्वत्र चासो छ । चीनको राजदूतमा यसअघि माओवादी कोटाबाट लिलामणि पौडेल भएका थिए । अहिले पनि माओवादी कै कोटाबाट चिकित्सक भुसालका श्रीमान् रुपक चीनको राजदूत बन्न लागेको चर्चा छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com