समितिको ७२ घण्टे अल्टिमेटम सकिएसँगै बीपीका पदाधिकारी हटाउने प्रस्ताव बन्दै


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा नेतृत्वको छानबिन समितिले बीपीका पदाधिकारीलाई दिएको ७२ घण्टे अल्टिमेटम समाप्त भएसँगै पदाधिकारी बर्खास्त गर्नेगरी प्रतिवेदन पेश गर्ने तयारी भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरू खनाल, अस्पताल निर्देशक गौरीशंकर शाहले समितिको निर्देशन बमोजिम ७२ घण्टा भित्र कारबाही गर्नु नपर्नुको कारण खुलाएर स्पष्टीकरण पेश गरिसकेका छन् । प्रतिष्ठानका विवादित रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले भने यस अघि नै राजीनामा दिइसकेकाले तीन जना पदाधिकारीलाई हटाउने गरी प्रतिवेदन पेश गर्न समितिलाई बीपीका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिइसकेका छन् ।

समितिका सदस्य एवं धरान उपमहानगरपालिका प्रमुख तिलक राईले बीपीका पदाधिकारीले पेश गरेको स्पष्टीकरणको विषयमा समितिका सदस्यहरूबीच भोलिदेखि छलफल हुने जानकारी दिए । बीपीका पदाधिकारीले पेश गरेको स्पष्टीकरण खोलेर हेर्ने तयारी भइरहेको उनको भनाइ छ ।

‘बीपीका देखिएका बेथिति र भ्रष्टाचारको विषयमा बीपीका पदाधिकारीलाई किन कारबाही नगर्ने भन्ने विषयमा ७२ घण्टा भित्र जवाफ पेश गर्न भनिएकोमा जवाफ पेश भएको छ’, मेयर राईले भने, ‘अब भोलिदेखि नै बीपीका पदाधिकारीले पेश गरेको कागजात अध्ययन गरेर प्रतिवेदन तयार पारिन्छ । चाँडै नै बीपीका पदाधिकारीको विषयमा निकास निस्कन्छ ।’,

बीपीका पदाधिकारी हटाउने प्रतिवेदन बनाएर प्रधानमन्त्री एवं बीपीका कुलपति देउवासमक्ष पेश गरिने उनले स्पष्ट पारे ।

२१ दिनको समयसीमा पाएको स्वास्थ्यमन्त्री खतिवडा नेतृत्वको समितिमा मेयर राई र स्वास्थ्य सचिव डा. रोशन पोखरेल सदस्य रहेका छन् । समितिले प्रतिवेदन पेश गरेसँगै प्रधानमन्त्री देउवा बीपीको सिनेट बोलाएर प्रक्रियामार्फत बीपीका तीनै पदाधिकारी बर्खास्त गर्ने तयारीमा देखिन्छन् ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ