कमिसनको चक्करमा सेभ द चिल्ड्रेनद्वारा सरकारलाई भिडाएको सामान फिर्ता गर्न अटेर


काठमाडौं । सेभ द चिल्ड्रेनले कमिसनको चक्करमा खरिद गरेर सरकारलाई भिडाएको सामान फिर्ता गर्न अटेर गरेको खुल्न आएको छ ।
गत आर्थिक वर्षमा सरकारले माइस्क्रोपकोपमा हेर्ने ग्लास स्लाइडलगायतका आवश्यक उपकरण खरिद गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार स्वास्थ्य सेवा विभागले सात उपकरण खरिदका लागि स्पेक बनाएर सेभ द चिल्ड्रेनलाई दिएको थियो । तर त्योविपरीत कमिसनको चक्करमा सेभ द चिल्ड्रेनले सामान किनेर सरकारलाई भिडाउदा प्रयोग गर्न नमिल्ने भएको हो ।

प्रयोग गर्न नमिल्ने सामान फिर्ता लैजान विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पत्रचार गर्दा पनि सेभ द चिल्ड्रेनले फिर्ता लान अटेर गरेको खुलासा भएको हो ।

स्वास्थ्य लाइभले सेभ द चिल्ड्रेनले सेटिङमा खरिद गरेको ठूलो परिमाणका उपकरण प्रयोग गर्न नमिल्ने भन्ने शीर्षकमा समाचार लेखेको थियो । यो विषयमा समाचार प्रकाशित भएपछि स्वास्थ्य सेवा विभागका अधिकारीले चासो राखेका छन् ।

महाशाखाका एक अधिकारीकाअनुसार सेभ द चिल्ड्रेनलाई प्रयोग गर्न नमिल्ने सामान फिर्ता लान भनेर पत्राचार गर्दा पनि अहिलेसम्म फिर्ता लगेको छैन । सेभका अधिकारीले कमिसन खाएर त्यस्ता सामान खरिद गरेकाले फिर्ता लान नमानेको हुन सक्ने महाशाखाका ती अधिकारीको आशंका छ ।

महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले सेभ द चिल्ड्रेनलाई ती सामान फिर्ता गर्न पत्राचार गरेको पुष्टि गरे । तर, सामान भने फिर्ता नभएको उनको भनाइ छ ।

सेभ द चिल्ड्रेनका कर्मचारीले  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महत्त्वपूर्ण कोठा कब्जा गरेर बसेका छन् । केही समयअघि महाशाखा भित्रै सेभ द चिल्ड्रेनका कर्मचारीबीच कुटाकुटसमेत  भएको थियो । त्यो विषयमा स्वास्थ्य लाइभले समाचार प्रकाशित गरेपछि सेभ द  चिल्ड्रेनले छानबिन समिति बनाएर कुटाकुटमा संलग्न कर्मचारीलाई बर्खास्त गरिसकेको छ ।

स्वास्थ्य लाइभले यस विषयमा सेभ द चिल्ड्रेनका कर्मचारीसँग जानकारी लिन खाेज्दा सम्पर्कमा आएनन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com