मान्यता प्राप्त कुनै पनि ल्याबको रिपोर्टले दुबई उड्न पाइन्छ : महाप्रबन्धक तिवारी (अन्तर्वार्ता)


काठमाडौं ।  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो क्षेत्राधिकारबाहिर गएर कोरोना पत्ता लगाउने पिसिआर परीक्षणको शुल्क घटाएको छ । तर, यो शुल्क विमानस्थल भित्र सञ्चालनमा रहेका ल्याबहरुमा मात्रै सीमित हुने छ ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको विमानस्थल सञ्चालन विभागले पिसिआरको शुल्क घटाएको हो । आइतबार एक विज्ञप्ति जारी गर्दै विभागले १२ सय शुल्क तोकेको छ ।

पिसिआर परीक्षणको शुल्क तोक्ने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हो । तर, क्षेत्राधिकार मिच्दै पर्यटनमन्त्री आलेले पिसिआर शुल्क १२ सय कायम गर्न निर्देशन दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले सरकारीमा पिसिआर गरेको एक हजार र निजीमा २ हजार तोकेको छ । तर, विमानस्थलमा खुलेका ल्याबहरूले विदेश जानेहरुको मात्रै कोरोना परीक्षण गर्दै आएका छन् । विमानस्थलका ल्यावले ¥यापीड पिसिआर गर्दै आएका छन् ।

विमानस्थलमा पिसिआर परीक्षणको नाममा अवैध ल्याबहरुको सिण्डिकेट रोक्नुको अलवा आफ्नो क्षेत्राधिकारबाहिर शुल्क तोक्नुलाई स्वास्थ्यकर्मीहरुले शंकाको रुपमा हेरेका छन् ।

स्वास्थ्य लाइभले केही समयदेखि विमानस्थलमा पिसिआर परीक्षणमा भएको सिण्डिकेट र नाङ्गलो पसलझैं खुलेका ल्याबको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको थियो । त्यस यता पर्यटन मन्त्रालयले नियतित अनुगमन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल अनुगमन गरी प्रतिवेदन तयार पारेको छ । त्यस्तै श्रम मन्त्रालयले पनि अनुमन गरेको छ तर, सिण्डिकेट रोक्न कसैले पनि चासो देखाएका छैनन् । यस विषयमा स्वास्थ्य लाइभले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीसँग जवाफ माग गरेको छ ।

 

प्रतापबाबु तिवारी, महाप्रबन्धक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

तपाइँहरुले आफ्नो क्षेत्राधिकारबाहिर गएर कोरोना पत्ता लगाउने पिसिआर परीक्षणको शुल्क तोक्न मिल्छ ?

यो बाध्यता हो । पर्यटनमन्त्री प्रेम आले विमानस्थलको अनुगमनमा आउनु भएको थियो । उहाँले अनुगमनका क्रममा सेवाग्राहीका कुरा सुन्नुभयो । सेवाग्राहीले ल्याबले मनलाग्दी शुल्क लिएको गुनासो आएपछि घटाउन निर्देशन दिनु भएको हो । सेवाको शुल्क, गुणस्तर, अनुमति स्वास्थ्य मन्त्रालयले गर्नुपर्छ ।

दुबई जाने नेपालीहरुमाथि पिसिआर परीक्षणको नाममा तपाईंहरुको सेटिङ् कहिलेसम्म चल्छ ?

हैन, त्यो सेटिङ अन्त्य भइसकेको छ । अब कसैले बदमासी गरे कारबाही गर्नेछौं ।

उसो भए, शुल्क घटाएको कुरा विज्ञप्तिमा आयो तर, सेटिङ् भत्केको कुरा किन आएन त ?

विज्ञप्तिमा त्यो कुरा राखिएन । तर, तपाईंले जुन कुरा उठाउनु भएको छ, त्यसमा हामी गम्भीर भएका छौं । केही चरण छलफल गरेर समाधान निकालेका छौं । सार्वजनिक रुपमा समाचार आएपछि हामीले त्यसको अन्त्य गरेका हौं । अहिले दुबई जानेहरुको विषयमा पिसिआरको समस्या छैन । अवैध ल्याबको मात्रै मान्यता दिएको भनेर सार्वजनिक रुपमा प्रश्न उठेपछि सबै एयरलाइन्सलाई बोलाएर कुनै ल्याब तोकेर पिसिआर गर्न दबाब दिने कार्य रोक्न निर्देशन दिइसकेका छौं ।

भनेपछि दुबई जाने नेपालीहरुको अनुमति प्राप्त कुनै पनि ल्यावबाट पिसिआर गरे मान्य हुन्छ हैन त ?

हो, यो समस्या समाधान भएको छ । कोही पनि नागरिक दुबई जानका लागि विमानस्थलको मात्रै ल्याबमा परीक्षण गर्नुपर्छ भन्ने छैन । उहाँहरुले सरकारले मान्यता दिएको कुनै पनि ल्यावबाट पिसिआर गरेको रिपोर्ट देखाएको खण्डमा दुबई उड्न पाउनु हुनेछ ।

विमानस्थलबाट कसैलाई फर्काएको प्रमाण जुट्यो भने नी !

यदी तपाईंले विमानस्थलमा कसैले ल्याबको रिपोर्टबारे प्रश्न उठायो र फलानो ल्याबमा पिसिआर गर भन्ने सुन्नुभयो भने जानकारी गराउनुहोस् हामी कारबाही गर्छौँ ।


अनी, विमानस्थलका ल्याबमा विवाद हुँदा पनि तपाईं मौन बस्नुको रहश्य चै के नी !

त्यस्तो हैन । त्रिभुवन विमानस्थलमा भएका ल्याबरुमा पनि केहीले अनुमति नलिएको कुरा आयो । कतिपयले आफ्नो ल्याबबाहेक अन्यले गरेको मान्यता हुँदैन भनेर फिर्ता पठाएका घटनाहरु स्वास्थ्य लाइभमा आएपछि हामीले तत्काल एक्सन लिएका हौं । एयरलाइन्सहरुले सिन्डिकेट गर्न नपाउने व्यवस्था गरेका छौं । अब त्यस्तो हुँदैन ।

तपाईं समस्या छैन भन्नु हुन्छ तर, क्रिष्टल जस्तो अवैध ल्याबको सिन्डिकेट घटेको छैन । तपाईंहरुकै कर्मचारी गुण्डा पठाएर अन्य ल्याबका कर्मचारीलाई धम्कि दिन्छन रे ?

अहिले जति पनि ल्याब बसेका छन् त्यो विमानस्थलको एरिया भएपनि नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ठाउँ हैन । ल्याबहरुलेबाहिर भाडामा लिएर चलाएका छन् । उनीहरुले चलाएको ल्याबको मापदण्ड, अनुमति परीक्षणबापत लिनुपर्ने शुल्क स्वास्थ्यले हेर्नुपर्ने हो । यद्यपि हामीले पनि विमानस्थलबाट ल्याब तोक्न पाइँदैन अनुमति पाएका जुन सुकै ल्याबले पिसिआर गर्दा पनि मान्य हुन्छ । विदेशमा मतलव छैन यहाँ किन ल्याब तोक्नु पर्यो भनेका छौं ।

अवैध ल्याबको मात्रै पिसिआर गर भन्दा अन्तर्राष्ट्रिय जगतले के भन्ला भन्ने पनि सोच आएन है ?

कुन क्षेत्रको अनुगमन र नियमन कसले गर्ने भनेर छुट्याएको छ । स्वास्थ्यको विषय भएकाले यसको अनुगमन कारबाही त स्वास्थ्य मन्त्रालय वा नियामक निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने हो ।

अवैध ल्याब किन चल्न दिनुभएको छ त ?

अर्काको क्षेत्रमा हामीले हस्तक्षेप गर्न मिल्दैन । हामीले सुरुमा निजीलाई हैन सरकारीलाई दिने भनेर प्रस्ताव गरेका छौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याब चलाएर स्थान दिने भनेका थियौं तर, उहाँहरुले परीक्षण गर्ने सुविधा छैन भनेपछि निजीले सुरु गरेका हुन् ।

क्याटेगोरी : अन्तर्वार्ता, समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com