पेन किलरमा पल्किए नेपाली

‘ज्यानमारा’ पेन किलर मकै खाएजस्तो खान्छन् नेपाली


काठमाडौं ।

घटना १

काठमाडौंकी चुडा श्रेष्ठ (थर परिवर्तन) वर्षले ३२ भए । ३० वर्षको उमेरदेखि उनलाई जिउ र टाउको दुख्ने समस्या थियो । ठिक नभएपछि नजिकैको स्थानीय पोलिक्लिनीक गए । स्थानीय स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पेन किलर खान थाले । धेरै पेन किलरको प्रयोगले हाल उनको मिर्गौलामा समस्या देखिएको छ ।

घटना २

सुनसरीका सुदेश लम्साल विगत ५ वर्षदेखि उच्च रक्तचापका बिरामी छन् । लम्सालकाअनुसार घुँडा दुख्ने समस्या छदैँछ । उनी पनि घुँडा दुख्नासाथ पेन किलरको प्रयोग गर्ने बताउँछन् । लम्सालले सुरुसुरुमा अरु नै औषधि सेवन गरे, निको भएन । त्यसैले पेन किलर सेवन गर्न थालेको उनको भनाइ छ । पेन किलर खाएको ५ मिनेट देखि दुखाई शुन्य हुन्छ लम्साल सुनाउँछन् । चिकित्सकहरुले भने पेन किलरको प्रयोग बिष बराबर भएको बताएका छन् । पेन किलरले तत्काल निको हुन्छ तर, अन्य अंगको खराबी गर्न बिष बराबर हुने भएकाले पेन किलर प्रयोगमा सचेत रहन चिकित्सकहरूको आग्रह रहँदै आएको छ ।

घटना ३

मुगुकी ५३ वर्षीया एक महिलाको १५ वर्ष अघिदेखि जोर्नी दुख्ने समस्या थियो । धेरै उपचार गरिन् तर ठिक भएन । ठिक नभएपछि दुखाई कम गर्न १५ वर्षदेखि उनले नियमित पेन किलरको प्रयोग गरिरहेकी छिन् । तर, क्रमशः समस्या बढ्दै जाँदा रगतै बान्ता हुन थाल्यो । ती महिला उपचारका लागि काठमाडौं आईन् । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले बताएअनुसार महिलाको मिर्गौला फेल भएको थियो । हाल उनी नियमित डायलाईसिसमा रहेकी छन् ।

घटना ४

धादिङ्का जुडे कुमाल (नाम परिवर्तन) लाई १० वर्षदेखि उच्च रक्तचापको समस्या थियो । ४३ वर्षका कुमाल प्रेसरका कारण टाउको दुखेपछि नियमित अहेवको सल्लाह बमोजिम पेन किलरको सेवन गर्थे । क्रमशः शरीर दुख्न थालेपछि उनी काठमाडौं उपचारका लागि आए । शरीरका जोर्नीहरु दुखेकाले सुरुमा राष्ट्रिय ट्रमा सेन्टर आएका थिए तर, सबै स्वास्थ्य परीक्षण गरेर हेर्दा उनको मुटुमा गम्भीर समस्या हुने अवस्थामा पुगेको रहेछ । उनकाअनुसार धेरै पेन किलरको प्रयोगले गर्दा कुमालमा यस्तो समस्या आएको हो ।

रुघा लागे पेन किलर । 

जिउ दुखे पेन किलर । 

टाउको दुखे पेन किलर ।

जस्तो समस्या हुँदा पनि पेन किलर । 

शरीरको हरेक दुखाईमा नेपालीहरुले पेन किलरको प्रयोग गर्छन् । शारीरिक दुखाईबाट उत्पन्न असजिलोको छुटकारा पाउन नेपालीहरु पेन किलरको बढी सेवन गर्छन् । चिकित्सकहरुले पनि सबैभन्दा पहिला दुखाई ठिक पार्ने नाममा पेन किलर दिने गरेका छन् । चिकित्सक भन्छन, ‘नेपालीहरुले पछिल्लो समय मकै चपाए जस्तो पेन किलर चपाउन थालेका छन् । अनावश्यक रुपमा प्रयोग गरेको पेन किलरले शरीरका भित्री अंगलाई ठूलो क्षती पुर्‍याएको छ ।’,

सामान्य समस्या आउना साथ औषधि पसलमा गएर पेन किलर लिने गरेका छन् । उता औषधि पसलले पनि चिकित्सकको सिफारिस बिना नै पेन किलर बेच्नुले स्वस्थ शरीरमा क्रमशः जोखिम बढ्दै गएको बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले बताउँछन् ।

शरीर दुख्न नपाउँदै नेपालीहरु पेन किलर खान्छन्, त्यो पनि चिकित्सकको परामर्श बिना । चिकित्सकहरुकाअनुसार सामान्य टाउको दुखेको बेला होस् वा कुनै घाउ दुखेको बेला गरिने पेन किलरको प्रयोगले जटिल समस्या निम्त्याउन थालेको छ ।

नेपालमा धेरै बिक्री हो औषधिको सूचीमध्ये पेन किलर पनि पर्छ । तर, यसको आयात र उत्पादनको रेकर्ड सरकारसँग नभएको औषधि व्यवस्था विभाग बताउँछ । विभागका अधिकारीहरु किलरकोबारेमा अनुसन्धान गर्न आवश्यक रहेको सुनाउँछन् ।

पेन किलरले शरीरको भित्री अंगलाई नष्ट गर्छ

चिकित्सकहरुले बताएअनुसार पेन किलरको अनावश्यक प्रयोगले शरीरको भित्री अंगलाई नष्ट गर्छ । मधुमेह, उच्च रक्तचाप, हाइ कोलेस्टोर वा मिर्गौलाको समस्या भएको खण्डमा पेन किलर थप हानिकारक हुन्छ ।

धेरै बिरामीहरु शरीर सुक्यो, मुख सुक्यो, पिसाव घट्यो भन्दै उपचारका लागि आउने गर्छन डा काफ्लेले भने । उनी भन्छन् , ‘यो पेन किलरको प्रयोगले उत्पन्न भएको समस्या हो ।’,

नेपालमा अनवश्यक पेन किलरको प्रयोगले गर्दा मिर्गौलाको समस्या भएका बिरामीहरुको संख्या बढ्ने क्रममा रहेको चिकित्सकले बताए ।

पेन किलरको प्रयोगले उत्पन्न हुने समस्या

➡️पेन किलरको सेवनले गर्दा श्वासप्रश्वारासम्बन्धी समस्या ल्याउन सक्छ । यसको अधिक प्रयोगले दमको शिकार हुने खतरा रहन्छ । यसले फोक्सोमा समेत खराबी ल्याउने गर्छ ।

➡️पेन किलर धेरै मात्रामा सेवन गर्दा त्यसले पेटमा घाउ बनाउछ । ग्यास्ट्रिक हुने, छातीमा जलन, पेट दुखाई, वान्ता हुने गर्छ । अनावश्यक प्रयोगले पेट सुन्निने मात्र नभई पेटमा घाउ बन्ने गर्छ ।

➡️ लामो समयसम्म पेन किलर सेवन गर्दा मिर्गौला बिग्रन्छ । साथै स्वास्थ्य मानिसलाई मानसिक रोगीमा पुर्‍याउने खतरा हुन्छ । यसले रगतलाई दुषित बनाउँछ, जसका कारण हृदयघात हुन्छ ।

➡️ पेन किलरको प्रयोगले कलेजोको सेल्स मर्न थाल्छ । मानिस क्रमशः घट्दै जानु, भोक लाग्न छाड्नुले लक्ष्यण देखाउछ ।

➡️ पारासिटामोलको प्रयोग गर्दा त्यसले काम गर्न ३० मिनेट लाग्छ । त्यसमा पनि न्युन मात्रै काम गर्छ तर, पेन किलरले तत्काल काम गर्छ । यसले रक्तश्राव गराउनुका साथै मिर्गौंलालाई खराबी गर्छ । गर्भमा समेत यसले असर पुर्याउछ ।

पेन किलरमा पल्किए नेपाली

 

डा. ऋषि कुमार काफ्ले

बरिष्ठ मिगौला रोग विशेषज्ञ

दुखाई कम गर्ने औषधीहरु फरक फरक छन् । साधारणतया पारासिटामोलले पनि दुखाई कम गर्छ तर, यसको दुखाई कम गराउने क्षमता निकै न्युन रहन्छ । यसले दुखाई कम गर्दा खासै समस्या पार्दैन । टाउको दुखेर पारासिटामोल खाएको अवस्थामा ठिक हुन कम्तिमा ३० मिनेटको समय लाग्छ । तर, मानिसहरुलाई तत्काल समाधान हुने औषधी चाहिन्छ । त्यसको पूर्तिगर्न सक्ने भनेको पेन किलर मात्रै हो । पेन किलर खानासाथ ठिक हुन्छ । टाउँको, जीउ, खुट्टा शरिरका जुनसुकै भाग दुखे पनि पेन किलर खाएको छोटो समयमा ठिक हुन्छ । जसले गर्दा पेन किलरमा मान्छेहरु पल्किएका छन् ।

ब्लड प्रेसरले गर्दा टाउको दुखेको छ, नेपालीहरु औषधी पसलमा गएर पेन किलर किनेर खाने गर्छन । शारीरिक कसरतको वेवास्था गर्ने बानिको बिकासले गनि धेरै नेपालीहरुमा स्वास्थ्य समस्या बढ्दै गएको छ । नेपालमा सबै भन्दा बढी उत्पादन पेन किलर हुन्छ ।

डेढ अर्बको उत्पादनः दुई अर्बको आयात

नेपाल औषधी उत्पादक संघका पूर्व अध्यक्ष शंकरप्रसाद घिमिरेकाअनुसार नेपालका सबै जसो औषधि उत्पादक कम्पनीले पेन किलर उत्पादन गर्दै आएका छन् । भारतबाट पनि यसको आयात निकै ठूलो संख्यामा रहेको छ ।

नेपालमा पेन किलरको उत्पादन प्रतिवर्ष डेढ अर्ब रुपैयाँको रहेको छ । भारतबाट दुई अर्बको पेन किलर आयात हुने गरेको घिमिरेले बताए ।  ‘पेन किलरको प्रयोग अनावश्यक मात्रामा भएको छ । बजारमा यसको व्यापक दुरुपयोग छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारीस बिना बिक्रीबितरण भएका कारण पेन किलरको सेवन धेरै छ’, उनले भने, ‘यसलाई नियन्त्रण गर्न जरुरी छ, यसको व्यवस्थापन सही रुपमा गर्न सकिएन भने दीर्घकालीन रुपमा गम्भीर समस्या ल्याउने छ ।’, त्यसैले पेन किलरको प्रयोगका विशेष ध्यान दिन जरूरी रहेको घिमिरेको सुझाव छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com