भोजपुरका राजेन्द्र प्रदेश एकको मुख्यमन्त्रीमा नियुक्त, छुट्टै स्वास्थ्य मन्त्रालय बनाउलान् ?


काठमाडौं । भोजपुर जिल्लामा जन्मिएका राजेन्द्र राई प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनको आजै तीन बजे सपथग्रहण कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

भोजपुर प्रदेशसभा क्षेत्र नम्बर एक (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित राई एमाले हुँदै नयाँ बनेको पार्टी नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका हुन् । भोजपुरको देउरालीमा जन्मिएका राई अनेरास्ववियुको नेतृत्वमा हुँदा चर्चित बनेका थिए । प्रदेश एकमा छुट्टै स्वास्थ्य मन्त्रालय बनाउनु पर्ने माग उठिरहेको बेला राई मुख्यमन्त्री बनेका हुन् ।

स्वास्थ्यकर्मी मागअनुसार प्रदेश एकमा छुट्टै स्वास्थ्य मन्त्रालय बनाउँछन् भन्ने धेरैको तर्क छ । जाँदाजाँदैको सरकारले एक नम्बर प्रदेशमा स्वास्थ्यको संरचना ध्वस्त पारेको आरोप लगाउँदै स्वास्थ्यकर्मीहरु आन्दोलनको तयारीमा छन् ।

एकद्वार स्वास्थ्य प्रणालीको नाममा स्वास्थ्य संरचनालाई ध्वस्त पार्न खोजिएको भन्दै प्रदेश एकका विभिन्न पार्टी निकट स्वास्थ्यकर्मीहरु छुट्टै स्वास्थ्य मन्त्रालयको मागमा एक ठाउँमा उभिएको देखिन्छ ।

बागमती, लुम्बिनीलगायतका प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय गठन भएकाले प्रदेश एकमा पनि स्वास्थ्य मन्त्रालय बनाउनु पर्ने दबाब बढेको हो । नवनियुक्त मुख्यमन्त्री राईले प्रदेश एकमा छुट्टै स्वास्थ्य मन्त्रालय बनाउँछन् कि सामाजिक विकास मन्त्रालयबाटै काम चलाउँछन् हेर्न बाँकी छ ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com