देउराली जनता फर्मास्यूटिकल्सका शर्माले लुकाएर राखेको हदबन्दी भन्दा बढी जग्गा छुट गराइँदै

जफत गर्नुपर्ने जग्गा कानुनमै खेलेर छुट दिने तयारी, नीतिगत भ्रष्टाचारको अर्को रूप


काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्स प्रालिका सञ्चालक हरिभक्त शर्माको हदबन्दी भन्दा बढी लुकाएर राखेर जग्गा छुट गराउने प्रक्रिया अघि बढाएको पाइएको छ ।

भूमि व्यवस्था, शहकारी तथा गरिबी निवारण मन्त्रालयले औषधि व्यापारी शर्माको स्वार्थ र चलखेलमा लुकाएर राखेको हदबन्दी बढी जग्गा छुट गराउने तयारी थालेको खुल्न आएको छ ।

औषधिमा ब्रह्मलुट मच्चाईरहेका शर्माले हदबन्दी भन्दा बढी लुकाएर राखेको जग्गा छुट गराउन चलखेल थालेका हुन् । भूमाफियाको डिजाइनमा भूमीसम्बन्धी ऐन, २०२१ को (आठौं संशोधन)मार्फत जग्गा हदबन्दीमा छुटसम्बन्धी व्यवस्था गरेर नीतिगत भ्रष्टाचार गरिएको भन्दै आलोचना हुँदै आएको छ । यसैको फाइदा लिने दाउमा शर्मा लागेको पाइएको हो । स्वीकृति नलिएरै हदबन्दी भन्दा बढी जग्गा राख्नेलाई एकपटक स्वीकृति लिन पाउने गरी छुट दिनेगरी ऐनमा नयाँ व्यवस्था राखिएपछि शर्मा हदबन्दी भन्दा बढी लुकाएर राखेर जग्गा प्रयोग र बेचविखन गर्ने उद्देश्यले छुट  गराउने चलखेलमा लागेको पाइएको हो ।

हदबन्दी भन्दा बढी लुकाएर राखिएको जग्गा राज्यले जफत गर्नु पर्नेमा तत्कालीन भूमि व्यवस्था, शहकारी तथा गरिबी निवारणमन्त्री पद्या अर्यालको पालामा माफियाहरूले चलखेल गरेर कानुन नै परिवर्तन गराए । बिचौलिया तारा सापकोटालाई प्रयोग गरेर, दीपक मल्होत्रा, छत्र गिरी, हरिभक्त शर्मालगायतले कानुनमै चलखेल गरेर आफ्नो पक्षमा कानुन बनाएको आरोप लाग्दै आएको छ ।

तत्कालीन भूमि व्यवस्थामन्त्री पद्या अर्याल देउराली जनताको कार्यक्रममा

देउराली जनता फर्मास्यूटिकल्सका मालिक शर्मा हदबन्दी भन्दा बढी लुकाएर राखेको जग्गा छुट गराउने निवेदन लिएर भूमि व्यवस्था, शहकारी तथा गरिबी निवारण मन्त्रालय गइसकेका छन् । त्यो जग्गाको विषयमा निर्णय गराउन उनी दिनैपिच्छे जसो भूमि व्यवस्था मन्त्रालयको ढोका ढुक्न थालेका छन् । शर्मा कै चलखेलमा मन्त्रालयको सहसचिव नेतृत्वको समितिको बैठक आज बस्ने लागेको मन्त्रालय स्रोतले जनायो ।

औषधि व्यवस्था विभागका हाकिमलाई ‘किनेर’ देउराली जनताले औषधिमा मनलाग्दी व्यापार गरिरहेको छ । औषधि जस्तो मानिसको ज्यानसँग जोडिएको कुरामा हदैसम्मको बद्मासी गर्दै आएका शर्माले जफत गर्नुपर्ने जग्गा जोगाउन कानुनमै खेल्न सफल भएका छन् । उनकै जोडबलमा निर्णय गराउने तयारी भइरहेको मन्त्रालयका एक अधिकारीले स्वास्थ्य लाइभलाई बताए ।

शर्माले हिजो भूमि व्यवस्था मन्त्रालयका उच्च अधिकारीसँग साँठगाँठ गरेर आज आफू अनुकूल निर्णय गराउन सहसचिव नेतृत्वको समितिको बैठकसमेत राख्न लगाएको खुल्न आएको छ । शर्मा आफैं ज्यान दिएर लागेकाले उनले हदबन्दी छुट सम्बन्धी दिएको निवेदनअनुसार काम हुन लागेको मन्त्रालयका अधिकारीहरू सुनाउँछन् ।

नेपालमा हुने नीतिगत भ्रष्टाचारको मुख्य उदाहरण नै भूमिसम्बन्धी ऐनको संशोधनमार्फत जफत गर्नुपर्ने सम्पत्ति (जग्गा) छुट दिने व्यवस्थालाई लिन सकिन्छ । यसको लाभ शर्माजस्ता राज्यलाई ठगेर सम्पत्ति, जग्गा जमिन लुकाउनेले लिन खोजिरहेका छन् । राज्यले व्यक्तिको स्वार्थमा कानुन कसरी बनाउँछ भनेर हेर्ने आधार यो ऐनमा थपिएको बदनियतपूर्ण व्यवस्था हो ।

शर्मा जुनसुकै पार्टीका नेता रिजाउन सक्ने व्यक्तिका रुपमा चिनिन्छन् । एमाले महासचिव ईश्वर पोखरेलसँग उनको निकै घनिष्ठ सम्बन्ध रहेको चर्चा चल्ने गरेको छ ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com