प्रधानमन्त्री देउवा स्वदेश फर्कदै, तिहारलगत्तै बीपी प्रतिष्ठानको सिनेट बोलाउने तयारी

बीपीका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले सिनेट बोलाएर प्रक्रिया पूरा गरी बीपीका पदाधिकारी हटाउने संकेत दिइसकेका छन्


काठमाडौं । बेलायतमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री देउवा  स्वदेशमा नभएका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी हटाउने प्रतिवेदन पेश हुन सकेको छैन । प्रधानमन्त्री स्वदेश फर्कनसाथ बीपी प्रतिष्ठानका पदाधिकारीको विषयमा बनाइएको छानबिन प्रतिवेदन पेश गर्ने तयारी छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको संयोजकत्वमा गठित छानबिन समितिले २१ दिन भित्र बीपी प्रतिष्ठानका पदाधिकारीसँग स्पष्टीकरण लिएर प्रतिवेदन पेश गर्ने समय पाएको थियो । समितिले बीपीका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरू खनाल र अस्पताल निर्देशक डा. गौरीशंकरशाहसँग लिखित स्पष्टीकरण मागिसकेको छ । समितिका सदस्य धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रधानमन्त्री देउवा स्वदेश फिर्ता भएपछि प्रतिवेदन पेश गरिन स्वास्थ्य लाइभलाई बताए । प्रतिवेदन पेश गरेपछि तिहारलगत्तै  सिनेट बोलाउने सम्भावना रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले बीपीका पदाधिकारी हटाउने आधार तयार पार्न उक्त समिति बनाएका हुन् । बीपीका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले सिनेट बोलाएर प्रक्रिया पूरा गरी बीपीका पदाधिकारी हटाउने संकेत दिइसकेका छन् ।

बीपी प्रतिष्ठानमा लामो समयदेखि शुद्धिकरण आन्दोलन जारी रहेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको शुद्धिकरण अभियानको माग सम्बोधन गर्ने उद्देश्यले प्रधानमन्त्री देउवाले पछिल्लो कदम चालेको बुझिएको छ ।

स्वास्थ्यमन्त्री खतिवडा, स्वास्थ्य सचिव डा. रोशन पोखरेल र मेयर राई सम्मिलत समितिले दिएको प्रतिवेदनलाई नै आधार मानेर सिनेट मार्फत बीपीका पदाधिकारी बर्खास्त गर्ने प्रधानमन्त्री देउवाको तयारी छ ।

यता उपकुलपति डा. गिरीलाई नक्कली प्राध्यापक र डेपुटी अस्पताल डाइरेक्टर दिलिप ठाकुरलाई अनियमिततामा संलग्न रहेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत एक्सन लिने तयारी गरेको अख्तियार स्रोतले जनायो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com