स्वास्थ्य कै सहसचिवले ‘ड्रेस कोर्ड’ पालना नगरेपछि सामान्य सचिव एकनारायण ‘एक्सन’मा


काठमाडौं । सरकारले सरकारी कर्मचारीको पोशाक भत्तामा मात्रै १५ अर्ब खर्च गर्ने गरेको छ । तर सरकारी कर्मचारी तोकिएको पोशाक (ड्रेस कोर्ड) पालाना नगर्ने प्रवृत्ति ह्वात्तै बढेको छ ।

राष्ट्रिय सतर्कता केन्द्रको छड्केमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सहसचिव शैलजा रेग्मी भट्टराईसहित दर्जन कर्मचारीले ‘ड्रेस कोर्ड’ पालना नगरेको पाइएपछि तोकिएको पोशाक नलगाउने कर्मचारीमाथि एक्सन लिने तयारी भएको हो । सतर्कता केन्द्रले ड्रेस कोर्ड पालना नगर्ने उनलाई सचेतसमेत गराएको छ ।

सरकारले महिला निजामती कर्मचारीले गाढा नीलो पाइन्ट, सेतो सर्ट, गाढा नीलो कोट, कालो जुत्ता, स्याण्डल वा आकासे गाढा नीलो सारी, गाढा बैजनी रङ्गको सारीको पारी, पारीअनुसारको ब्लाउज वा आकाशे गाढा नीलो कुर्ता तथा गाढा बैजनी सादा सलवार र सल लगाउन अनिवार्य गरेको छ । तर स्वास्थ्य मन्त्रालयकी सहसचिव रेग्मी कहिले हरियो साडी त कहिले कालो साडीमा ठाँटिएर मन्त्रालय आउने गरेकी छिन् । स्वास्थ्य लाइभले स्वास्थ्यमा सहसचिव रेग्मीसहितका कर्मचारीले तोकिएको पोशाक नलगाएको समाचार प्रकाशित गरेपछि सामान्यले ‘ड्रेस कोर्ड’ अनिवार्य पालना गराउन र लागू गर्न लागेको हो ।

सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालय भित्र अनिवार्य रुपमा ‘ड्रेस कोर्ड’ लागू गरेका छन् । ड्रेस कोर्ड पालना नगर्ने कर्मचारीलाई मन्त्रालय भित्र प्रवेशमा प्रतिबन्ध लगाउने सचिव अर्यालको तयारी छ । तोकिएको पोशाक लगाउने कर्मचारीलाई मात्र मन्त्रालय प्रवेश गराउन उनको निर्देशन छ ।

सचिव अर्यालले क्रमश: अन्य मन्त्रालय र निकायमा पनि ड्रेस कोर्ड अनिवार्य रुपमा पालना गराउने तयारी थालेका हुन् ।

कर्मचारीलाई अनुशासित र मर्यादित बनाउने अभियानमा लागेका सचिव अर्यालले निजी इन्स्टिच्युटमा पढाउने, काम छाडेर सेयर कारोबारमा कुद्ने कर्मचारीदेखि सरुवालाई अनलाइनमार्फत व्यवस्थित गर्न खोजेका छन् । तर यो कुराको नियमित अनुगमन भने हुन सकेको देखिँदैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ