‘किर्ते’ प्राध्यापक गिरीले बीपीको उपकुलपतिबाट हटाउन मन्त्रीलाई दिए चुनौती


काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफूले गल्ति नगरेको जवाफ दिँदै उपकुलपतिको पदबाट हटाउन चुनौती दिएको पाइएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा नेतृत्वको छानबिन समितिले धरान पुगेर उपकुलपति गिरीसहितका पदाधिकारीलाई ७२ घण्टे स्पष्टीकरण  सोधेको थियो ।  बीपीकका उपकुलपति डा. गिरी, रेक्टर डा. गुरू खनाल, अस्पताल निर्देशक गौरीशंकर चौधरीलगायतले ईमेलमार्फत उक्त स्पष्टीकरणको जवाफ दिएका छन् । छानबिन समितिका सदस्य धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बीपीका पदाधिकारीले ईमेलमार्फत स्पष्टीकरण पेश गरेको पुष्टि गरे ।

स्वास्थ्यमन्त्री खतिवडा निकट स्रोतकाअनुसार उपकुलपति गिरीले पेश गरेको स्पष्टीकरणमा आफूले गल्ति नगरेकाले उपकुलपतिबाट हट्नु नपर्ने जिकिर गरेका छन् । यो गिरीले दिएको एक हिसाबको चुनौती नै भएको मन्त्री निकट स्रोतले स्वास्थ्य लाइभलाई बताए ।

प्राध्यापक लेखेको प्रमाण पेश गर्न नसकेका बीपीका उपकुलपति डा. गिरीलाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत सीधै भ्रष्टाचार मुद्दा लाग्ने देखिन्छ ।

तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गिरीलाई प्राध्यापकको उपाधि प्राप्त गरेको प्रमाण पेश गर्न निर्देशन दिएका थिए । तर, गिरीले प्रध्यापकको प्रमाण पेश गर्न सकेनन् । यो आधारमा पनि उनलाई उपकुलपतिबाट बर्खास्त गरेर नपाएको ओहदा पाएको देखाएको आरोपमा भ्रष्टाचार मुद्दा चलाउन सक्छ । तर राज्यका निकाय निरीह बन्दा उपकुलपति गिरीको दादागिरी जारी छ ।

प्रधानमन्त्री एवं बीपीका कुलपति शेरबहादुर देउवा स्वदेश फर्किसकेकाले एक दुई दिनमै बीपीका पदाधिकारी हटाउने गरी प्रतिवेदन पेश गर्ने तयारीमा मन्त्री खतिवडा नेतृत्वको समिति रहेको छ ।  मन्त्री निकट स्रोतकाअनुसार मन्त्री नेतृत्वको समितिले प्रतिवेदन पेश गरेलगत्तै बीपीको सिनेट बोलाउने तयारी छ । सिनेटबाटै बीपीका पदाधिकारी हटाउने संकेत प्रधानमन्त्री देउवाल दिइसकेका छन् ।

मन्त्री खतिवडा नेतृत्वको छानबिन समितिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र धरान उपमहानगरपालिका मेयर राई सदस्य रहेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com