सेभ द चिल्ड्रेनसँगको मिलेमतोमा स्वास्थ्य सचिवको बल मिच्याईँ


काठमाडौं । स्वास्थ्य मन्त्रालयमार्फत नेपाललाई आएको अर्बौं बजेट स्वास्थ्यका जिम्मेवार अधिकारीहरूलाई प्रयोग गरेर सेभ द चिल्ड्रेनले हत्यायो । त्यहीँ शैली अपनाएर सेभ द चिल्ड्रेनले स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई आफ्नाे स्वार्थ अनुकूल प्रयोग गरिरहेको छ ।

सेभ द चिल्ड्रेनसँगको मिलेमतोमा स्वास्थ्य सचिवको बल मिच्याईँ गरेको पाइएपछि यो कुराले सेभ द चिल्ड्रेनले स्वास्थ्य मन्त्रालय आफ्नो ग्रीपमा राखेको देखिन्छ । पछिल्लो घटनाले यो कुराको पुष्टि गरेको हो ।

सन् २००३ देखि सन् २०१९ सम्म सेभ द चिल्ड्रेनले ग्लोवल फण्ड हेर्नेगरी ‘चिफ अफ पार्टी’ मा तारा क्षेत्रीलाई राखेको थियो । हाल बढुवा भएर क्षेत्री सेभ द चिल्ड्रेनको नेपाल प्रमुखको जिम्मेवारीमा छिन् ।

सेभ द चिल्ड्रेनले म्यान्मार सरुवा गरेको भएपनि क्षेत्री च्यानल मिलाएर नेपालमै बसेको सेभका अधिकारीहरुको भनाइ छ ।उनै क्षेत्रीले स्वास्थ्य मन्त्रालयलाई आफ्नो ग्रीपमा राखेको स्वास्थ्य कै उच्च अधिकारीहरु बताउँछन् ।

अर्थ मन्त्रालयले ‘चिफ अफ पार्टी’मा विदेशी नागरिक राख्न नमिल्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयको निर्णयलाई कानुन मन्त्रालयले पनि सदर गरिसकेको छ । तर, स्वास्थ्य सचिव डा. रोशन पोखरेलले त्यसलाई च्यालेन्ज गरेको पाइएको  छ ।

ग्लोवल फण्डको कार्यक्रम नेपाल ल्याउन सरकारले गठन गरेको एउटा कमिटी हुन्छ । त्यसको नाम कन्ट्री कोर्डिनेटिङ मेकानिजम (सिसिएम) दिइएको छ । जसको अध्यक्ष स्वास्थ्य सचिव रहने व्यवस्था छ । ग्लोवल फण्डको पैसा सेभ द चिल्ड्रेनलाई दिने विषयमा सम्पूर्ण अधिकार सिसिएमका अध्यक्ष रहेका स्वास्थ्य सचिव रहेको हुन्छ ।

सिसिएमले मात्र ग्लोवल फण्डसम्बन्धी निर्णय गर्ने एकलौटी अधिकार पाउँदा बेथिति देखिएको थियो । त्यो विषयमा स्वास्थ्य लाइभले निरन्तर कुरा उठाएपछि केही हप्ता अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले त्यो प्रोजेक्टका लागि मन्त्रिपरिषद्को स्वीकृति चाहिने निर्णय गरिसकेको छ ।

स्वास्थ्य सचिव पोखरेलले यसरी गरे बल मिच्याईं

सेभ द चिल्ड्रेनकी नेपाल प्रमुख तारा क्षेत्रीसँग घनिष्ठ सम्बन्ध रहेका स्वास्थ्य सचिव डा. पोखरेल सेभको गोटी बनेको पाइएको छ । यसअघिका सिसिएमका अध्यक्ष स्वास्थ्य सचिव लक्ष्मण अर्यालले स्वास्थ्य मन्त्रालयको स्वीकृति नलिई ग्लोवल फण्ड हेर्ने ‘चिफ अफ पार्टी’ र टिबी, एचआइभी विज्ञ विदेशी राखिएको भन्दै सेभलाई सच्याउन निर्देशन दिए । उनी हटेलगत्तै सिसिएम हेर्ने जिम्मेवारी पाएका पोखरेलले त्यसलाई उल्ट्याउने काम गरे । तर, सचिवले आफू जोगिन तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई निर्णय गर्न लगाएको तथ्य फेला परेको छ । मन्त्रालयका अधिकारीहरु भन्छन्, पूर्व सचिव अर्यालले गरेको निर्णय काट्न सचिव पोखरेलले राज्यमन्त्री खडा गरेका हुन् । उनले राज्यमन्त्रीलाई गुमराहमा राखेर सेभ द चिल्ड्रेनको स्वार्थ अनुकूल काम गराएको स्वास्थ्यका अधिकारीहरू बताउँछन् ।

सचिव पोखरेल एनजिओ, आइएनजिओ माफियाको संरक्षणमा पूर्व सचिव लक्ष्मण अर्यालभन्दा एक कदम अगाडि बढेको देखिन्छ । पछिल्लो समय उनी स्वास्थ्य मन्त्रालय कब्जा जमाएर अवैध रुपमा बसेको आइएनजीओ एनएचएसएसपीको संरक्षणमा जुटेका छन् ।  सचिव पोखरेलले सेभ द चिल्ड्रेनले गुपचुप राखेका विवादित भारतीय नागरिक कुनाल किशोरेलाई नेपालमा बसेर काम गर्ने अधिकार दिलाएको अर्को रहस्य खुलेको छ । सचिव पोखरेलको यो निर्णय अख्तियारको दुरुपयोग भएको जानकारहरु बताउँछन् ।

 

अर्थ मन्त्रालयले बनाएको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६  मा  सम्भव भएसम्म नेपाल कै मानव स्रोतसाधन प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ । प्राविधिक तथा ज्ञानको हस्तान्तरण गर्ने र राष्ट्रियस्तरमा उपलब्ध नभएको विज्ञताका लागि मात्र अन्तर्राष्ट्रिय परामर्शदाता परिचालन गर्न सकिनेछ भन्ने कुरा नीतिमै स्पष्ट छ ।

नेपालमा सम्बन्धित विषयमा अध्ययन गरेका जनशक्ति प्रयाप्त रहेको अवस्थामा सेभ द चिल्ड्रेनले दादागिरी देखाउँदै नीतिविपरीत भारतीयलाई ल्याएको हो । विज्ञताका हिसाबले हेर्दा पनि सेभ द चिल्ड्रेनले ग्लोवल फण्ड हेर्ने गरी चिफ अफ पार्टीको जिम्मेवारीमा अवैध रूपमा ल्याइएका भारतीय नागरिक किशोरे चिकित्सक र पब्लिक हेल्थ पढेका व्यक्ति हैनन् । विज्ञता नै नभएका विवादित भारतीय नागरिकको संरक्षण गर्न सेभ द चिल्ड्रेनको स्वार्थमा सचिव पोखरेल उभिएका हुन् ।

 

चिप अफ पार्टीको पोजिसन भनेको व्यवस्थापक हो । नेपालमा म्यानेजमेन्ट पढेका कयौं व्यक्ति छन् । तर, उनीहरुलाई पाखा लगाउँदै तारा क्षेत्रीले सचिव पोखरेललाई दुरुपयोग गरेर भारतीय नागरिकलाई नेपालमा काम गर्ने अनुमति दिलाएकी हुन् । यसमा बुढानिलकण्ठ स्कुल फ्याक्टरले पनि काम गरेको स्वास्थ्यका अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य मन्त्रालयमा अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय, कानुन मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय योजना आयोग, स्वास्थ्य मन्त्रालय आवद्ध एउटा उच्चस्तरीय बोर्ड छ । उक्त बोर्डमा सेभ द चिल्ड्रेनले चिफ अफ पार्टीको रुपमा भारतीय नागरिक कुनाल किशोरे ल्याउने प्रस्ताव राखेको थियो । तर, सबैले त्यसलाई ठाडै अस्वीकार गरेका थिए । त्यसलाई सच्याउन पनि निर्देशन दिएका थिए । त्यसलगत्तै महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई लिखित रायका लागि जवाफ माग गरेको थियो ।

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले राय माग गरेपछि स्वास्थ्य मन्त्रालयले टिबी, एचआइभी र मलेरिया हेर्ने महाशाखामा रायका लागि पठाएको थियो । तर, तीनवटै निकायले विदेशी राख्न हुँदैन भन्ने राय दिए । त्यसैका आधारमा तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्यालले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयलाई चिफ अफ पार्टीको रुपमा विदेशी नागरिक राख्न नपाउने जवाफ पठाएका थिए ।

सन् २००३ सालदेखि २०१९ सालसम्म नेपाली प्रमुख हुने अहिले के कारणले विदेशी आवश्यक पर्‍यो भनेर सचिव अर्यालले जवाफ पठाएका थिए । सन् २०२४ सम्ममा नेपाल सरकारलाई नै प्रमुख प्राप्तीकर्ता (पिआर) बनाउने ग्लोवल फण्डको योजना छ । यो अवस्थामा विदेशी नागरिक ल्याउनु आफैमा शंकास्पद विषय हो । स्वास्थ्य मन्त्रालयको पछिल्लो कदमले सेभ द चिल्ड्रेनलाई फाइदा पुगेको छ । यो सब बद्मासी सचिव पोखरेल र प्रमुख क्षेत्रीको साँठगाँठमा भएको सिसिएमका एक सदस्यले स्वास्थ्य लाइभलाई  बताए ।

सचिव अर्याल सरुवा भएर गएसँगै उनले गरेको निर्णय वर्तमान स्वास्थ्य सचिव डा. पोखरेलले उल्ट्याइ दिएका छन् । उनले  अर्यालको निर्णय मात्रै उल्टाएनन् अवैध भारतीय किशोरेलाई  क्षेत्रीसँगको मिलेमतोमा नेपालमा काम गर्ने अनुमति दिएका छन् । उनले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा पठाएको पत्रको प्रमाण स्वास्थ्य लाइभले सार्वजनिक गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका हरेक निर्णयमा विवाद हुने भएकाले अधिकारीहरुले आफूले गरेको निर्णयको कपी घर लैजाने वा आगो लगाउने गरेका छन् । स्वास्थ्य मन्त्रालयमा कुनै पनि निर्णय फेला पर्दैन । स्वास्थ्य मन्त्रालयमा सचिव पोखरेलले पठाएको पत्र फेला नपारेपछि स्वास्थ्य लाइभले लामो प्रयास पछि अन्यन्त्रबाटै फेला पारेको हो । उक्त निर्णयकाबारेमा स्वास्थ्य लाइभले सेभ द चिल्ड्रेनकी सूचना अधिकारी सन्जना श्रेष्ठसँग जवाफ माग गरेको थियो । तर, माथि सोधेर जवाफ दिने बताएकी श्रेष्ठले फोन काटेर सम्पर्कबिहीन भएकी छन् ।

सन् २००३ साल देखि सेभ द चिल्ड्रेनले थोर थोरै कार्यक्रम चलाउँदै आएको थियो । त्यसको चिफ अफ पार्टी अर्थात प्रमुख नेपाली नै थियो । सन् २०१५ देखि मात्रै ग्लोवल फण्डको सत प्रतिशत बजेट सेभ द चिल्ड्रेनले चलाउन थालेको हो । २०१५ देखि २०१९ सम्म सत प्रतिशत बजेट पनि नेपालीले नै सफलता पूर्वक चलाएको थियो । तर, अहिले स्वास्थ्य सचिवमा डा.  पोखरेल आएसँगै सेभ द चिल्ड्रेनकी नेपाल प्रमुख क्षेत्रीको मिलेमतोमा चिफ अफ पार्टीका रुपमा भारतीय नागरिकलाई खडा गरिएको छ । किशोरेले नेपालमा काम गर्ने श्रम स्वीकृति नलिई अवैध रुपमा लुकेर एक वर्षदेखि काम नै नगरी महिनाको ३० लाख रुपैयाँ खाइरहेका छन् । उनलाई वैध बनाउन ठूलो रकम खर्च गरिएको जानकारहरु बताउँछन् । अवैध रुपमा लुकेर काम गरेका कुनाललाई स्वास्थ्य सचिव पोखरेलले पूर्व सचिव अर्यालको निर्णय काटेर अर्को पत्र पठाएसँगै सार्वजनिक हुने तयारीमा छन् ।

अधिकारीहरुले बताएअनुसार तारा क्षेत्रीले इगोका कारण नेपाली राख्न नचाहेको बुझिएको छ । तर, यसमा ठूलो आर्थिक हिनामिना भएको हुन सक्ने सेभ द चिल्ड्रेनमा आवद्ध कर्मचारीहरु सुनाउँछन्  ।

सेभ द चिल्ड्रेनमा आवद्ध एक कर्मचारीले भने, ‘म निस्किएपछि नेपालमा विदेशी प्रमुृख होस् भनेर तारा क्षेत्रीले बनाएको योजना हो । यस्तो निर्णय गर्न ठूलो रकमको खेल भएको सहजै अनुमान लगाउन सकिन्छ।’ सेभका अधिकारीहरुले नै स्वास्थ्य सचिव र तारा क्षेत्रीमाथि तत्काल छानबिन अगाडि बढाउन स्वास्थ्य लाइभमार्फत जिम्मेवार निकायलाई आग्रह गरेका छन् ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com