ओम्नीको संरक्षण पाएका आईटी निर्देशक ढकालको सरुवा गायब


काठमाडौं । स्वास्थ्य सामग्री खरिद घोटलामा मुछिएको ओम्नी ग्रुपको संरक्षण पाएका आईटीका उपसचिव सुभाष ढकालको सरुवा गुपचुप पारेको फेला परेको छ ।

स्वास्थ्य मन्त्रालयले चीनसँग मेडिकल सामग्री खरिद गर्दा सेटिङ मिलाएर विवादमा आएको ओम्नी ग्रुपको चलखेलमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका कम्प्युटर निर्देशक ढकालको सरूवा गायब बनाइएको आरोप लागेका हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ अस्गर अलीका विश्वासपात्र ढकालको सरुवा भएको पत्र नै गायब बनाएको रहस्य खुलेको छ ।

ओम्नीलाई स्वास्थ्य सामग्रीको ठेक्का दिँदा विवादमा मुछिएका अली ढकालका विद्यार्थीसमेत हुन् । आइटी विज्ञ अलीकै डिजाइनमा उनलाई राष्ट्रिय परिचयपत्रमा लगिएको हो । राष्ट्रिय परिचयपत्रमा हुँदा उनले ओम्नीसँग साँठगाँठ गरेर आइटीका केही ठेक्कासमेत दिने काम गरेको आरोप लाग्दै आएको छ ।

२०७७ माघ १६ गते  संघीय  मामिला तथा सामान्य प्रशाास मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका कम्प्युटर निर्देशक ढकाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत सरुवा गरेको पत्र स्वास्थ्य लाइभले फेला पारेको हो ।

गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्रबाट उद्योगमा सरुवा भएपनि स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्ने ओम्नी ग्रुपको चलखेलमा ढकालको सरूवा गुपचुप पारिएको  मन्त्रालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

सञ्चार मन्त्रालयमा बसेर राष्ट्रिय सूचना प्रविधि केन्द्रका विकल पौडेल, सुनिल पौडेलसँग मिलेर आईटीका ठेक्कामा चलखेल गर्ने गरेका ढकालले राज्य संयन्त्रलाई आफू अनुकूल घुमाएको देखिन्छ । सामान्यको सरुवा पत्रलाईसमेत शिरानी हालेर अझै उनी राष्ट्रिय परिचयपत्रमै राज गरिरहेका छन् ।

ओम्नी र अलीसँगको पहुँचका कारण ढकालको सरुवा कागजमै सीमित भएको सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरुको टिप्पणी छ ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ