काउन्सिलको ‘डाटा चोरी’ आरोपित चिकित्सक तथा दुरुपयोग गर्ने कम्पनी जोगाईयो


काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ‘डाटा चोरी’मा पूर्व र वर्तमान पदाधिकारी मुछिने भएपछि कर्मकाण्डी विज्ञप्ति जारी गरेर उम्किन खोजेको पुष्टि भएको छ ।

‘डाटा चोरी’को आरोप लागेका चिकित्सक र एसएमएस सेवा प्रदायक कम्पनि सिरान टेक्नोलोजिजको नामसमेत उल्लेख नगरी काउन्सिलका रजिस्ट्रार डा. कृष्ण अधिकारीले विज्ञप्ति जारी गरेर सरक्क पन्छिन खोजेका छन् ।

मंगलबार काउन्सिलले चिकित्सकहरुले लगाएको ’डाटा चोरी’ आरोपबारे आफ्नो धारणा राख्दै उक्त पूर्वपदाधिकारी ’डाटा चोरी’मा संलग्न भै व्यक्तिगत प्रकृतिका सूचना हजारौं व्यक्तिहरुलाई गएको भन्ने व्यहोरा सार्वजनिक भएकोप्रती आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।

तर, काउन्सिलले सूचना पठाउने चिकित्सक र सम्बन्धित कम्पनीको नाम उल्लेख गर्न सकेन । यसले सरासर पदाधिकारीको मेलेमतोमा ‘डाटा चोरी’ भएको अनुमान जो कसैले सहजै लगाउन सक्छन् । काउन्सिलका रजिस्ट्रार डाक्टर अधिकारीले चिकित्सक र कम्पनीको नाम लिन नसक्नुले यस घटनामा उनी पनि आवद्ध भएको हुन सक्ने चिकित्सकहरुमा शंका उब्जिएको छ ।

नेपाल मेडिकल काउन्सिलको ‘डाटा चोरी’ प्रकरणलाई सामान्य रुपमा लिएर मिलाउने पक्षमा देखिएको थियो । तर, चिकित्सकहरुबिच चौतर्फी बिरोध भएपछि बाध्य भएर थप अनुसन्धानमा जुट्ने भएको छ ।

एसएमएस प्रकरणमा फोन नम्बरहरुको विवरण कसरी प्रवाह भएको थियो भन्ने लगायतका विषयमा थप जानकारी प्राप्त गर्न सूचना तथा संचार प्रविधि केन्द्र, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक, ललितपुरलाई अनुरोध गरिएको छ ।

नेपाल मेडिकल काउन्सिलमा रहने दर्तावाल चिकित्सकका व्यक्तिगत विवरणको सुरक्षा तथा उचित व्यवस्थापनका लागि के कस्सो व्यवस्था हुन उपयुक्त हुन्छ सुझाव प्रदान गर्न समेत सोही टिमलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

काउन्सिलले शुक्रबार एक निर्णय गर्दै एसएमएस प्रदायक कम्पनी सिरा टेकलाई तीन दिन अर्थात आईतबारसम्म लिखित जवाफ माग गरेको थियो । तर, कम्पनीले विभिन्न बाहना देखाएर दुई दिन ढिला गरी जवाफ दिएको थियो । किन र के कारणले जवाफ ढिला दियो भन्नेमा पनि अहिले प्रश्न उठेको छ । सोमबार दिउँसोदेखि मंगलबार बिहानसम्म नेपाल मेडिकल काउन्सिलको वेबसाइटसमेत नखुल्ने (डाउन) बनाइएको थियो ।

काउन्सिलको वेबसाइट बनाउने सिरान टेक नै काउन्सिलमा रहेको चिकित्सकको ’डाटा चोरी’को आरोपमा मुछिनु र काउन्सिल वेबसाइट डाउन गरिनुले सिरान टेक र काउन्सिलका केही  जिम्मेवार व्यक्तिहरुबीच मिलेमतो छ भन्ने बलियो आधार मिलेको छ ।
‘डाटा चोरी’ फौजदारी आरोप लागेको अवस्थामासूचना तथा संचार प्रविधि केन्द्र, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक, ललितपुरलाई अनुरोध गरेर सम्भावित कसुरदारलाई जोगाउने काउन्सिलको प्रपञ्च देखिन्छ । यसले नेपाल मेडिकल काउन्सिलमा भइरहेको अवाञ्छित गतिविधि थप मलजल पुर्याउने काम गरेर प्रस्टै देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com