ओमिक्रोनको खतरामा नेपाल

डब्लुएचओलाई चुनौती दिँदै सरकारी अधिकारीको बल मिच्याईं, निरीह स्वास्थ्य संयन्त्र


समाचार टिप्पणी

काठमाडौं । अफ्रिकाको तान्जानियाबाट फर्केका सरकारी अधिकारीहरूको बल मिच्याईंले नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्ट फैलने उच्च खतरा देखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ओमिक्रोन भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’को श्रेणीमा राखिसकेको छ ।  कोरोनाको यो भेरियन्ट धेरै छिटो फैलने र अन्य भेरियन्ट भन्दा खतरनाक रहेको प्रारम्भिक निष्कर्ष निकाल्दै डब्लूएचओले नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।  विश्व स्वास्थ्य सङ्गठनको दक्षिण-पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले यस क्षेत्रका सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिन भनेको छ ।

ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकासहित बेलायत, इजरायल, हङकङ, इटाली, बेल्जियम, अष्ट्रेलिया, भारत, बोट्सवानालगायतका देशमा देखा परिसकेको छ । यी देशमा अफ्रिकाबाट आउने मान्छेमाथि कडाई गरिएको छ । नेपालमा पनि अफ्रिकी नागरिकलाई आउन प्रतिबन्ध लगाएको छ । तर सरकार कै जिम्मेवार अधिकारीहरुले डब्लुएचओको आग्रहलाई चुनौती दिँदै बल मिच्याईं र खेलाँची गरेको पाइन्छ ।

अहिले डब्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रको नेतृत्व नेपालले गरिरहेको छ । यो क्षेत्रका अन्य देशलाई सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीलाई पालना गर्न डब्लुएचओको क्षेत्रीय कार्यालयले आग्रह गर्दै गर्दा नेतृत्वकर्ता नेपाल कै  जिम्मेवार सरकारी अधिकारीले त्यो मापदण्डको ठाडो उल्लंघन गरेका छन् ।

नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना (एनआईआरटिटिपी)को कार्यक्रम सहभागी हुन अफ्रिकाकाे  तान्जानिया गएका सरकारी अधिकारीहरु कै कारण नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट फैलने खतरा उत्पन्न भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, नारायण रेग्मी, सहसचिव, प्रकाश दाहाल, उपसचिव, श्रीधर गौतम, लेखा उपसचिव, पार्वती शर्मा, शाखा अधिकृत, नवराज पराजुली होटल क्वारेन्टाइन बस्न नमानेर शक्तिको आडमा बल मिच्याईं गरेर विमानस्थलबाट फुत्केर घरतिर हिडेका छन् ।  उनीहरू कै कारण ओमिक्रोन भेरियन्ट नेपालमा फैलन सक्ने स्वास्थ्यका अधिकारीहरुको चिन्ता छ ।

स्वास्थ्य संयन्त्रलाई पावर देखाएर फुत्किए

विश्व स्वास्थ्य संगठनले अफ्रिकामा ओमिक्रोन भेरियन्ट फैलिएको र यसले पुन: महामारीको रुप लिन सक्ने भन्दै विश्वलाई चेतावनी दियो । डब्लुएचओको चेतावनीसँगै नेपालले पनि आफ्नो संयन्त्र सक्रिय बनायो । त्यसपछि अफ्रिका जाने र आउने मान्छेको खोजी सुरू भयो । नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना (एनआईआरटिटिपी)को कार्यक्रम सहभागी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मीको नेतृत्वमा एक टोली तान्जानिया गएको फेला पर्‍यो । एक हप्ता अगाडि तान्जानिया गएको टोलीलाई निगरानीमा राखेर  नेपाल आएलगत्तै होटल क्वारेन्टाइनमा पठाउने तयारी थालियो । आज बिहान उक्त टोली नेपाल आउनेबित्तिकै ठमेलको एक होटलमा क्वारेन्टाइनको व्यवस्था गरिएको जानकारी गराइयो । सुरुमा उनीहरु क्वारेन्टाइनमा जाने भएपछि स्वास्थ्य मन्त्रालयको संयन्त्र ढुक्क बन्यो । तर टोलीका सदस्यहरुले पहुँच र पावर देखाएर मुख्य सचिवदेखि अन्य शक्ति केन्द्रबाट फोन लगाउन थालेपछि स्वास्थ्य संयन्त्र निरीह बनेर घर जान दिन बाध्य भयो ।

विमानस्थलमा रहेको स्वास्थ्य मन्त्रालयको हेल्थ डेस्कले कोभिड-१९ को शंका लागेका व्यक्तिलाई होटल क्वारेन्टाइनमा पठाउँदै आएको छ । अहिले पनि दिनको ८/१० जना विदेशबाट आएका व्यक्तिलाई होटल क्वारेन्टाइनमा पठाउँदै आएको छ । अफ्रिकामा नयाँ भेरियन्ट फेला परेपछि ती व्यक्तिहरुलाई होटल क्वारेन्टाइनमा पठाउनु स्वभाविक हो । तर सरकारको जिम्मेवार पदमा बसेका अधिकारीहरु नै गैरजिम्मेवार र अचेत देखिएपछि हेल्थ डेस्क र स्वास्थ्य संयन्त्र निरीह बन्यो । राज्यको तलब खानेहरु पहुँच र प्रभाव देखाएर उम्किदा उनीहरूबाटै नयाँ ओमिक्रोन भेरियन्ट फैलने खतरा पैदा भयो ।

सरकारको सहसचिव जस्तो जिम्मेवार  पदमा रहेका व्यक्तिको हर्कत गैरजिम्मेवार देखिएकाले भविष्यमा संवेदनशील र महत्वपूर्ण जिम्मेवारी दिँदा विचार पुर्‍याउनु पर्ने देखिन्छ । रेग्मी जस्ता गैरजिम्मेवार व्यक्तिलाई संवेदनशील जिम्मेवारी दिँदा राष्ट्र र नागरिकलाई हानी नोक्सानी पुग्ने कुरा यो घटनाले पुष्टि गरेकाले आइन्दा त्यस्ता राष्ट्र सेवकबाट राष्ट्रलाई जोगाउनुपर्ने चुनौती देखा परेको छ । उनीहरुले आफूलाई लाभ हुन्छ भने सत्ता र शक्तिको आडमा जे पनि गर्न सक्छन् भन्ने कुरालाई पछिल्लो घटनाले स्पष्ट पारेको छ ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com