१० हजार नर्स बेलायत पठाउन खोज्ने श्रम सचिव गौतमको सरूवा


काठमाडौं । रोजगारीका लागि १० हजार नर्स बेलायत पठाउन मोडालिटी तयार गर्दै गर्दा श्रम सचिव सूर्यप्रसाद गौतमको सरुवा भएको छ । दुई देशको सरकारी संयन्त्रबीच समन्वय गरेर नेपालका नर्सहरु बेलायतमा पठाउन खोज्ने सचिव गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा भने सामान्य सचिव एकनारायण अर्याललाई ल्याइएको छ । श्रम मन्त्रालयका सचिव गौतमले नेपालका नर्सहरूलाई आकर्षक गन्तव्य बेलायत पठाउन श्रमिकमैत्री मोडालिटी तयार गर्दै गर्दा उनको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको हो । उनको सरुवासँगै बेलायतमा नर्स पठाउने नेपालको तयारीमा धक्का पुग्ने देखिन्छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट श्रम मन्त्रालयमा सरुवा भएर आउन लागेेका सचिव अर्यालले यसलाई कसरी लिन्छन् भन्ने कुरा प्रष्ट भइसकेको छैन ।

यता सामान्य प्रशासन मन्त्रालयको सचिवमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीको सरुवा भएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो । अधिकारीको ठाउँमा वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई पठाइएको छ ।

पूर्व स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाको शिक्षा मन्त्रालयमा सरुवा भएको छ ।  कोइरालाको ठाउँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपाने जाने भएका छन् । सहरी विकास सचिव रमेश सिंहलाई जगेडामा राखेर ऊर्जा आयोगमा कार्यरत मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा सचिवमा पठाइएको छ ।

शिक्षा सचिव रामप्रसाद थपलिया प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र त्यहाँ रहेका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा सरुवा गरिएको हो ।

देउवा नेतृत्वको सरकार बनेपछि पहिलोपटक यति ठूलो संख्यामा सचिवहरूको सरुवा भएको हो ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com