छ्या ! फोहोरी स्वास्थ्य मन्त्रालय, मन्त्रालय नै ‘सिसडोल’ बन्ने दौडमा


काठमाडौं । स्वास्थ्य र सरसफाइ एक अर्काको परिपुरक हो । जहाँ सरसफाइ हुँदैन त्या स्वास्थ्यको कुरा गर्नु बेकार छ । स्वस्थ खानपिन, स्वस्थ वातावरणबाटै स्वस्थ जीवनको सुरूवात हुन्छ । तर, स्वास्थ्य र सरसफाइको एजेन्डा बोकेर हिडेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैं फोहोरको डंगुरभित्र देखिन्छ ।

 

स्वास्थ्य मन्त्रालयले सरसफाइको नाममा वर्षेनी करोडौं रुपैयाँ खर्च गर्दै आएको छ । सरुवा रोग मात्र होइन नसर्ने रोगको  कारण पनि फोहोर नै हो । पाँच तारे होटलमा यी विषयमा गोष्ठी गरेर भत्ता पचाउने स्वास्थ्यका अधिकारीहरु मन्त्रालयको अवस्था र वातावरण नै फोहोर हुँदा पनि मौन छन् । पाँच तारे होटलको गोष्ठीमा भत्ता खान सरसफाइको ठूल्ठूला कुरा गर्ने ती अधिकारी मन्त्रालय फोहोरी हुँदा गोष्ठीमा भनेका कुरा लागू गर्न सक्दैनन् ।

स्वास्थ्य मन्त्रालयको क्यान्टिनको हालत काठमाडौंको फोहोर फ्याल्ने ठाउँ नुवाकोटको सिसडोल जस्तो लाग्छ । फोहोर राखिएको ठाउँमै बसेर मान्छेहरू खानेकुरा खाइरहेको देखिन्छ । त्यो फोहोरबाट आएका किटाणु खानेकुरामा पसेर रोग सार्न सक्ने उच्च सम्भावना छ । तर स्वास्थ्य मन्त्रालयका जिम्मेवार अधिकारीहरुमा मन्त्रालय वरपर सफा, स्वच्छ र सुन्दर बनाउनु पर्छ भन्ने चेत देखिँदैन । उल्टै मन्त्रालयलाई फोहोर फाल्ने डम्पिङ साइट बनाएका छन् ।

यसअघिका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य मन्त्रालयको सरसफाइमा विशेष ध्यान दिँदै आएका थिए । महिनाको पहिलो र तेस्रो हप्ता मन्त्रालयका उच्च अधिकारीहरु नै झाडू बोकेर मन्त्रालय परिसर सरसफाइ जाने गरेका थिए । उमेश हटेर स्वास्थ्यमन्त्रीको भूमिकामा विरोध खतिवडा आएसँगै यो सरसफाइ अभियान पनि रोकिएको छ । अहिले मन्त्रालयका अधिकारीहरू पहिला जस्तो मन्त्रालय सफाइमा लाग्ने गरेका छैनन् ।

स्वास्थ्यमन्त्री अहिले स्वास्थ्यकर्मीहरुको सरुवालाई लिएर जसरी बदनाम भएका छन् त्यसरी नै मन्त्रालय पनि फोहोरले दुर्गन्धित भएको छ । मन्त्री र मन्त्रालय दुबै एकैपटक गन्हाउने अवस्थामा पुग्नु स्वास्थ्य क्षेत्रका लागि सबैभन्दा ठूलो अभिषाप हो ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com