एचआईभी बोर्ड बेपत्ता !


काठमाडौं । एचआईभी एड्स तथा यौनरोग नियन्त्रण, रोकथाम, उपचार, सहयोग, पुनर्स्थापना, हेरचाहलागयत क्षेत्रमा काम तथा सहजिकरण गर्ने उद्देश्यले स्थापना भएको एचआईभी एड्स तथा यौनरोग नियन्त्रण बोर्ड बेपत्ता बनेको छ ।

दातृ निकायको सहयोग लिने र एचआइभीको क्षेत्रमा त्यसलाई व्यवस्थापन गर्ने काम गर्दै आएको बोर्ड अहिले लापत्ता देखिन्छ । एचआईभी एड्स तथा यौनरोग नियन्त्रण विकास समिति (गठन) आदेश, २०६४ बमोजिम स्थापना भएको उक्त बोर्ड कुन अवस्थामा छ भन्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू नै बेखबर छन् ।

अज्ञात अवस्थामा रहेको बोर्डको के कति सम्पति कुन  कस्तो अवस्थामा छ भन्ने कुराको लेखाजोखा सम्बन्धित स्वास्थ्य मन्त्रालयसँगै छैन ।

एचआईभी संक्रमित तथा एड्स रोग भएका व्यक्तिलाई निर्वाह खर्चसमेत व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको  एचआईभी बोर्ड वेपत्ता बन्दा पनि सरोकारवालाहरू मौन देखिन्छन् । स्वास्थ्य मन्त्रालयका केही अधिकारीहरु भने ग्लोवल फण्ड, डिएफआईडी जस्ता दातृ निकायको सहयोग एनजिओ, आईएनजिओको पोल्टामा पुर्‍याउन यो बोर्ड निस्क्रिय पारिएको आरोप लगाउँछन् ।

एचआईभी बोर्ड निस्क्रिय भएपछि ग्लोवल फण्डले एचआईभी सम्बन्धी सम्पूर्ण कार्यक्रम सेभ द चिल्ड्रेनको पोल्टामा पुगेको स्वास्थ्यका ती अधिकारी दाबी छ । सरकारलाई नै ग्लोवल फण्डको प्रमुख प्राप्तिकर्ता बनाउन र त्यो बजेटको व्यवस्थापन गर्न यो बोर्ड ब्युँताउन आवश्यक रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू सुनाउँछन् ।

कसरी बेपत्ता भयो एचआईभी बोर्ड ?

एचआईभी एड्स तथा यौनरोग नियन्त्रण बोर्ड स्वास्थ्य तथा जनसंख्यामन्त्रीको भूमिकामा उमाकान्त चौधरी (हालका खानेपानीमन्त्री) रहँदासम्म सक्रिय देखिन्छ । स्वास्थ्य लाइभको एचआईभी बोर्ड खोजीमा बोर्ड बेपत्ता हुने बेलामा स्वास्थ्य सचिवको जिम्मेवारीमा डा. प्रवीण मिश्र रहेको प्राप्त कागजातबाट खुल्न आएको छ ।

तत्कालीन स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले बोर्डको उपाध्यक्ष तथा कार्यकारी प्रमुखमा डा. श्यामसुन्दर मिश्रलाई नियुक्त गरेका थिए ।  बोर्डको अध्यक्ष स्वास्थ्यमन्त्री हुने गठन आदेशमा व्यवस्था छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीकाअनुसार तत्कालीन मन्त्री चौधरी र कार्यकारी प्रमुख मिश्रबीच बोर्ड सञ्चालनमा कुरा नमिलेपछि उनले राजीनामा दिएर हिँडेका थिए । स्वायत्त हैसियतको बोर्डमा स्वास्थ्यमन्त्रीले ठाडो हस्तक्षेप र कार्यकर्ता भर्तीमा दबाब दिन थालेपछि कार्यकारी प्रमुख  डा. मिश्र राजीनामा दिएर हिँडेको ती अधिकारीको भनाइ छ । त्यसपछि एचआईभी बोर्ड बेवारिसे हुँदै बेपत्ता बनेको हो ।

स्वास्थ्य लाइभलाई प्राप्त बोर्डको हैसियत खुल्ने केही कागजातमा एचआईभी एड्स तथा यौनरोग नियन्त्रण बोर्डको उपाध्यक्ष तथा कार्यकारी प्रमुखमा डा. मिश्र, सदस्य सचिव तथा निर्देशकमा डम्बरप्रसाद घिमिरे रहेको देखिन्छ ।

बोर्डको ६ जना सदस्यहरूमा तत्कालीन स्वास्थ्य सचिव डा. प्रविण मिश्र, महिला तथा विशेषज्ञ सदस्य डा. तीर्थ राणा, विशेषज्ञ सदस्य महेश शर्मा, नागरिक समाजको तर्फबाट  हरिप्रसाद अवस्थी, एचआईभी संक्रमितहरुको सञ्जालबाट प्रतिनिधि, राजीव काफ्ले र एचआईभी जोखिम समूहबाट प्रतिनिधित्व गर्ने सदस्यमा बिष्णु शर्मा रहेको पाइएको छ ।

बोर्डले एचआईभी एड्स विधेयकको मस्यौदा र राष्ट्रिय नीति तर्जुमा गरेपछि लापत्ता देखिन्छ । बोर्डका कार्यकारी प्रमुख मिश्र हटेलगत्तै बोर्ड पनि बेपत्ता भएको खुल्न आएको छ ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार
ट्याग : ##एचआईभी, ##एचआईभी बोर्ड, ##ग्लोबल फण्ड, ##टेकु, #स्वास्थ्य मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com