यस्ताे छ वीपी प्रतिष्ठानका पदाधिकारीमाथि खतिवडा समितिको चार्ज


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको नेतृत्वमा बनेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीमाथि छानबिन प्रतिवेदन सरकारले गोप्य राखेको छ । सरकारले गोप्य राखेको उक्त प्रतिवेदन स्वास्थ्य लाइभले प्राप्त गरेको छ ।

खतिवडा नेतृत्वको छानबिन समितिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले पदअनुसारको दायित्व पूरा नगरेको चार्ज लगाउँदै सिनेट बोलाएर बर्खास्त गर्नुपर्ने ठहर गरेको पाइएको छ ।

वीपीका चारै पदाधिकारीले अख्तियारको दुरुपयोग गरी पदीय मर्यादा र आचरणविपरीतको व्यवहार एवं अनियमितता गरेको चार्ज लगाउँदै समितिले राज्यको स्थापित निकायले छानबिन गर्ने र दोषी ठहरिएमा कानुनअनुसारको कारबाहीका लागि सिफारिस गर्न समेत सुझाव दिएको छ ।

स्वास्थ्य लाइभले विशेष शुत्रबाट प्राप्त गरेको उक्त १० पानाको प्रतिवेदनमा खतिवडा समितिले वीपीका पदाधिकारीमाथि विभिन्न चार्ज लगाउँदै ५ बुँदे निष्कर्ष र सुझाव पेश गरेको पाइएको छ ।

 

वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका  जिम्मेवार पदाधिकारीको गैर जिम्मेवारीका कारण प्रतिष्ठानको छबिमा आम जनमानसमा नकारात्मक सन्देश प्रवाह हुनुका साथै प्रतिष्ठान प्रति आम जनताले व्यक्त गरेको विश्वासमा समेत नकारात्मक सन्देश प्रवाह भइरहेको एवं जिम्मेवार पदाधिकारीहरू प्रतिष्ठानबाट प्रदान भइरहेको शैक्षिक तथा सेवामा गुणस्तरीय रुपमा सुधार गर्नु भन्दा भ्रष्टाचार प्रतिष्ठानलाई धरासायी पुर्‍याउने काम गरिरहेको विषयलाई पृष्ठभूमिमा राखेर बनाइएको प्रतिवेदन स्वास्थ्य लाइभले फेला पारेको छ ।

वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ कार्तिक १ गतेको निर्णयबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ (घ) बमोजिम स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको अध्यक्षतामा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र धरान उपमहानगरपालिकाका मेयर तीलक राई सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेका थिए ।

त्यस्तै छानबिन समितिलाई प्रशासनिक कार्यमा सहजीकरण गर्न एवं समितिको सचिवालयको रुपमा कार्य डा. कृष्णप्रसाद पौडेल,  स्वास्थ्य मन्त्रालयको कानुन शाखा प्रमुख मानबहादुर बस्नेत र बरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटालाई खटाएको थियो । उनीहरुले विभिन्न विषयमा केन्द्रीत रहेर कारबाहीका लागि पाँच सुझाव दिएको स्वास्थ्य लाइभले फेला पारेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्याका विषयमा विभिन्न समिति-कार्यदलले पेश गरेका प्रतिबेदनको अध्ययन र सरोकारवालाहरुसँगको छलफलको आधारमा छानबिन समितिले आफ्नो निष्कर्ष निकालेको देखिन्छ ।

वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पदाधिकारीको पदीय जिम्मेवारी र पेशागत आचरणको कमजोरी, शिक्षक तथा कर्मचारीहरुमा पदीय जिम्मेवारीको अभाव, चिकित्सा शिक्षा तथा प्राज्ञिक क्षेत्र सम्बन्धी बहु-आयामिक समस्या, स्वास्थ्य सेवा प्रदानमा भएको वेथिति, प्रशासनिक तथा समग्र व्यवस्थापनका कार्यहरुमा कमजोरी, खरिद कार्यमा अनियमितता र पदाधिकारीबीचको बेमेल जस्ता विविध समस्याहरु विधमान रहेको र यी समस्याहरुको समाधानका लागि वीपीका पदाधिकारीहरु तत्काल बर्खास्त गर्न आवश्यक छ ।

खतिवडा समितिको चार्ज हेर्दा पनि वीपी प्रतिष्ठानमा अहिले देखिएको समस्याको समाधान गर्ने एउटै अस्त्र तत्काल सिनेट बोलाएर पदाधिकारी बर्खास्त गर्नु नै हो ।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा प्रधानमन्त्री एवं कुलपति देउवा केन्द्रीत भएकाले केही समय यो विषय ओझेलमा परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च अधिकारीहरूले स्वास्थ्य लाइभलाई बताए ।

यस्तो छ  छानबिनको निष्कर्ष र सुझाव

⭐वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका हाल कार्यारत पदाधिकारीहरु उपकुलपति, शिक्षाध्यक्ष र अस्पताल निर्देशकले पद अनुसारको दायित्व पुरा गरेको नदेखिएकाले वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ घ. को उपदफा (३) बमोजिम कारबाही गर्न संचालक परिषद्समक्ष सिफारिस गर्ने ।

⭐वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाल कार्यरत पदाधिकारीहरु उपकुलपति, शिक्षाध्यक्ष र अस्पताल निर्देशक एवं राजीनामा स्वीकृत भइसकेको रजिष्ट्रारलेसमेत पदमा रहँदाको बखत अख्तियारको दुरुपयोग गरी पदीय मर्यादा र आचरणविपरीतको व्यवहार एवं आर्थिक अनियमितता गरेको विषयमा राज्यको स्थापित निकायले छानबिन गर्ने र दोषी ठहरिएमा कानुन अनुसारको कारबाहीको लागि सिफारिस गर्ने ।

⭐वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राजनैतिक भागबण्डा र अपारदर्शी चलखेलबाट नभई स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ अनुसार शैक्षिक योग्यता र उच्च व्यवस्थापकीय क्षमता भएको, उच्च पेशागत आचरण र समाजमा प्रतिष्ठित व्यक्तिलाई बस्तुनिष्ठ छनौटको आधारमा जिम्मेवार पदमा पदाधिकारी नियुक्ति गर्न सिफारीस गर्ने ।

⭐वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत शिक्षक र कर्मचारीलाई प्रतिष्ठान प्रति जिम्मेवार बनाइ अनुशासित र जिम्मेवार ढंगबाट कार्य गर्न प्रोत्साहन गर्ने र अनुशासनहिन र गैरजिम्मेवार कर्मचारीलाई सजाय हुने प्रबन्ध गर्ने ।

⭐वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यमान वेथिति र समस्याहरुको समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बैकुण्ठ अर्याल संयोजक रहेको समितिले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुधारका सुझावलाई कार्यान्वयन हुने प्रबन्ध गर्ने ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ