निमित्त स्वास्थ्य सचिव डा. लोहनी माओवादी केन्द्रमा


काठमाडौं । निमित्त स्वास्थ्य सचिव डा. गुणराज लोहनी माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागको सदस्य भएको रहस्य खुलेको छ ।

माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागमा सदस्य बनेका एक अधिकारीले डा. लोहनी पनि माओवादी केन्द्रको स्वास्थ्य विभागमा सदस्य भएको पुष्टि गरे । उनको छद्म नाम डा. जि. आर. लोहनीबाट माओवादी केन्द्रमा सक्रिय रहँदै आएको ती सदस्यको भनाइ छ । स्वास्थ्य लाइभसँग कुरा गर्दै ती सदस्यले भने, ‘अरुको  के कुरा गर्नुहुन्छ स्वास्थ्यको निमित्त सचिव डा. लोहनी नै माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागमा सदस्य बन्नु भएको छ ।’,

स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ डा. लोहनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ‘खास’ मान्छे रहेको चर्चा चल्दै आएको छ । प्रमुख विशेषज्ञको पाँचौ नम्बरमा सिफारिस हुँदा पनि तीनजनाभित्र परेर बढुवा हुनुमा त्यो सम्बन्धले काम गरेको स्वास्थ्यमा चर्चा चल्दै आएको छ । यी सबै कुरा हेर्दा डा. गुणराज लोहनी डा. जि. आर. लोहनी छद्म नाममा माओवादी केन्द्रमा सक्रिय रहँदै आएको कुरामा दम देखिन्छ ।

माओवादी केन्द्रका स्वास्थ्य तथा जनसंख्या विभागमा रहेका ३५ जना सदस्यमध्ये स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. गुणराज लोहनीको छद्म नाम डा. जि. आर. लोहनी २० नम्बरमा रहेको छ ।

लोहनी भन्दा अगाडि डा. जिएन. शर्मा उर्फ स्वास्थ्यका नीति योजना महाशाखा अन्तर्गत कार्यरत उपसचिव गुणनिधि शर्माको नाम रहेको छ । गुणनिधि शर्मा माओवादी केन्द्रमा डा. जि. एन. शर्मा छद्म नामले चिनिने गर्छन् ।

यता माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागकी प्रमुख कल्पना धमला भने मिस्टेकले उनको नाम पर्न गएको दाबी गर्छिन् । स्वास्थ्य लाइभसँग कुरा गर्दै उनले त्योबाहिर आएको नाम सच्चाएर नयाँ नाम सार्वजनिक गर्न लागेको सुनाइन् । सबैतिर सार्वजनिक भइसकेको नाम विवादमा आउने भएपछि सच्याउन लागिएको विभाग कै सदस्यको दाबी छ । विभागीय प्रमुख धमलाले गल्तीले परेको नाम भनेपनि निमत्त सचिवको जिम्मेवारीमा रहेको व्यक्तिको नाम पार्टी विशेषको सदस्यमा पर्नु गम्भीर विषय हो ।

धमलाको नेतृत्वमा गठन भएको माओवादी केन्द्रको स्वास्थ्य विभागमा अनियमिततामा मुछिएका वीपी प्रतिष्ठानका रेक्टर खनाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका रेक्टर डा. नीरेश थापासहितका सरकारी, सार्वजनिक पदमा रहेका स्वास्थ्यकर्मीहरू सदस्य बनेको कुरा स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बाहलवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्था रहेकाले राजनीतिमा भाग लिन निर्वाचन आयोगले निषेध गरेको हो । तर निमित्त स्वास्थ्य सचिव डा. लोहनी नै माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागमा सदस्य बनेको खुल्न आएको छ ।

क्याटेगोरी : अन्तर्वार्ता, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com