खतिवडा समितिद्वारा वीपी प्रतिष्ठानका पदाधिकारीको बदमासी छताछुल्ल

उपकुलपति गिरीमाथि जँड्याको आरोप !


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा नेतृत्वको छानबिन समितिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको बदमासी छताछुल्ल पारेको फेला परेको छ ।

स्वास्थ्य लाइभलाई प्राप्त वीपीका पादधिकारीमाथि ‘चार्ज’ लगाएको गोप्य छानबिन प्रतिवेदनमा वीपीका पदाधिकारीको बदमासी छताछुल्ल पारिएको हो । खतिवडा प्रतिवेदनद्वारा पदाधिकारी आचरणदेखि खरिदमा हुने अनियमितता र बिरामीमाथि भइरहेको कमिसनको खेलसम्म उजागर गरिएको छ ।

छानबिन प्रतिवेदनमा वीपीका उपकुलपति ज्ञानेन्द्र गिरीले कार्यालय समयमा मादक पदार्थ सेवन (मापसे) गरेको प्रसंगसमेत उल्लेख गरिएको छ । उपकुलपतिले नेतृत्वदायी भूमिका प्रदान गर्न नसकेको र धरान भन्दा धेरै काठमाडौंमा समय खर्चिने गरेको ठहर छ । कार्यकारिणी समितिमार्फत गर्नुपर्ने निर्णयहरुसमेत उपकुलपतिको एकल निर्णयबाट गर्ने गरेको विषय पनि प्रतिवेदनमा समेटिएको छ ।

विभागीय प्रमुख र कर्मचारीले प्रतिष्ठानमा हाजिर गर्ने तर काम बाहिर गर्ने, प्रतिष्ठानको जिन्सी सामग्रीहरू व्यक्तिगत प्रयोजनका लागि आफ्नो निजी निवासमा लैजाने गरेको कुरासमेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

छानबिन प्रतिवेदनद्वारा नियुक्तिका लागि न्यूनतम योग्यता र आधार नपुगेकालाईसमेत एसोसिएट प्रोफेसरको पदमा नियुक्ति दिइएको खुलासा गरिएको छ । मेडिकल काउन्सिलमा सम्बन्धित विषयको विशेषज्ञका रूपमा दर्ता नभएका चिकित्सकलाईसमेत प्रतिष्ठानको विभागीय प्रमुखको जिम्मेवारी दिइएको पोल छानबिन प्रतिवेदनले खोलेको हो ।

प्रतिष्ठानका पदाधिकारीहरू खरिद र यसबाट हुने कमिसनतर्फ आकर्षित हुने गरेको प्रतिवेदनमा भनिएको छ । खरिदसम्बन्धी विषयको विवाद नै पदाधिकारीबीच आपसी कलहको कारण भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा पदाधिकारी र सम्बन्धित कर्मचारीले बिचौलियाको मिलेमतोमा प्रतिष्ठानभित्रका मेसिन, उपकरण बिगार्ने, रिएजेन्टको कृतिम अभाव खडा गर्ने र बिरामीलाई बाहिर पठाउने गरेको बदमासीसमेत उजागर गरिएको छ ।

प्रतिवेदनमा छानबिनबाट प्राप्त विवरण भनेर ६ भागमा बाँडिएको छ । जसमा पदाधिकारीको पदीय जिम्मेवारी र पेशागत आचारणको कमजोरी,  पदाधिकारीको पदीय जिम्मेवारी र पेशागत आचारणको कमजोरी, शिक्षक तथा कर्मचारीहरुमा पदीय जिम्मेवारीको अभावलाई प्रतिवेदनमा मुख्य समस्याका रूपमा देखाइएको छ ।

त्यस्तै चिकित्सा शिक्षा तथा प्राज्ञिक क्षेत्रसम्बन्धी समस्या, स्वास्थ्य सेवा प्रदानमा भएको वेथिति, वैधानिक र पारदर्शी खरिद प्रक्रियामाथि प्रश्न र प्रशासनिक तथा समग्र व्यवस्थापन कार्यहरूमा कमजोरी भनेर प्रतिवेदनले ६ बुँदामा वीपीको समस्या औंल्याएको देखिन्छ ।

यस्ता छन् वीपी प्रतिष्ठानभित्र समस्या

✡️पदाधिकारीको पदीय जिम्मेवारी र पेशागत आचारणको कमजोरी

➡️प्रतिष्ठानका पदाधिकारीहरूले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिजन, मिसन र गोलअनुसारको उच्चतम पेशगत आचरण र व्यवहार देखाउन नसकेको,

➡️उपकुलपतिले २०७८ असार १५ मा कार्यालय समयमा आन्दोलनरत पक्षसँग वार्ता गर्ने क्रममा मादक पदार्थ सेवन गरेको र अन्य पदाधिकारीले वार्ताको वातावरण बिगारी थप उत्तेजित बनाएको,

 

➡️उपकुलपति र रजिष्ट्रार दुई पदाधिकारीबीच आपसी विवाद, आरोप र प्रत्यारोप र असमझदारी सञ्चार माध्यममार्फत छताछुल्ल भएको र यसबाट आन्दोलनरत पक्षको मनोबल बढेको,

➡️कार्यकारिणी समितिमार्फत गर्नुपर्ने निर्णयहरुसमेत उपकुलपतिको एकल निर्णयबाट गर्ने गरेको,

✡️शिक्षक तथा कर्मचारीहरुमा पदीय जिम्मेवारीको अभाव

➡️अस्पतालका विभिन्न विभागहरूमा विभिन्न पदमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले पदीय जिम्मेवारीअनुसारको कार्य नगरेको,

➡️प्रतिष्ठानमा हाजिर गर्ने तर काम बाहिर गर्ने, प्रतिष्ठानको जिन्सी सामग्रीहरू व्यक्तिगत प्रयोजनका लागि आफ्नो निजी निवासमा लैजाने गरेको स्थानीयको गुनासो रहेको,

➡️प्राध्यापक तथा शिक्षकहरुले पूर्ण शैक्षिक समयअनुसार नपढाउने र प्रयोगात्मक कक्षामासमेत नजाने गरेको,

 ➡️उपकुलपति नियमित प्रतिष्ठानमा बसी नियमित कार्यमा नेतृत्वदायी भूमिका प्रदान गर्न नसकेको धरान भन्दा धेरै काठमाडौंमा समय खर्चिने गरेको,

✡️चिकित्सा शिक्षा तथा प्राज्ञिक क्षेत्रसम्बन्धी समस्या

➡️चिकित्सा विज्ञानका विभिन्न विधाका जनशक्ति उत्पादनका लागि पदाधिकारीसँग कुनै कार्ययोजना नभएको,

➡️विभागीय प्रमुखहरूको बैठक, प्राज्ञिक समिति बैठक र दिक्षान्त समारोह ४ वर्षदेखि हुन नसकेको,

➡️मेडिकल काउन्सिलमा सम्बन्धित विषयको विशेषज्ञका रूपमा दर्ता नभएका चिकित्सकलाईसमेत प्रतिष्ठानको विभागीय प्रमुखको जिम्मेवारी दिइएको,

➡️नियुक्तिका लागि न्यूनतम योग्यता र आधार नपुगेकालाईसमेत एसोसिएट प्रोफेसरको पदमा नियुक्ति दिइएको,

➡️जनस्वास्थ्य र सामुदायिक चिकित्सा विभागमा आवश्यकता भन्दा धेरै फ्याकल्टी राकिएको,

➡️पठनपाठनका लागि आवश्यक पूर्वधारको कमि रहेको जस्तै एउटा कक्षा कोठामा १०० जनासम्म विद्यार्थी राख्ने गरेको, नर्सिङतर्फको कक्षा कोठामा पानी चुहिने/ जिर्ण हुँदा पनि मर्मत नगरेको, प्रयोगशालामा गुणस्तरयुक्त सामग्री अभाव रहेको,

➡️पुस्तकालयमा भएका पाठ्य सामग्रीहरू निकै पुराना भएको, नयाँ पुस्तक र पाठ्य सामग्री उपलब्ध नभएको, इन्टरनेट सेवा निकै कमजोर भएकोले बाहिरबाट सेवा खरिद गर्नुपर्ने बाध्यता रहेको,

✡️स्वास्थ्य सेवा प्रदानमा भएको वेथिति

➡️१०० बेड भन्दा धेरै बेड भएका अस्पतालहरुले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बारम्बारको निर्देशन अवज्ञा गर्दै हालसम्म पनि आफ्नै अस्पताल फार्मेसी सञ्चालन नगरेको,

➡️नेपाल सरकारको प्राथमिकता प्राप्त आमा सुरक्षा कार्यक्रम सञ्चालन नगरी बिरामीसँग चर्को शुल्क उठाउनेने गरेको,

➡️स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका बिरामीलाई नियमानुसार उपलब्ध गराउनुपर्ने औषधिसमेत उपलब्ध नगराई बिरामीलाई किन्न बाध्य परिएको,

➡️प्रयोगशालामा रिएजेन्टको अभाव, युरिया लिपिड प्रोफाइलजस्ता सामान्य परीक्षणसमेत नहुने, बायोप्सी प्रतिवेदन महिनौंसम्म प्राप्त नहुने, एफएनएसी जस्तो परीक्षणसमेत नहुने गरेको,

➡️अल्ट्रासाउण्ड गर्नका लागि महिनौंसम्म पालो कुर्नुपर्ने,

➡️अस्पतालजन्य फोहोर मापदण्डअनुसार विसर्जन हुन नसकेको,

➡️डायलासिस भवन निर्माण भइसकेको र मेसिनसमेत खरिद भइसक्दा पनि डायलासिस सेवा सञ्चालन नगरेको,

➡️प्रयोशाला परीक्षणलगायत अन्य डायग्नोष्टिक इन्भेस्टिगेसन र औषधि खरिदको लागि अस्पतालका कर्मचारीहरूले नै प्रतिष्ठान बाहिर रिफर गरेर पठाउने गरेको,

✡️वैधानिक र पारदर्शी खरिद प्रक्रियामाथि प्रश्न

➡️प्रतिष्ठानका पदाधिकारीहरू एकेडेमिक एक्टिभिटिजमा केन्द्रीत हुनु पर्नेमा खरिद र यसबाट हुने कमिसनतर्फ आकर्षित भै पठन पाठन र शैक्षिक क्यालेन्डर नै खलबल हुन पुगेको,

➡️प्रतिष्ठाको आफ्नै खरिद नियमावली नभएको, खरिद योजना तयार पार्ने पद्धति नरहेको, नियमविपरीत खरिद कार्य हुने गरेको, खरिद सम्बन्धी विषयको विवाद नै पदाधिकारीबीच आपसी कलहको कारण भएको,

➡️खरिद कार्यमा प्रतिष्ठानका सीमित कर्मचारीहरू र व्यापारीहरूबीच सिण्डिकेट खडा गरी प्रचलित बजार मूल्य भन्दा कयौं गुणा महँगो रेटमा सामग्री किन्ने गरेको,

➡️सिटी स्क्यान मेसिन, एमआरआई मेसिन, एचडियू जस्ता उपकरण खरिदमा अनियमितता भएको,

✡️प्रशासनिक तथा समग्र व्यवस्थापन कार्यहरूमा कमजोरी

➡️पदाधिकरीहरुबीचको आपसी विवादले प्रशासनिक क्षेत्र अस्तव्यस्त भएको, प्रतिष्ठानको सिंगो प्रणाली अस्तव्यस्त र अनुशासनहीन बन्दै गएको,

 

➡️एक वर्षमा ४८ करोड बेरुजु देखिने गरेको, वार्षिक २२o करोडको बजेटमा ७० प्रतिशत बजेट चालू खर्च रहेको,

➡️चिकित्सक तथा कर्मचारीको बढुवा र वृत्तिविकास समेत रोकिएको, प्रचलित तलब स्केलअनुसार बढेको तलब भत्ता नियमित उपलब्ध हुन नसकेको,

➡️विद्यार्थी छात्रावास र चिकित्सक आवासको व्यवस्थापन कमजोरी रहेको, विद्यार्थी कर्मचारीहरूलाई आवास सेवा उपलब्ध हुन नसकेको तर बाहिरका व्यक्तिहरूसमेत कर्मचारी आवास प्रयोग गर्ने गरेको, आवास भवनमा पानी चुहिने, धारा बत्तिको मर्मत नभएको र भवन जिर्ण हुँदै गएको,

➡️सिटी स्क्यान मेसिन प्रतिष्ठानको प्रयोग नगरी कमिसनको लोभमा बिचौलियाको मेसिन प्रयोग गरेर सेवा प्रदान गरेको,

➡️बिरामीले घरमै डायलासिस गर्न आवश्यक पर्ने CAPD Fluid उपलब्ध गराउने व्यवस्था भएको तर प्रतिष्ठानले उक्त CAPD Fluid उपलब्ध नगराई नेपाल सरकारसँग शुल्क भुक्तानी लिएको,

➡️पदाधिकारी र सम्बन्धित कर्मचारीले बिचौलियाको मिलेमतोमा प्रतिष्ठानभित्रका मेसिन, उपकरण बिगार्ने, रिएजेन्टको कृतिम अभाव खडा गर्ने र बिरामीलाई बाहिर पठाउने गरेको,

➡️प्रतिष्ठान हाताभित्र KID-Z नामको स्कुललाई करोडौंको जग्गा, भवन र आवाससमेत बिना प्रतिस्पर्धा मासिक १४ हजार भाडामा लगाएको,

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com