खतिवडा समितिलाई वीपीका ‘भ्रष्ट’ पदाधिकारीले यस्तो बयान दिए


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा नेतृत्वका छानबिन समितिले वीपी प्रतिष्ठानको प्रतिवेदन बनाउँदा सरोकारवाला तथा पदाधिकारीहरूसँग छलफललाईसमेत आधार मानेको पाइएको छ । प्रतिवेदनमा वीपीका पदाधिकारी भ्रष्टचारमा लिप्त भएको किटान गरेको छ ।

समितिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष गुरू खनाल र अस्पताल निर्देशक डा. गौरीशकर शाहसँग बयान पनि लिएको छ । वीपीमा स्थलगत अध्ययन गरेर बनाएको प्रतिवेदनमा समितिले फिल्डमा लिएको बयान चित्तबुझ्दो नभएपछि वीपीका तीनजनै पदाधिकारीसँग लिखित स्पष्टीकरणसमेत मागेको प्रतिवेदमा उल्लेख छ ।

यस्ता छन् उनीहरूको कुरा

पदाधिकारी एवं सरोकारवालाहरुको अभिव्यक्ति

‘प्रतिष्ठान सुधारका लागि आन्दोलनरत सरोकारवालाहरुले स्पष्ट ४ वटा बटमलाईनसहितको रोडम्याप पेश गरेका छौं । हाल कार्यरत पदाधिकारीको बहिर्गमन, पारदर्शी निर्देशिका बनाई सोहीअनुसार योग्य र नेतृत्वदायी क्षमतायुक्त नयाँ पदाधिकारीको नियुक्ति, हालका पदाधिकारीले गरेको अनियमितताको छानबिन आयोग र अख्तियार,अदालतमा चलिरहेका मुद्दालाई छिटो किनारा लगाउने पहल गर्नुपर्ने, यस भन्दा अगाडी विभिन्न कार्यादल-समिति बनेका छन् । ती समिति-कार्यादलले पेश गरेको प्रतिबेदन कार्यन्वयन हुनुपर्ने ।’,

-डा. सूर्यप्रसाद रिमालको संयोजकत्वमा गठित प्रतिष्ठान सुधार अभियान/आन्दोलनरत पक्ष

‘प्रतिष्ठानको शैक्षिक, अर्थिक अवस्था नाजुक भैरहेको छ । गुणस्तर खस्कनुमा नेतृत्वले प्रभावकारी काम गर्न नसक्नु प्रमुख कारण हो । प्राज्ञिक संस्कार थाहा नभएको नेतृत्व भएकाले यो समस्या आएको हो । कनिष्ठ व्यक्तिको मातहतमा सिनियरलाइ काम गराउदा मनोबल घटेको छ । बरिष्ठताको आधारमा जिम्मेवारी दिनुपर्ने, प्रतिष्ठान/विश्वविद्यालय भन्दाबाहिरको व्यक्तिलाई नेतृत्व दिनु हुँदैन । नियुक्ति प्रक्रिया नै त्रुटीपूर्ण छ । राजनैतिक आस्थाको आधारमा होइन प्राज्ञिक क्षेत्रको योगदानको आधारमा नेतृत्व चयन हुनुपर्यो ।’,

-प्रतिष्ठानका विभिन्न विभागमा कार्यारत बिभागीय प्रमुखहरु

‘प्रतिष्ठानको होस्टेल भवन, पिउने पानि तथा मेस अत्यन्त दयनीय छ । आकस्मिक कक्ष जिर्ण छ । नर्सिङ विभागको भवन पनि चुहिने छ । नर्सिङको फिल्ड अभ्यास लैजाने स्वास्थ्य संस्थाहरुको सम्झौता सकिएको वर्षौं भइसकेको छ । तर, पनी नवीकरण भएको छैन । अस्पतालजन्य फोहोर व्यवस्थापन दयनीय अवस्थामा छ । समग्र व्यवस्थापन ध्वस्त भएको छ । कर्मचारीले बढेको तलब पाएका छैनन् । कोभिडमा काम गरेको जोखिम भत्ता पाएको छैन । एचएमआइएसमा केही रिपोटिङ हुँदन । यस्तो विकृति विसंगती र अनियमितताको शुरुवात डा. वीपी दासको कार्यकालदेखि सुरु भएको हो । २ लाख पर्ने सामग्रीलाई ६२ लाखमा खरिद गरियो । तर, त्यस्ता कर्मचारीलाई संरक्षण भयो, कारबाही भएन । वीपीको कर्मचारी हुँ भन्न पनि लाज लाग्ने अवस्था आएको छ ।’,

-प्रतिष्ठानमा कार्यरत कर्मचारीहरु

‘प्रतिष्ठानको पुरानो घाटा ६ अरब रहेको छ । गत बर्षको घाटा मात्रै ९० करोड छ । बिजुली, इन्धन देखि स्टोरका सामग्री सबैमा चुहावट भ्रष्टचार ब्याप्त छ । पदाधिकारी मात्रै हैन प्रत्येक कर्मचारीले प्रतिष्ठानको साधन स्रोतको चरम दुरुपयोग गर्छन् । चुहावट नियन्त्रण प्रणाली छैन । खरिद प्रक्रिया पारदर्शी र नियमसंगत छैन । कमिसनको जालो सार्वजनिक खरिद अनुगमन कार्यलयसम्मै पुगेको छ । उपकुलपतिको असाधारण अधिकार धेरै छ । कटौती गर्नुपर्ने भएको छ । पदाधिकारी नियुक्ती प्रक्रियामा आर्थिक चलखेल भएको कारणले पदाधिकारीले कमाउन मात्रै ध्यान दिने भएका छन् । ब्रिफकेसभरी पैसा बुझाउनेलाई उपकुलपति बनाइन्छ भन्ने ब्यापक गुनासाहरु छन् । डा. वीपी दासको पालादेखि संस्था धरासायी बन्दै गयो । अहिलेसम्म त्यसको कुनै सुधार हुन सकेन । यसको सुधारका लागि मुख्य चार वटा काम गर्नुपर्छ । हालको पदाधिकारीको बहिर्गमन, पारदर्शी निर्देशीकाको आधारमा पदाधिकारीको नियुक्ती, भ्रष्ट कर्मचारी/पदाधिकारीलाई कारबाही, हाल चलेको मुद्दा छिटो किनारा लगाउने ।’,

-नागरिक दवाव संजाल, राजनैतिक दलका प्रतिनिधि र संचारकर्मीहरु

‘मेरो अधिकार क्षेत्रभित्र ३ लाखसम्मको मात्रै खरिद गर्ने म्यान्डेट पर्छ । मैले कुनै अनियमितता गरेको छैन । उपकुलपतिले स्पष्टिकरण सोधेको कारणले आन्दोलन सुरु भएको हो । म निर्दोष छु । छानबिनमा म दोषी ठहरिएमा जुनसुकै सजाय भोग्न मन्जुर छु ।’,

-प्रा.डा गौरिशंकर शाह, अस्पताल निर्देशक

‘प्रतिष्ठान सुधारको नाममा शुरु भएको अभियान आन्दोलनको रुपमा किन चलिरहेको छ । म आफैं कन्फ्युजमा छु । म यस प्रतिष्ठानमा २३ वर्ष देखि कार्यरत छु । हालका उपकुलपतिको नियुक्ति हुनु भन्दा अगाडि करिब ९ महिना कार्य बाहक उपकुलपतिको रुपमा कठिन समयमा पनि मैले धेरै सुधारका कामहरु गरेको छु । उपकुलपति र रजिस्ट्रारको व्यवस्थापकीय कमजोरीका कारण अहिलेको समस्या सिर्जना भएको हो । अभियानको सुरुवात प्रतिष्ठान सुधारको नाममा भएको थियो । तर, असार १५ गतेको घटना पश्चात पदाधिकारीहरुको बहिर्गमनको कुरा उठेको हो । शुरुवातमा उपकुलपति र रजिस्ट्रारको राजीनामा मागिएको थियो । पछि सबै पदाधिकारीको राजिनामा मागियो । उपकुलपति र रजिस्ट्रारको कमजोरीको सजाय मैले किन भोग्ने, मेरो कमजोरी केही छैन । उपकुलपतिले कार्यकारिणी समितिबाट निर्णय गराउनु पर्ने आर्थिक कुराहरु समितिको बैठकमा लग्नु भएन । १५ गतेको घटनामा उपकुलपतिलाई डिएसपी र उपमेयरले स्कटिङ गरेर लैजानु भएको हो । तर, रेक्टरले मापसे नगरेको आरोप लगाएका छन् ।’,

-प्रा.डा. गुरुप्रसाद खनाल, शिक्षाध्यक्ष

‘मेरो नियुक्ति २०७६ चैत २६ गते भएको हो । नियुक्तिलगत्तै कोभिड महामारी भएकाले कार्ययोजनाअनुसार काम गर्न सकिएन । आन्दोलनको सुरुवात स्पष्टीकरणा सोधिएकोबाट भएको हो । अनुशासनहिनताको ‘हाइट’ उच्च देखिएकोले स्पष्टीकरणमार्फत सतर्क गराइएको मात्रै हो । बिना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर कसैलाई बहिर्गमन गर्नु अन्याय हो ।शिक्षक कर्मचारीहरुको ५० प्रतिशत कमाइ प्रतिष्ठान बाहिरको निजी क्षेत्रसँगको र्याकेटमार्फत भएको छ । यो १५–२० वर्षदेखिको समस्या हो । मेरो कार्यकालमा मात्र भएको समस्या होइन । पुरानो समस्यालाई मैले हटाउन खोज्दा मलाइ चरित्र हत्या गरेर हटाउन खोजियो । म प्रतिष्ठान बाहिरबाट नियुक्ति भएको हुनाले प्रतिष्ठानभित्रका आकांक्षीहरू मलाई हटाउन लागि परेका छन् । सबैलाई उपकुलपति बन्ने हतारो छ । मादक पदार्थ सेवन गरेको सवालमा मैले त्यो दिनमा कसैलाई अभद्र ब्यवहार गरेको छैन । दुर्बच्या बोलेका छैन । दुई जना पदाधिकारी रजिस्ट्रार र रेक्टरको मिलेमतोमा घटनालाई अतिरञ्जित गरिएको मात्रै हो । दुई जना पदाधिकारी रजिस्ट्रार र रेक्टर मिलेर मलाई हटाउन गरिएको प्रयास हो ।’,

– डा.ज्ञानेन्द्र गिरी, उपकुलपति

पदाधिकारीले पेश गरेको लिखित सफाई पत्रको सार संक्षेप

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ घ. को उपदफा (४) बमोजिम तिनै जना पदाधिकारीहरुलाई २०७८ कार्तिक १२ गतेभित्र लिखित सफाई जवाफ पेश गर्न भनिएबमोजिम उनीहरुले पेश गरेका छन् ।

यस्तो छ सफाई जवाफ 

मलाई उपकुलपतिले हात बाँधेपछि चाहेर पनि केही गर्न सकिन

 

अस्पताल निर्देशक प्राध्यापक डाक्टर गौरीशंकर शाह

२०७४ जेठ देखि प्रतिष्ठानमा निर्देशक पदमा कार्यरत छ, नियुक्ती भएदेखि आजसम्म मैले निर्देशक पदको गरिमालाई अक्षुण राखी निर्बिबाद रुपमा इमानदारितापूर्वक कार्य गर्दै आएको छु । म अस्पताल निर्देशकको जिम्मेवारीमा रहँदा दुईजना उपकुलपति र एक जना कार्य बहाक उपकुलपतिको पद र शक्तिप्रतिको आशक्तिको शिकार भएको छु । उपकुलपतिले मेरो कार्याकालको आधा समय अधिकारबिहीन जस्तो बनाएको छ । नियमावलीअनुसारको अधिकार प्रत्यायोजन नगरी पदलाई लंगडो बनाउने काम भएको छ । अधिकार प्रत्यायोजन नै नगरी जिम्मेवारीबिहीन बनाउने काम भएको छ । मेरो मातहतमा सह-निर्देशक नियुक्ति गरि निर्देशकले गर्ने काम सह-निर्देशक/रजिष्ट्रारमार्फत गराउने गरि मलाई जिम्मेवारीबिहीन बनाएर राखिएको हो । मैले जहिले पनि प्रतिष्ठानको हितमा दत्त चित्त भै आफ्नो दक्षता र कार्य क्षमताले भ्याएसम्म अत्यन्त इमानदारिताका साथ कार्य गर्दै आएकाले कारबाही गर्नु पर्ने कारण केही छैन ।

 

ममाथि थोपरिएको अन्यायपूर्ण आरोप खारेजीको माग गर्दछु

-शिक्षाध्यक्ष प्रा.डा गुरुप्रसाद खनाल 

विगत २३ वर्ष देखि प्रतिष्ठानमा विभिन्न जिम्मेवारीमा रहेर पदीय मर्यादा अनुरुप कार्य गर्दै आइरहेको छु । आगामी दिनहरुमा पनि अवचलित रुपमा पदीय मर्यादाअनुसार कार्य सम्पादन गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु । ममाथि थोपरिएको अन्यायपूर्ण एवं पूर्वाग्रही आरोपको खारेजीको माग गर्दछु । ममाथि पदीय दायित्व पूरा नगरेको भन्ने आक्षेप लगाउनु र पदमुक्तसम्म गर्ने अभियोग लगाउनु पूर्वाग्रह र अन्यायपूर्ण कदम भन्ने ठानेको छु ।

मैले पदीय दायित्व पुरा नगरेको भन्ने आरोप निराधार हो 

उपकुलपति, डा. ज्ञानेन्द्र गिरी

२०७६ चैत २६ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्ति भएदेखि प्रतिष्ठानको कानुनी व्यवस्थाले तोकेको काम, कर्तव्य र अधिकारको पालना र प्रयोग गरि प्रतिष्ठानको उदेश्य प्राप्तीको लागि अहोरात्र खटिई प्रतिष्ठानको हितका लागि कार्यसम्पादन गरि आएको हुँदा मैंले आफ्नो पद अनुकूलको  दायित्व पूरा गरेको छु । तसर्थ मलाई दायित्व पूरा नगरेको भनि मेरो पदबाट हटाउन नमिल्ने व्यहोराको सफाई पेश गरेको छु ।

असहज परिस्थितिका बखत गहन एबम चुनौतीपूर्ण जिम्मेवारी स्वीकार गरि आफ्नो पदीय जिम्मेवारीको गहनतालाई महशुस गर्दै विधिवत् रुपमा कार्य प्रक्रियाहरु अघि बढाइरहेको अवस्थामा संस्थाका केही सदस्यहरुको गैर जिम्मेवारपूर्ण ढंगको कार्य शैलीका कारण विषम परिस्थिति सिर्जना भएको र कार्य सम्पन्न गर्न नदिएको अनुरोध गर्दै विषम परिस्थितिमा उपकुलपतिको दायित्व एवं जिम्मेवारी बहन गरेको हुँद पदीय दायित्व पूरा नगरेको भन्ने आरोप निराधार रहेको जिकिर गर्दछु ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com