एचआईभी बोर्ड फलोअप

कसले ‘चोर्‍यो’ एचआईभी बोर्डको गाडी ?


काठमाडौं । एचआईभी एड्स तथा यौनरोग नियन्त्रण बोर्डको महँगा गाडी गायब हुँदा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय बेखबर छन् ।

स्वास्थ्य लाइभले एचआईभी बोर्डको विषयमा निरन्तर खोजी गर्दा बोर्डको नाममा रहेका महँगा सामग्री अलपत्र अवस्थामा रहेको फेला पारेको छ । ल्यापटप, डेस्कटप कम्प्युटर, फोटोकपी मेसिन, सोफादेखि महँगा र प्रयोगमा ल्याउन सकिने सामग्री त्यसै बेहाल देखिन्छन् ।

स्वास्थ्य लाइभको खोजीमा निस्क्रिय अवस्थामा रहेको बोर्डको नाममा दुईवटा गाडी र दुईवटा मोटरसाइकल पनि रहेको खुल्न आएको छ । तर ती सवारी साधन अहिले को सँग कुन अवस्थामा रहेको छ कसैले जवाफ दिन सकेको छैन ।

बोर्डको सम्पत्ति खोजी गर्दा स्वास्थ्य लाइभले एचआईभी एड्स तथा यौनरोग नियन्त्रण बोर्डका तत्कालीन सदस्य विष्णु शर्मा फुँयालले तत्कालीन स्वास्थ्य सचिव प्रविण मिश्रलाई ब्लू बुक र गाडीको चाबी दिएको दाबी गरेका छन् । यता स्वास्थ्य सचिव डा. मिश्र भने आफूलाई बोर्डको विषयमा थाहै नभएको बताउँछन् । उनले स्वास्थ्य लाइभको प्रश्नमा आफैं सदस्य रहेको बोर्डका विषयमा अनभिज्ञता प्रकट  गर्नुले थप आशंका उब्जाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले पनि बोर्ड र बोर्डको अवस्था तथा सम्पत्तिको विषयमा अनभिज्ञता प्रकट गरेका छन् ।

बोर्डको नाममा दुईवटा गाडी र  दुईवटा मोटरसाइकल रहेको पुष्टि भइसकेको  छ । जिम्मेवार अधिकारीहरू नै ति सवारी साधनको विषयमा बेखबर देखिएकाले सरकारी कर्मचारीले नै चोरेर लगेको हुन सक्ने अनुमान लगाउन सकिन्छ । महँगा गाडी गायब हुँदा पनि सम्बन्धित विषय बेखबर बन्नु अर्को आश्चर्यको विषय हो ।

२०६४ सालमा स्थापना भएको एचआईभी बोर्ड एनजिओ, आइएनजिओ र सरकारी अधिकारीहरुको स्वार्थमा निष्क्रिय पारिएको छ । एचआईभी एड्स तथा यौनरोग नियन्त्रणका क्षेत्रमा काम गर्न गठन गरिएको बोर्ड अहिले निष्क्रिय अवस्थामा मात्र छैन बोर्डसँग भएका महँगा सामान तथा सवारी साधन चोरी भएका छन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चोरी भएको आशंका गरिएको बोर्डका महँगा सामान खोज्न लागेको देखिँदैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com