स्वास्थ्यमा बेथिति

आइएनजिओकर्मी कोठामा, प्रमुख विशेषज्ञ फाजिलमा

मन्त्रालयले बनायो कोठा व्यवस्थापन गर्न समिति


काठमाडौंं । ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्ने नेपाली उखान बेला-बेलामा चर्चामा आउँछ । अहिले स्वास्थ्य मन्त्रालयमा त्यस्तै हालत भएको छ । स्वास्थ्य सचिव, स्वास्थ्यमन्त्री एनजिओ आइएनजिओको पाउ पर्दा प्रमुख विशेषज्ञ नै कुर्सिबिहीन हुनु परेको छ ।

१२ औं तह अर्थात् प्रमुख विशेषज्ञले बस्ने कोठा नपाएर हाजिर गर्दै घर जाँदै गरेको स्वास्थ्यमा सम्भवतः यो नै पहिलो घटना हो । स्वास्थ्य मन्त्रालयका कोठा र कुर्सी एनजिओ, आइएनजिओका कर्मचारीको नियन्त्रणमा छ ।

आधा दर्जनबढी कोठामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का कर्मचारी, एउटा ‘एरिया’मा एनएचएसएसपी, गुणस्तर महाशाखामा तीनजना एनजिओका कर्मचारी, अन्तर्राष्ट्रिय समन्वय महाशाखा र भुई तलाका दुईवटा कोठामा बाह्यकर्मचारी बसेका छन् ।

स्वास्थ्य मन्त्रालयका कोठाहरु एनजिओ, आइएनजिओको नियन्त्रणबाट सरकारलेबाहिर निकाल्न सकेको छैन । जसले गर्दा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. भिमसिंह तिंकरी फाजिलमा छन् । विभिन्न बाहना देखाएर उनलाई ‘रिटायर’ गराउने पक्षमा मन्त्रालय छ ।

तिंकरी मन्त्रालयमा हाजिर मात्रै गर्न आउँछन् । त्यस्तै सहसचिव रिता जोशी र राधिका थपलिया पनि कुर्सीबिहीन छन् । उनीहरु बस्ने कोठा र कुर्सीमा एनजिओ, आइएनजिओका कर्मचारी राखिएको छ । स्वास्थ्य लाइभले स्वास्थ्य मन्त्रालय एनजिओ, आइएनजिओको कब्जामा भएको कुरा विभिन्न चरणमा सार्वजनिक गर्दै आएको छ ।

कर्मचारीलाई बस्ने कोठा अभाव भएपछि स्वास्थ्य मन्त्रालयले पुस २ गते सचिवस्तरीय निर्णय गर्दै कोठा मिलाउन एक समिति गठन गरेको छ । उक्त समितिमा परेका केही कर्मचारी एनजिओ, आइएनजिओका ‘जासुस’ छन् । जसले एनजिओ, आइएनजिओलाई हटाएर आफ्ना कर्मचारीलाई कोठा र कुर्सी मिलाउँछन् भन्नेमा मन्त्रालयका अधिकारीहरुलाई नै विश्वास छैन ।

ती केही परिचालित कर्मचारीको दबाब र प्रभावमा समितिले एनजिओ, आइएनजिओको पाउ परेर रिपोर्ट दिन्छ वा सरकारी कर्मचारी भएर सरकार र जनताको हितमा गर्छन् त्यो कुरा केही दिनपछि अवश्य देखिने छ ।

मन्त्रालयमा महाशाखा, शाखा एकृकीत गरी कोठा मिलाउन डा. मदन उपाध्याय संयोजक रहेको ५ सदस्यीय समिति गठन भएको अधिकारीहरुले बताएका छन् । उक्त समितिमा सदस्य सचिव भवनाथ खतिवडा, सदस्यमा कपिल तिमल्सिना, भिम सापकोटा र गुणनीधि शर्मा रहेका छन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##MOHP, ##roshan pokharel

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com