२० वर्षमुनिका १ लाख ७ हजार बढी किशोरी गर्भवती

३८ हजार ९५ जना २० वर्षमुनिका गर्भवती महिला सम्पर्कबिहीन


काठमाडौं । देशमा २० वर्ष भन्दा कम उमेरका १ लाख ७ हजार भन्दा बढी किशोरी गर्भवती हुने गरेका छन् । तर, यो गर्भवती हुने उमेर हैन । बि.स २०७६ साल साउनदेखि ०७७ साल असारसम्मको तथ्यांक हेर्दा २० वर्ष भन्दा कम उमेरका १ लाख ७ हजार ७ सय ९१ जना किशोरीले गर्भवती भएर पहिलोपटक चिकित्सकसँग परामर्श लिएको देखिएको छ ।

चिकित्सकहरुले यसलाई सुभ संकेतका रुपमा लिएका छैनन् । अघिल्ला वर्षहरुमा पनि यही अनुपातमा गर्भवती हुने गरेको विभिन्न सरकारी तथ्यांकहरुले देखाएको छ । अझ गज्जबको कुरा त गर्भ बसेपछि पहिलोपटक जाँच गराउँन चिकित्सकसमक्ष पुगेका उनीहरु दोस्रोपटकमा हजारौंको संख्यामा हराउने गरेका छन् ।

१ लाख ७ हजारमध्ये दोस्रोपटक स्वास्थ्य परीक्षण गराउँन जादा ३८ हजार ९५ जना घटेका छन् । ‘तथ्यांक अधिकृत पुष्कर बिजुक्षे भन्छन्, ‘०७६-०७७ मा २० वर्ष मुनिका १ लाख ७ हजार ७९१ जना गर्भवती भएकोमा दोस्रोपटक परीक्षण गराउँन आउँदा ६९ हजार ६ सय ९६ जना मात्रै आएका छन् । चारमहिनाको अवधिमा ३८ हजार ९५ जना २० वर्षमुनिका गर्भवती महिला सम्पर्कबिहीन भएका छन् ।’

अझ सरकारको प्रोटोकलअनुसार चारपटक स्वास्थ्य जाँच गराउन आउनेहरुको संख्या ४२ हजार ३ सय ४५ जना मात्रै छ । पहिलो महिनादेखि अन्तिम चार महिनासम्म आइपुग्दा ६५ हजार ४ सय ४६ जना हराएका छन् । यिनीहरुले कुनै स्वास्थ्य संस्थामा गएर गर्भपतन गराएको हुन सक्ने अनुमान अधिकारीहरुको छ । कतिपयले सुरक्षित गराए भने, कतिपयले असुरक्षित गर्भपतन गराएको हुन सक्ने सरकारी अधिकारीले भनाइ छ । यसरी हराउँदा मातृ मृत्यु बढी हुन सक्छ ।

मातृ मुत्युदर घटाउन राज्यले विभिन्न एनजिओ/आइएनजिओमार्फत अरबौं रुपैयाँ लगानी गरेको छ । तर, ती संस्थाले उल्लेख्य काम गरेका छैनन् । जसले गर्दा कम उमेरमा गर्भवती हुनेहरुको संख्या बढ्दो क्रममा नै देखिएको छ । यो संख्यालाई चिकित्सकहरुले निकै खतराको रुपमा लिने गरेका छन् । बिजुक्षे भन्छन्, ‘२० वर्ष मुनि बच्चा पाएको खण्डमा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्छ । यसले मातृ मृत्युदर बढाउने खतरा हुन्छ । सरकारको प्राथमिकता यसमा हुनु पर्छ ।’,

सरकारले हालै गरेको जनगणनाले पनि एक वर्षमा १२ सय आमाको बच्चा जन्माउने प्रक्रियामा मृत्यु भएको देखाएको छ । तर, उमेर समूह खुलाइएको छैन । जनगणनाको क्रममा १५ देखि ४९ वर्षका महिलाहरुको मृत्युकोबारेमा जानकारी लिएको थियो ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com