प्रेम आलेले रद्द गरिदिए पशुपति धर्मशालाको सम्झौता, मणिपालको के होला ?


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपति धर्मशाला बतास दिने गरी गरिएको सम्झौता रद्द गरिदिएका छन् । पशुपति क्षेत्र विकास कोषको बैठकमार्फत सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाएका मन्त्री आलेले सम्झौता रद्द गरेका हुन् ।

पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीका संयोजकत्वमा गठित छानबिन समितिको सिफारिसमा टेकेर मन्त्री आलेले बतास समूहसँग भएको धर्मशालालाई होटल बनाउने सम्झौता रद्द गरिदिएका हुन् । समितिले बतास समूहले सम्झौताविपरीत काम गरेको र अधिकार प्राप्त निकायको बिना स्वीकृति सम्झौता भएको भन्दै रद्द गर्न सिफारिस गरेको थियो । मन्त्री आलेले पशुपति धर्मशालालाई होटल बनाउने सम्झौता रद्द भएको जनाउँदै अब होटलका नाममा निजी क्षेत्रलाई उक्त धर्मशाला जिम्मा नलगाउने स्पष्ट पारे ।

मन्त्री आले कोरोना संक्रमित भइ केही दिन होम आइसोलेसमा बसेका थिए । संक्रमण मुक्त भएकै दिन उनले सम्झौता रद्द गर्ने उद्घोष गरेका थिए । पशुपति क्षेत्र विकास कोषको बैठक बोलाई प्रक्रिया पुर्‍याएर मन्त्री आलेले सम्झौता रद्द गरेका हुन् ।

नारायणहिटी दरबार संग्रहालयमा बतास समूहले बदमासी गरेको फेला पारेपछि उनले पशुपति धर्मशालामा पनि हात हालेका थिए । त्यहाँ पनि त्यस्तै बदमासी रहेको फेला परेको छ ।

बतास समूहले हात हालेको हरेक क्षेत्रमा बदमासी भएको र राज्य ठगिएको देखिएपछि बतास समूहले हत्याएको मणिपाल शिक्षण अस्पतालको विषयमा चासो राख्न थालिएको छ । भारतीय समूहसँग सेटिङ गरेर सरकारलाई घाटा लाग्ने गरी मणिपाल हत्याएको बतास समूहमाथि छानबिन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

पर्यटनमन्त्री आलेले जस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मणिपाल हत्याउने बतास समूहमाथि छानबिन गर्न आँट गर्छन् कि गर्दैनन् हेर्न बाँकी छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## पर्यटनमन्त्री, ## पशुपति क्षेत्र विकास कोष, ## पशुपति धर्माशाला, ## प्रेम आले, ## बतास समूह, ## मणिपाल, ## सम्झौता खारेज, ##शिक्षामन्त्री, #देवेन्द्र पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com