मेडिसिटीमा काम गर्ने सरकारी डाक्टर पन्तलाई बर्खास्त गर्ने तयारी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिसिटीमा काम गरिरहेका सरकारी डाक्टर ओमबिजु पन्तलाई बर्खास्त गर्ने तयारी गरेको छ ।

तीनवर्षदेखि सरकारलाई जानकारी नै नदिई नेपाल मेडिसिटी अस्पतालमा काम गरिरहेका डा. पन्तलाई बर्खास्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । उनलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढेको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च स्रोतले चाँडै यो विषयमा निर्णय लिइने स्वास्थ्य लाइभलाई जानकारी गरायो ।

‘महाशाखा प्रमुखहरु परिवर्तन भएकाले प्रक्रिया रोकिएको हो । सबै प्रक्रिया पूरा भइसकेको छ । अब चाँडै बर्खास्त गर्ने गरी निर्णय हुँदैछ ।’,  स्वास्थ्य मन्त्रालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई भन्यो ।

कोशी अस्पतालका कन्सलटेन्ट रेडियोलोजिष्ट (नवौं तह) डा. ओमबिजु पन्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्पर्कबिहीन रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उनी साढे तीनवर्षदेखि सरकार र पदाधिकार रहेको कोशी अस्पतालसँग सम्पर्कबिहीन भएपछि  बर्खास्त हुन लागेका हुन् ।

९० दिनसम्म सम्पर्कमा नरहँदै सरकारी कर्मचारीको जागिर जान्छ । तर डा. पन्त तीन वर्षदेखि लापत्ता हुँदा पनि अहिलेेेेसम्म जागिर जोगिरहेको देखिन्छ । यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत कमजोरी देखिन्छ । ९० दिनपछि एक्सन लिनु पर्ने स्वास्थ्य मन्त्रालयका जिम्मेवार अधिकारीहरू मेडिसिटी अस्पतालका जागिरे पन्तसँग तीन वर्षसम्म नतमस्तक बनेको पाइएको छ ।

मन्त्रालयले अहिले भने पन्तलाई विदा स्वीकृत नगराई सेवामा अनुपस्थित रहेकाले सेवाबाट बर्खास्त गर्न स्पष्टीकरण सोधेर प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयले कोशीका कन्सलटेन्ट रेडियोलोजिष्ट डा. पन्तलाई स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (१)(ज) को कसुरमा सोही ऐनको दफा ७२(ख)१ बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी बर्खास्त गर्ने प्रक्रिया अघि बढाएको हो।

मन्त्रालयले उनलाई स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (१) ज को कसुरमा कारवाही किन नगर्ने ? नगर्नुपर्ने कुनै कारण भए सुबद प्रमाणसहित ७ दिनभित्र स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचना समेत निकालिसकेको छ।

कोशी अस्पतालबाट स्वास्थ्य मन्त्रालयलाई जानकारी नै नदिई गायब भएका डा. पन्त नेपाल मेडिसिटी अस्पतालमा रहेको स्वास्थ्य लाइभको  खोजीमा पत्ता लागेको हो ।

क्याटेगोरी : विविध, समाचार
ट्याग : ## कोशी अस्पताल, ## डा. ओमबिजु पन्त, ## तीन वर्षदेखि सम्पर्कविहीन, ## नेपाल मेडिसीटी अस्पताल, ## रेडियोलोजिष्ट, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com