भीडमा जाने कोरोना संक्रमित केपी ओलीलाई १ महिना जेल !

मुलुकी फौजदारी संहिता(ऐन), २०७४ प्रयोग गरेको खण्डमा ओलीलाई १० वर्षसम्म कैद हुन सक्ने देखिन्छ


काठमाडौं । भीडमा जाने कोरोना भाइरस (कोभिड-१९) संक्रमित पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १ महिनासम्म कैद हुने देखिन्छ । कोरोना संक्रमित भएर पनि सार्वजनिक कार्यक्रममा सहभागी भएको आरोपमा ओलीमाथि उक्त सजाय हुने देखिएको हो ।

मन्त्रिपरिषद्को गत पुस ३० को बैठकले संक्रामक रोग ऐन,२०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको रोकथाम, नियन्त्रण, निदान र उपचार गर्न नयाँ आदेश जारी गरेको थियो ।

उक्त आदेशको बुँदा नम्बर १८ मा जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड-१९ को चिह्न वा लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्ने र ५ दिनपछि कोभिड-१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा आउने उल्लेख छ । कोभिड-१९ संक्रमणको पुष्टि नै भएका ओली ३ दिनमै सार्वजनिक कार्यक्रम र भीडभाडमा गएकाले उक्त आदेशको ठाडो उल्लंघन भएको हो ।

आदेश उल्लंघन गरे के हुन्छ ?

संक्रामक रोग, २०२० अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रू १ सय रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

पूर्व प्रधानमन्त्री ओलीले संक्रामक रोग ऐन अन्तर्गत दिइएको आदेश उल्लंघन वा अपहेलना गरेकाले उनीमाथि कैद सजाय हुने देखिन्छ । तर उक्त कानून कार्यान्वयन गर्ने अधिकार प्राप्त भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा ओलीका अगाडि निरीह बनेकी छिन् ।

मन्त्रिपरिषद्‌ले जारी गरेको आदेशको बुँदा नम्बर २८ (ङ) मा प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिल्लाभित्र यो आदेश तथा जनस्वास्थ्यका मापदण्ड पालना भए- नभएको सम्बन्धमा दैनिक अनुगमन गरी पालना नगर्ने व्यक्ति तथा संस्थाहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरी सोको विवरण कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसीसी) तथा गृह मन्त्रालयलाई नियमित रूपमा पठाउने काम तोकेको छ ।

एमाले अध्यक्ष ओलीले त्यो आदेश पालना नगरेको कुरा सार्वजनिक भइसक्दा पनि भक्तपुरको प्रमुख जिल्ला अधिकारीले संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरी सोको विवरण कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसीसी) तथा गृह मन्त्रालयलाई पठाएको देखिँदैन ।

अर्को कानुन प्रयोग गरे १० वर्षसम्म कैद !

मुलुकी फौजदारी संहिता(ऐन), २०७४ प्रयोग गरेको खण्डमा ओलीलाई १० वर्षसम्म कैद हुन सक्ने देखिन्छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा कोभिड संक्रमित ओलीलाई संक्रामक रोग फैलिन सक्ने काम गरेको आरोपमा १० वर्ष कैद गर्न सक्ने आधार देखा परेको हो ।

उक्त कानुनमा कसैले कसैको ज्यानलाई खतरा पुर्‍याउन सक्ने कुनै किसिमको संक्रामक रोग फैलाउने वा फैलिन सक्ने कुनै काम गर्न हुँदैन भन्ने उल्लेख छ ।

संक्रामक रोग फैलाउने वा फैलिन सक्ने कुनै काम गरेमा कसूर गर्ने वा गराउने व्यक्तिलाई नियतपूर्वक वा जानीजानी गरेको भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवान, लापरबाहीपूर्वक गरेको भए पाँच वर्षसम्म कैद र पचार हजार रुपैयाँसम्म जरिवाना र हेलचेक्रयाईपूर्वक गरेको भए तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवाना हुनेछ भनिएको छ ।

ओलीले नियतपूर्वक वा जानीजानी नगरेको भनेर दाबी गरे उनले लापरबाहीपूर्वक कोभिड फैलिन सक्ने काम गरेको आरोपमा चार्ज लगाउँदा पनि पाँच वर्षसम्म कैद र पचार हजार रुपैयाँसम्म जरिवाना हुने प्रस्ट देखिन्छ ।

 

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com