चुनावको मिति तोक्नु अघि मन्त्रिपरिषद् विस्तारको तयारी


काठमाडौं । स्थानीय तहको मिति घोषणा गर्नुभन्दा पहिला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । बालुवाटार उच्च स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले रिक्त रहेको रक्षा मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी गरेका छन् ।

रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमध्ये एउटा मन्त्रालको नेतृत्व पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालालाई दिने देउवाको तयारी छ । सुजाताले रक्षा रोजे पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाउने बालुवाटार उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

चुनाव घोषणा भएपछि मन्त्रिपरिषद् विस्तारमा झमेला हुने भन्दै देउवाले त्योभन्दा पहिला मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका हुन् । आजको मन्त्रिपरिषद्को नियमित बैठकबाट स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने भनिएपनि मन्त्रिपरिषद्को नियमित बैठक नै बसेन ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा जिताउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रधानमन्त्री देउवाले प्रकाशमान सिंहलाई उपप्रधानसहित गृहमन्त्री बन्न निकै जोडबल गरेको तर उनले त्यो प्रस्ताव ठाडै अस्वीकार गरेको बालुवाटार उच्च स्रोतको भनाइ छ ।  प्रकाशमानले मन्त्रीको जिम्मेवारी लिन नमानेपछि उनकै टिमबाट उपसभापतिमा उठेकी सुजातालाई खाली रहेको मन्त्रालय रोजेर दिने गरी भएको देउवा निकट एक नेताले  स्वास्थ्य लाइभलाई जानकारी दिए ।

प्रधानमन्त्री देउवाले भाषण विज्ञ समेत राखेर सचिवालय विस्तार गरेका छन् । अब मन्त्रिपरिषद् र सचिवालयलाई एकसाथ पूर्णता दिने उनको तयारी छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## प्रधानमन्त्री शेरबहादुर देउवा, #पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, #मन्त्रिमण्डल पुनर्गठन, #सुजाता कोइराला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com