स्वास्थ्य लाइभ फलोअप

ओमिक्रोनमा जग्गा हडप्ने भूमाफिया चाम्लिङले ऐलानी जग्गा छोरी स्वोस्तिकाको नाममा लगेको खुलासा !


काठमाडौं । ओमिक्रोनको मौका छोपेर सरकारी जग्गा हडप्ने भूमाफिया इन्द्रकमार चाम्लिङले ऐलानी जग्गा छोरी स्वोस्तिका चाम्लिङको नाममा लगेको खुल्न आएको छ ।

कोरोनाको ओमिक्रोन भेरिएन्टले तेस्रो लहर सुरू भएपछि सरकारले स्मार्ट लडाउन गरेको मौका छोपेर सार्वजनिक/सरकारी जग्गा हडपेका भूमाफिया चाम्लिङले विगतमा पनि ऐलानी जग्गा खाएको फेला परेको हो ।

मालपोत कार्यालय डिल्लीबजारबाट स्वास्थ्य लाइभलाई प्राप्त कागजातमा भूमाफिया चाम्लिङले २०५१ सालको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग(रावल आयोगको) प्रतिवेदनमा प्रस्ट रूपमा ऐलानी देखिएको जग्गा मालपोत र नापीका कर्मचारीसँग सेटिङ मिलाएर दर्ता गरेको देखिन्छ ।

भूमाफिया चम्लिङले नगर १० सिट नम्बर १०२-११०६-२२ को कित्ता नम्बर ५७७ को जग्गा श्रीमती उमादेवी राई समेतको नाममा दर्ता गराएर छोरी स्वोस्तिका चाम्लिङलाई २०७४ पुस २० गते हालैदेखिको बकपत्र गरेर दिएको पाइएको छ ।

२०५१ सालको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग(रावल आयोगको) प्रतिवेदनमा काठमाडौं महानगरपालिका वडा नम्बर १० को प्रतिवेदनले चाम्लिङले बनाएको घर/टावर रहेको जग्गालाई स्पष्ट रुपमा सार्वजनिक जग्गा रहेको स्वास्थ्य लाइभलाई प्राप्त प्रतिवेदनबाट देखिन्छ ।

धोबीखोला करिडोरमा पर्ने अनामनगरको पारीपटी देवीनगरमा भूमाफिया चाम्लिङले दर्ता गराएको ऐलानी जग्गामा काठमाडौं महानगरपालिकाबाट नक्सा पासविपरीत ८ तले अवैध घर बनाएका छन् । यस विषयमा काठमाडौं महानगरपालिका प्रतिनिधिहरु चुपचाप छन् । यसैको मौका छोप्दै भूमाफिया चाम्लिङले सार्वजनिक जग्गा हडप्ने माफियागिरी जारी राखेका छन्  ।

स्वास्थ्य लाइभलाई प्राप्त अन्य प्रमाणले पनि चाम्लिङले ८ तले टावर बनाएको संरचना नै साबिक धोबीखोलाले चर्चेको देखाउँछ । काठमाडौं महानगरपालिका भवन विभागका एक उच्च अधिकारीकाअनुसार चाम्लिङले ४ तले भवनको नक्सा पास गरेर सार्वजनिक जग्गा समेत हडपेर ८ तले टावर बनाएका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगर धोबीखोलासँगै बनेको उक्त भवन भूमाफिया चाम्लिङले सार्वजनिक जग्गा मिचेर बनाएको महानगरपालिकाका अधिकारीहरु बताउँछन् । उनले भवनसँगै सार्वजनिक जग्गामै पार्किङ समेत बनाएका छन् । डिजे मार्ट र आग्लो रेष्टुरेन्टले चाम्लिङले सार्वजनिक जग्गा मिचेर बनाएको पार्किङ प्रयोग गर्दै आएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल त्यही एरियामा बस्ने भएपनि चाम्लिङको अवैध धन्दामा आँखा चिम्लिने गरेका छन् ।

मालपोत ऐन, २०३४ को दफा २४ (२) मा सार्वजनिक जग्गा व्यक्तिले दर्ता गराएको भएपनि पत्ता लागेपछि सरकार कै नाममा फिर्ता ल्याउन सक्ने अधिकार मालपोत कार्यालयलाई दिएको छ । मालपोत कार्यालय डिल्लीबजारले मालपोत ऐनको यो दफा बमोजिम यो जग्गा तत्काल फिर्ता ल्याउन सक्छ ।

भूमाफिया चाम्लिङले उक्त क्षेत्रमा अन्य सरकारी जग्गा कब्जा गरी घर बनाएर मासिक लाखौं भाडा खाइरहेका छन् । चाम्लिङले अहिले देवीनगरको कित्ता नम्बर ५७७ मा उक्त अवैध भवन बनाएर कित्ता नम्बर १९१ को सार्वजनिक जग्गा कब्जा गरेर पर्खाल लगाई पार्किङ बनाएका छन् ।

त्यस्तै उनले कित्ता नम्बर ४o९, ४३० र ६५ को सार्वजनिक जग्गा हडपेर संरचना बनाइ भाडा असुलेर ठगी धन्दा चलाएको पाइएको छ । त्यस्तै सार्वजनिक उल्लेख भएको कित्ता नम्बर ६६, ५४९, ५५२, ५५३ ७७१, ७७२ लगायतका जग्गा पनि हडपेर संरचना बनाइ भाडा खाइरहेपनि राज्यका जिम्मेवार निकाय लाचार छन् ।

कित्ता नम्बर १०७ उल्लेख भएको सार्वजनिक जग्गामा भने भूमाफिया चाम्लिङ र नेकपा एमालेको सिन्धुलीका नेता हेमराज घिसिङले हडपेर मिलेमतोमा घर बनाएका छन् ।

 

क्याटेगोरी : सार्वजनिक सरोकार
ट्याग : ## इन्द्र चाम्लिङ, ## भूमाफिया, #उमादेवी राई, #ओमिक्रोनको मौका छोप्ने, #काठमाडौं महानगरपालिका, #मालपोत कार्यालय, #सार्वजनिक/ ऐलानी / सरकारी जग्गा खाने, #स्वोस्तिका चाम्लिङ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com