डा. विकास देवकोटाको सरुवा कहाँ अड्कियो ?


काठमाडौं । लुम्बिनी प्रदेशमा सचिवको हैसियतमा सरुवा भएर गएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चर्चित प्रवक्ता डा. विकास देवकोटालाई फेरि स्वास्थ्य मन्त्रालय फर्काउने कुरा अड्किएको छ ।

लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा. राजेन्द्र खनाललाई पठाएर लुम्बिनीको स्वास्थ्य सचिवमा रहेका डा. विकासलाई स्वास्थ्य मन्त्रालय फर्काउन प्रस्ताव गएको झन्डै एकमहिना पुग्न लागेको छ । तर सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयको प्रस्तावलाई दराजमा थन्क्याएर राखेको छ ।

देवकोटालाई स्वास्थ्य मन्त्रालयमा ल्याउँदा राष्ट्रियसभा निर्वाचन आचारसंहिता देखाउँदै सरूवा हुन नसकेको प्रचार गराइएको थियो । राष्ट्रियसभाको निर्वाचन सकिएको १० दिन पुगेर फेरि स्थानीय तहको निर्वाचनको आचारसंहिता लागू हुन आँट्दा पनि डा. विकासको स्वास्थ्य मन्त्रालयमा सरुवा हुने कुरा चालचुल छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समेत विकासलाई स्वास्थ्य मन्त्रालयमा ल्याउने विषयमा आलटालमा देखिन्छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी यो विषयमा बुझेर मात्र जवाफ दिन सकिने बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रदेशमा पठाउन खनाललाई गरेको प्रस्ताव रोकेर राख्नुले स्वास्थ्य मन्त्रालयले निकै कमजोर भएको जस्तो पाइन्छ । सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई कोभिड-१९ को संक्रमण भएकाले पनि प्रक्रिया अड्किएको सामान्यका अधिकारीहरूको दाबी छ ।

नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले सेवाबाट अनिवार्य अवकाश पाएसँगै उक्त महाशाखा खाली रहेको छ । डा. विकासलाई स्वास्थ्य मन्त्रालय ल्याउन ठाउँ उपलब्ध भएपनि सामान्य र स्वास्थ्य मन्त्रालयबीचको जुँगाको लडाईंले प्रक्रिया नै अबरूद्ध भएको छ ।

यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको उपकुलपति नियुक्तिको प्रक्रिया पनि अघि बढ्न सकेको छैन । प्राध्यापक बनेको विषयमा विवादमा तानिएका डा. ऋषिकेश नारायण श्रेष्ठलाई  राप्ती प्रतिष्ठानको उपकुलपति बनाउन चलखेल भएपछि प्रक्रिया नै रोकिएको हो ।

नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले श्रेष्ठलाई राप्ती प्रतिष्ठानको उपकुलपति बनाउन चलखेल सुरू गरेको पाइएको छ । उनकै चलखेलका कारण स्थानीय तह निर्वाचनको आचारसिंहता लागू हुनुभन्दा पहिला उपकुलपति नियुक्ति हुनेमा शंका उत्पन्न भएको छ ।

क्याटेगोरी : प्रदेश
ट्याग : ## स्वास्थ्य सचिव, #डा. राजेन्द्र खनाल, #डा. विकास देवकोटा, #लुम्बिनी प्रदेश, #संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, #सरुवा, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com