दुईजना मन्त्री हटाउन प्रधानमन्त्रीलाई एमालेको दबाव


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई दुईजना मन्त्री हटाउन दबाव दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रणुकुमारी यादवलाई पदबाट हटाउन दबाव दिएका हुन् ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले २४ लाख डोज भ्याक्सिन अपचलन गरेकाले उनीमाथि छानबिन र कारबाही गर्न एमाले प्रधानमन्त्री देउवालाई दबाव दिएको हो । त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रणुकुमारी यादवले गौर हत्या जस्तै अर्को हत्याकाण्ड मच्चाउने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनलाई तत्काल पदबाट बर्खास्त गर्न भनेको हो ।

एमाले महासचिव शंकर पोखरेलले दुईजना मन्त्रीमाथि कारबाही गर्न एमालेले प्रधानमन्त्री शेरबाहदुर देउवाको ध्यानाकर्षण गराएको स्पष्ट पारे । २४ लाख कोभिड खोप अपचलन गर्ने स्वास्थ्यमन्त्री र गौर हत्याबारे अभिव्यक्ति दिने मन्त्रीलाई कारबाही गनुर्पर्ने आफूहरूको अडान रहेको महासचिव पोखरेलको भनाई छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले २४ लाख खोपमा भ्रष्टाचार गरेको आरोप लगाउँदै एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत भ्रष्टाचारमा कारबाही गर्न उजुरी दर्ता गराइसकेको छ । २ अर्ब ४० करोड रुपैयाँको बिगो दाबी गर्दै युवा संघले स्वास्थ्यमन्त्री खतिवडामाथि भ्रष्टाचारमा कारबाही गर्न अख्तियारमा उजुरी हालेको हो । फेरि माउ पार्टी एमालेले पनि प्रधानमन्त्री देउवासँग स्वास्थ्यमन्त्री खतिवडाले खोपमा अनियमितता गरेको भन्दै कारबाही र बर्खास्त गर्न माग गरेको हो ।

त्यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीको कार्यकर्ताको हत्या गर्ने धम्की दिने र रौतहटको गौरमा भएको माओवादी कार्यकर्ताको सामूहिक हत्याको जिम्मा लिने भौतिकमन्त्री यादवलाई पनि बर्खास्त गरेर तत्काल कारबाही थाल्न एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई दबाव दिएका हुन् । नेकपा एमाले दुईजना मन्त्रीलाई कारबाही गर्नुपर्ने आफ्नो अडानमा स्पष्ट रहेको महासचिव पोखरेलको भनाइ छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : ## प्रधानमन्त्री शेरबहादुर देउवा, #एमाले अडान, #एमाले अध्यक्ष केपी ओली, #कोभिड-१९ खाप, #गौर हत्या काण्ड, #मन्त्री बर्खास्त, #रेणुकुमारी यादव, #शंकर पोखरेल, #स्वास्थ्य मन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com