२४ लाख डोज खोप प्रकरण

आरोप प्रमाणित भए दश वर्षसम्म जेल जान सक्छन् स्वास्थ्यमन्त्री

युवा संघले अख्तियारमा हालेको उजुरीमा बिगो र जरिवानासहित ४ अर्ब ८० करोड भराउन माग गरिएको छ


काठमाडौं ।  हराएको भनिएको २४ लाख खोप डोज खोपको विषयमा राष्ट्रिय युवा संघ, नेपालले स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ ।

युवा संघले अख्तियारमा हालेको उजुरीमा खतिवडाले मन्त्री भई जिम्मेवारी बहन गरेपछि २४ लाख भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको उल्लेख छ ।

मन्त्री खतिवडालाई भ्रष्टाचार निवारण ऐन २०५९ दफा ३, ८ र १७ को प्रावधान बमोजिम कारबाही गर्न उजुरीमा माग गरिएको छ ।

युवा संघले माग गरेको भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ बमोजिमको आरोप प्रमाणित भए मन्त्री खतिवडा १० वर्षसम्म जेल जाने देखिन्छ ।

उक्त दफामा एक करोड रुपैयाँभन्दा बढी जतिसुकैको भ्रष्टाचार गरेपनि आठ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ । युवा संघले हालेको उजुरीमा मन्त्री खतिवडा लगायतको टिमले २ अर्ब ४० करोड रुपैयाँ राज्यकोषको रकम हिनामिना गरेको दाबी गरेको छ । त्यो दाबीअनुसार रकम हिनामिना भएको प्रमाणित भए उनीहरूमाथि १० वर्षसम्म कैद हुने देखिन्छ ।

युवा संघले अख्तियारमा हालेको उजुरीमा भ्रष्टाचार निवारण ऐन,२०५९ को ८ बमोजिमको २ अर्ब ४० करोड बिगो खुलाएकाले सोही बमोजिमको जरिवाना हुँदा ४ अर्ब ८० करोड त बिगो र बिगो बमोजिमको जरिवाना तिर्नु पर्ने देखिन्छ ।अख्तियारले छानबिन गर्दा मुद्दा चल्ने प्रमाण चुटाउन सक्यो भने स्वास्थ्यमा यति ठूलो बिगोसहितको यो नै ठूलो  भ्रष्टाचारको मुद्दा बन्ने छ ।

 

 

क्याटेगोरी : सुशासन
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ## स्वास्थ्यमन्त्री विरोध खतिवडा, #२ अर्ब ४० करोड बिगो, #२४ लाख खोप हिनामिना, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com