डा. उप्रेतीले थापागाउँको पर्ती जग्गा ‘किर्ते’ गरेर हडपे, पाठशाला स्कूलको मिलेमतो

बानेश्वरको पाठशाला स्कूलले भाडामा लिएको जग्गामाथि अख्तियारको छानबिन


काठमाडौं । डा. प्रेमरमण उप्रेतीले बानेश्वर, थापागाउँको सरकारी (पर्ती) जग्गा ‘किर्ते’ गरेर हडपेको तथ्य फेला परेको छ ।

स्वास्थ्य लाइभलाई प्राप्त कागजातअनुसार डा. प्रेमरमण उप्रेती र दीपकरमण उप्रेतीको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वर थापागाउँ हाइटमा झन्डै १ रोपनी सरकारी मानिने पर्ती जग्गा दर्ता भएको पाइएको छ । थापागाउँस्थित उक्त ‘किर्ते’ दर्ता भएको पर्ती जग्गा पाठशाला स्कूलको मिलेमतो पार्किङका लागि भाडामा लगाइएको पाइन्छ ।

सामाजिक सञ्जाल आदर्शवान भनेर परिचित कवि अर्जुन पराजुलीको समेत लगानी रहेको पाठशाला स्कूलले लामो समयदेखि सार्वजनिक प्रयोजनका लागि प्रयोग गर्दै आएको उक्त जग्गा भाडामा लिएर गाडी पार्किङ गर्न थालेको छ । पाठशालाले उप्रेती परिवार कै थप जग्गामा पनि मन्टेश्वरी खोल्ने तयारी थालेको छ । पाठशालाको डिजाइनमा सार्वजनिक प्रयोजनका लागि प्रयोग हुँदै आएको जग्गा कब्जा भएपछि स्थानीय वासिन्दाहरू पाठशालासँग रुष्ट बनेका छन् ।

पाठशाला स्कूलले उकासेर निर्वाचन र भूकम्पलगायतका प्राकृतिक प्रकोपमा प्रयोग गरिदै आएको जग्गा डा. उप्रेतीको परिवारबाट भाडामा लिई पार्किङका लागि प्रयोग गरेको हो ।पाठशालाले पार्किङका लागि कब्जा गरेपछि मात्र उक्त जग्गा व्यक्तिले हडपेको स्थानीयले चाल पाए ।

पाठशाला स्कूलले पार्किङका लागि जस्ताले घेरेपछि स्थानीयले खोजी गर्दा सार्वजनिक प्रयोजनका लागि प्रयोग हुँदै आएको थापागाउँस्थित उक्त पर्ती उल्लेख भएको जग्गा ढड्डामा केरमेट गरेर डा. उप्रेती दाजुभाईको नाममा ‘किर्ते’ दर्ता गरेको फेला परेको हो । यो काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन सुरू गरेको छ ।

मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंका एक अधिकारीले उप्रेती परिवारले थापागाउँस्थित  पर्ती जग्गा किर्ते गरेर हडपेको भन्ने विषयमा अख्तियारले पत्र काटेको पुष्टि गरे ।

अहिलेसम्म कसैले भोगचलन र खनजोत गर्ने आँट नगरेको थापागाउँको त्यो जग्गा भाडामा लगाएपछि खोजी गर्दा २०२१ सालको नापी अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित साबिकको महादेवस्थान ६( ख) सिट नम्बर १७२–११४६–०७ को कित्ता नम्बर ७९ को क्षेत्रफल १ रापनी १२ आना २ पैसा पर्ती उल्लेख भएको जग्गामध्ये कित्ताकाट भइ नयाँ कित्ता नम्बर १२७ को क्षेत्रफल १५ आना १ दाम जग्गा मालपोत कार्यालय डिल्लीबजारबाट २०५३ साल असार १२ गते डा. उप्रेती दाजुभाईको नाममा दुषित दर्ता गराएको देखिन्छ ।

पाठशाला स्कुलले मिलेमतोमा डा. उप्रेती परिवारसँग पार्किङका लागि भाडामा लिएको उक्त जग्गा खोजी गर्दा २०२१ सालमा उक्त जग्गा नापी हुँदा फिल्ड–बुकमा ७ नम्बर ‘पर्ती’ उल्लेख जग्गा २०५३ साल असारमा दर्ता उनीहरूको नाममा दर्ता गरेको पाइन्छ ।

२०२१ सालको नापी अनुसार सर्भे नापजाँचको नक्सामा ७ नम्बर र फिल्ड–बुकमा ‘पर्ती’ उल्लेख भएको थापागाउँ लाखेचौर मार्गस्थित उक्त खुला जग्गा पाठशाला स्कुललाई भाडामा लगाउन टिनले घेरेपछि स्थानीयले खोजबिन गर्दा डा. प्रेमरमण उप्रेती र दिपकरमण उप्रेती नाममा दुषित दर्ता भएको रहस्य खुलेको हो ।

करिब ५ दशकदेखि सार्वजनिक प्रयोगमा आइरहेको त्यो जग्गामा एक्कासी घेराबारा गरेर पाठशाला स्कूललाई पार्किङको लागि भाडामा दिएपछि उप्रेतीद्वयको नाममा दर्ता गराइएको रहस्य खुलेको हो ।

थापागाउँका स्थानीयको भनाईअनुसार पाटनतिरका नेवार थरका व्यक्तिले नुन छरेर छोडेको भनिएको थापागाउँको त्यो जग्गामा स्थानीय वासिन्दाले आफ्ना बालबच्चालाई खेलकूदका लागि मर्मत सम्भार गरेर प्रयोग गर्दै आएका थिए । सार्वजनिक जग्गाकै मानेर निर्वाचनको मतदान केन्द्रसमेत नजिकैको मेरिगोल्ड स्कुलमा राख्दै आइएको छ । सार्वजनिक जग्गा पाठशाला स्कूलले प्रयोग गर्न थालेपछि स्थानीयहरु मालपोत, भूमिसुधारदेखि अख्तियारसम्म पुगेका छन् ।

जग्गा नापजाँच ऐन २०१९ तथा मालपोत ऐन २०३४ ले पर्ती जग्गा भन्नाले सरकारी जग्गालाई जनाउने परिभाषा गरेको छ। मुलुकी देवानी (संहिता) ऐेन २०७४ दफा २९९ को (ङ) मा पनि पर्ती जग्गालाई सरकारी सम्पत्ति मानिने उल्लेख छ । तर त्यहिँ पर्ती जग्गा पाठशाला स्कूलसँग मिलेर डा. उप्रेतीको परिवारले हडपेपछि उनको नाममा ‘किर्ते’ दर्ता भएको रहस्य खुलेको हो ।

क्याटेगोरी : सार्वजनिक सरोकार
ट्याग : ## अख्तियार, ## बानेश्वर, #कवि अर्जुन पराजुली, #किर्ते', #डा. प्रेमरमण उप्रेती, #थापागाउँ, #दुषित दर्ता, #पर्ती जग्गा, #पाठशाला स्कूल, #पार्किङ, #मन्टेश्वरी, #मालपोत कार्यालय, #सार्वजनिक जग्गा हडप्ने

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com