उपेन्द्र यादवको स्वार्थले अघि बढ्न सकेन मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान


समाचार टिप्पणी

काठमाडौं । रौतहटको गौरमा दर्जनौं माओवादी कार्यकर्ताको अमानवीय हत्या गर्दै मधेश र मधेशीको अधिकारको नारा साथ साम्प्रदायिक राजनीतिबाट उदाएका उपेन्द्र यादवले नेपालको राजनीतिमा सबैभन्दा अस्थिर नेताको रूपमा पहिचान बनाएका छन् । त्यो कुराको पुष्टि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले सार्वजनिक रुपमै अभिव्यक्ति दिएर गरिसकेकी छिन् ।

पञ्चायतकालीन समयदेखि मधेस र मधेसीको अधिकारकोनिमित्त लडेका गजेन्द्रनारायण सिंहलगायतका नेताहरुको इतिहाँस मेटाउने र मधेशको राजनीति आफ्नो मुठ्ठीमा राख्ने प्रपञ्चमा २०६२/०६३ आन्दोलनदेखि लागेका यादवले राजेन्द्र महतो, महन्त ठाकुर, जय प्रकाश गुप्तालगायतको राजनीतिक जीवनमा निरन्तर हमला गरिरहेका छन् । “काठमाडौंको सत्ता राजनीतिमा मधेश आन्दोलनका नेताहरुको टाउको बेचेर स्वार्थसिद्ध गर्ने कला छ उपेन्द्रमा, तर आगामी निर्वाचनमा उनले मधेशी जनताकोतर्फबाट जवाफ पाउनेछन्” मधेश प्रदेशका एक नेताले भने ।

राजेन्द्र महतोको तत्कालीन राष्ट्रिय जनता पार्टीको चुनावी प्रतिवद्धता अनुरुप महतो कै निर्देशनमा प्रदेश सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान समेत उपेन्द्र यादवको कोपभाजनमा परेर मृत अवस्थामा पुगेको छ । बि.स. २०७७ कार्तिक २५ गते मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमार्फत प्रदेश सभाले स्थापना गरेको प्रतिष्ठानमा पदाधिकारी नियुक्ति प्रक्रियादेखि आर्थिक कारोबारसम्ममा मुख्यमन्त्रीमार्फत उपेन्द्र यादवले हस्तक्षेप गर्न थालेपछि सबै क्रियाकलापहरु लगभग ठप्प छन् ।

प्रदेशका मुख्यमन्त्री कुलपति रहने व्यवस्था रहेको प्रतिष्ठानको उपकुलपतिमा यादवले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष चलाउन नसकेर भागेका डा. विश्वनाथ यादवलाई नियुक्ति दिलाउन प्रदेश सामाजिक विकासमन्त्री नवल किशोर शाहलाई महिनौंसम्म दवाव दिएका थिए ।  नियुक्ति समयमा राजेन्द्र महतोको राष्ट्रिय जनता पार्टीकोतर्फबाट मन्त्री बनेका साहले उपेन्द्र यादवको चाहना पुरा हुन दिएनन् र जनकपुरका प्रवुद्ध चिकित्सक डा. राम केवल साहलाई सिफारिस गरेर नियुक्ति दिलाउन सफल भए ।

आफूले सिफारिस गरेको व्यक्तिलाई उपकुलपति बनाउन असफल भएपछि प्रतिष्ठान आफ्नो हातबाटबाहिर जाने भयो भनेर झस्किएका यादवले प्रतिष्ठानको रजिष्ट्रार पदमा केपी ओली सरकारको स्वास्थ्यमन्त्री रहँदाताका नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्ष बनाउने शर्तमा आर्थिक चलेखल गरेपनि ओलीको दवावले नियुक्ति गराउन नसकेका डा. विनोद कुमार यादवलाई खडा गरे ।

‘केन्द्रीय क्याम्पस महाराजगंजमा कार्यरत डा. यादव दुई वर्षदेखि यादवको घरमा धर्ना दिंदै थिए, त्यही समस्या समाधान गर्न यादवले मुख्यमन्त्रीमार्फत उनैलाई रजिष्ट्रार नियुक्ति गराउन मन्त्रीलाई दवाव दिएर सफल पनि भए । तर यादवको त्यही हठ नै प्रतिष्ठान अघि नबढ्ने प्रमुख कारण बन्यो’, प्रदेश सामाजिक मन्त्रालयका एक अधिकारीले स्वास्थ्य लाइभलाई सुनाए ।

डा. यादव रजिष्ट्रार नियुक्त भएर जनकपुर आएपछि उनले पहिलो दिनदेखिनै उपकुलपतिसमक्ष आर्थिक अधिकार खोज्न थाले । ‘सबै खरिद र सरूवा बढुवा रजिष्ट्रारको मातहतमा हुनुपर्दछ, हैन भने म मेरो फूफा (उपेन्द्र यादव)सँग कुरा गरेर उपकुलपति नै परिवर्तन गराइदिन्छु’ भन्दै प्रतिष्ठानको कार्यालयमा डा. यादवले पटकपटक धम्की दिन थालेको गुनासो आउने गरेको छ । त्यति मात्र नभएर प्रतिष्ठानको प्रथम सिनेटले पारित गर्नु पर्ने नियमावलीलगायत गोप्य कागजातहरु समेत पत्रकारलाई उपलब्ध गराई प्रतिष्ठानको सिनेट बैठक नै नहुने अवस्थामा पुर्‍याएको उनीमाथि आरोप लाग्यो ।
प्रतिष्ठानमा डा. यादवले उपकुलपति निकाल्न प्रयास जारी राख्दै गरेको अवस्थामा निजको योग्यता सम्बन्धमा उच्च अदालत जनकपुरमा मुद्दा पर्‍यो र यादवलाई अदालतले अयोग्य ठहर गर्दै पदमुक्त गर्‍यो ।

‘बागमती प्रदेश सरकारलेसँगै स्थापना मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनेकौं तरक्की गरिसक्दा पनि प्रतिष्ठानको प्रशासनिक संरचना समेत बनाउन नसकेको यो प्रतिष्ठानको विकास र विस्तारमा प्रदेश सरकारलाई निर्देशन दिनु पर्नेमा सबै कार्यक्रम स्थगित गराएर पुन: डा. विनोद यादवलाई नै रजिष्ट्रार नबनाए उपकुलपति सुरक्षित नरहने सन्देश पठाउँद हलो अड्काउने यादवलाई हामी कसरी मधेशको महिसा मान्ने’, प्रदेश योजना आयोगका एक पदाधिकारीले स्वास्थ्य लाइभसँग भने ।  पूूर्व उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री यादवका रबैया र स्वार्थले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान नै अघि बढ्न नसक्ने अवस्था पुगेको टिप्पणी हुन थालेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #उपेन्द्र यादव, #मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, #विनोद यादव, #विश्वनाथ यादव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com