सिटामोलमा वजन थपेर मूल्य बढाउने खेल, डीडीए-व्यापारीको मिलेमतोमा उपभोक्तामाथि अपराध


काठमाडौं ।  सिटामोलमा वजन थपेर मूल्य बढाउने खेल सुरु भएको पाइएको छ । औषधि व्यवस्था विभाग (डीडीए) र औषधी व्यापारीको मिलेमतोमा अवैध रुपमा सिटामोलको ‘वजन’ बढाएर महँगोमा बेच्न चलखेल भइरहेको पाइएको छ ।

डीडीए र व्यापारीको मिलेमतोमा भइरहेको उक्त चलेखाललाई डीडीए कै अधिकारीले उपभोक्तामाथि अपराधको संज्ञा दिएका छन् ।

महामारीको मौका छोपेर मुल्य बढाउन देशरभर सिटामोलाको अभाव बनाएका औषधि व्यवसायीले डीडीएको महानिर्देशक परिवर्तनसँगै सिटामोलको मूल्य बढाउन फरक रणनीति तयार पारेका छन् । स्वास्थ्य लाइभले पाएको गोप्य सूचना अनुसार नेपालका औषधि उद्योगीहरुले अवैध रुपमा सिटामोलको वजन बढाएर बढी मूल्यमा बेच्नेगरी चलखेल थालेका छन् ।

उच्च स्रोतका अनुसार बुधबार औषधि सल्लाहकार समितिको बैठक बस्दैछ । उक्त बैठकमा सिटामोलको वजन वृद्धि गर्नेबारे प्रस्ताव पेश गरिने भएको छ । सल्लाहकार समितिको अध्यक्ष स्वास्थ्य सचिव हुने प्रावधान रहेको छ । औषधि व्यवस्था विभागको महानिर्देशक परिर्वन गरी भरत भट्टराई गएसँगै मुल्य वृद्धि गर्न चाहने शक्तिहरु सल्बलाएका हुन् ।

औषधि  उत्पादक संघका पूर्व अध्यक्ष समेत रहेका औषधि परामर्श परिषद्का सदस्य दीपक दाहाल, औषधि उत्पादक संघ तथा व्यापारी विप्लव अधिकारी लगायतसँगको मिलेमतोमा डीडीएका उच्च अधिकारीहरू अवैध रुपमा सिटामोलको वजन बढाएर बढी मूल्यमा बेच्नेगरी चलखेलमा लागेको सूचना स्वास्थ्य लाइभले पाएको छ ।

कोरोना महामारीको तीन वर्ष जनता सिटामोल समेत किन्न नसक्ने गरी पिल्सिएका छन् । तर, नेतृत्व हातमा पुग्न नपाउँदै  सरकारी अधिकारीहरु नागरिकको ढाड सेक्ने गरी सिटामोलकाे मुल्यवृद्धि गराउँन औषधि माफियाको चंगुलमा फसेका छन् ।

नेपालमा सिटामोल ५ सय मिलिग्रामको चक्की मात्रै उत्पादन हुँदै आएको छ । वैधानिक रुपमा सरकारले ५ सय मिलिग्रामको सिटामोलको मूल्य प्रतिचक्कि एक रुपैयाँ तोकेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भन्छन्, ‘अहिलेसम्म ५ सय मिलिग्राम भन्दा बढीको सिटामोल उत्पादन हुँदैन र मूल्य पनि तोकिएको छैन ।’,

स्रोतका अनुसार ५ सय मिलिग्रामको सिटामोललाई बढाएर प्रतिचक्की ६५० मिलिग्राम बनाउन ठूलो चलखेल भएको छ । पटकपटक सिटामोलको  मूल्य बढाउन बजारमा व्यवसायीले कृत्रिम अभाव बनाएपनि यसलाई जनताले स्वीकार गरेका छैनन् । सोझो बाटोबाट सिटामोलको मूल्य वृद्धि हुँदैन भन्ने बुझेका व्यवसायीहरुले सिटामोलको वजनमै वृद्धि गरेर बढी मूल्यमा बेच्न चोरीको बाटोबाट चलेखल  सुरू गरेका हुन् ।

औषधि व्यवसायीहरुले फेरी सिटामोलको वजन बढाएर जनताको ज्यानमाथी गम्भीर खेलबाड गर्ने दुस्साहस गरेको देखिन्छ । जनताको ज्यानमा कुनै प्रवाह नगरी ६ सय ५० मिलिग्रामको ट्याब्लेट उत्पादन गर्ने प्रस्ताव सल्लाहकार समितिमा पेश गर्न लाग्नु गम्भीर विषय भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

५ सय मिलिग्रामको औषधि खाएका नागरिकले ६५० मिलिग्रामको खाँदा स्वास्थ्यमा गंभिर समस्याहरु देखिने चिकित्सकहरु बताउँछन् । बरिष्ठ चिकित्सक डा. ऋषि कुमार काफ्ले औषधिको वजन बढाउँदा दुरुपयोग हुने बताउँछन् । ‘नेपालीहरु ५ सय मिलिग्रामको खाने बानिपरेका छन्’, उनले भने, ‘ बढी वजनको बेच्दा व्यापारीलाई फाइदा हुन्छ । तर नागरिकलाई जानकारी हुँदैन । त्यसैले यसको प्रयोगले मिर्गौला, कलेजो जस्ता शरिका अन्य अंगमा असर पुर्‍याउँछ ।’,

अवैध रुपमा ल्याउन लागिएको प्रस्तावले स्वास्थ्य सचिवलाई प्रभावमा पार्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । तर, प्राविधिक सचिव भएकाले जनताको ज्यानको ख्याल पक्कै गर्लान् । जानकारीमा आए अनुसार वजन बढाएर प्रतिचक्कि २ रुपैयाँमा बेच्ने खेल हो । यो बदमासीको खेल नरोकिए डीडीए कै अधिकारीहरुको भनाइमा सिटामोलमा उपभोक्तामाथि गम्भीर अपराध हुनेछ । डीडीएका हाकिमले औषधि माफियाको स्वार्थ पूर्ति गर्छन् कि जनस्वास्थ्य र उपभोक्तामाथि अपराध गर्ने खेल रोक्न लाग्छन् बुधबार बस्ने औषधि सल्लाहकार समितिको बैठकबाट थाहा हुन्छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : ## प्यारासिटामोल, #औषधि सल्लाहकार परिषद, #डीडीए, #भरत भट्टराई, #सिटामोल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य सचिव डा. रोशन पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com