बेलायत कै ‘मोडल’मा नेपालबाट माल्दिभ्समा नर्स-डाक्टर पठाउने तयारी


काठमाडौं । बेलायत कै ‘मोडल’मा नेपालबाट माल्दिभ्समा नर्स र डाक्टरलगायत स्वास्थ्यकर्म पठाउने तयारी भएको छ ।

नेपाल र बेलायत सरकारबीच ठूलो संख्यामा नर्स, डाक्टरलगायत कामदार लाने गरी श्रम सम्झौता गर्ने तयारी सुरु भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि माल्दिभ्सका नवनियुक्त राजदूत डा. हसन नियाजबीच भएको शिष्टाचार भेटमा नेपाली नर्स र डाक्टलगायतका श्रमिक पठाउने गरी छलफल भएको हो ।

मन्त्री श्रेष्ठसँग र राजदूत डा. हसनबीच बिहीबार मन्त्री निवास पुल्चोकमा भएको भेटवार्तामा नेपाल-माल्दिभ्सबीच श्रम सम्झौता गरेर ठूलो संख्यामा नर्स, डाक्टरलगायतका श्रमिक पठाउने विषयमा छलफल गरेको श्रममन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

नेपाली डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मी तथा श्रमिकलाई माल्दिभ्समा रोजगारी उपलब्ध गराउन माल्दिभ्स सरकारको तर्फबाट राजदूत हसनले गरेको प्रस्तावलाई मन्त्री श्रेष्ठले सकारात्मक रुपमा लिएका छन् । अहिले पनि २ सय बढी नेपाली स्वास्थ्यकर्मी र अन्य श्रमिक गरी ५ हजार बढी कामदार माल्दिभ्समा कार्यरत रहेका छन् । बेलायतपछि ठूलो संख्याका माल्दिभ्सले नेपाली स्वास्थ्यकर्मी रोजगारीका लागि लैजाने तयारी गरेको छ । बेलायतमा श्रमिक पठाउन श्रम मन्त्रालय र माल्दिभ्स सरकारबीच सरकारीस्तर (जीटूजी) मोडलमा सम्झौता गर्ने प्रस्ताव गरिएको छ ।

नेपालमा चिकित्सा अध्ययनका लागि माल्दिभ्सका विद्यार्थीहरूलाई अवसर दिन यसअघि भएको दुईपक्षीय शैक्षिक सहयोगसम्बन्धी सम्झौता नवीकरण गर्ने विषयमा पनि मन्त्री श्रेष्ठ र राजदूत डा. हसनबीच गम्भीर छलफल भएको छ । यो कुरा छिट्टै टुंगोमा पुग्ने श्रममन्त्री श्रेष्ठको सचिवालयले स्वास्थ्य लाइभलाई जानकारी दियो ।

डाक्टर, नर्सहरूलगायत नेपाली श्रमिकलाई माल्दिभ्सको सरकारी अस्पतालहरूमा रोजगारी उपलब्ध गराउन नेपाल-माल्दिभ्सबीच हुने श्रम सम्झौताको मस्यौदा तयार भइसकेको श्रम मन्त्रालयले जनाएको छ ।  चाँडै श्रम सम्झौता भएर माल्दिभ्समा स्वास्थ्यकर्मी पठाउने सरकारको तयारी छ ।

मेडिकलसँगै पर्यटन, निर्माणलगायत क्षेत्रमा पनि नेपाली श्रमिकलाई रोजगारीका लागि पठाउने विषयमा अध्ययन भइरहेको श्रम मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #जीटूजी, #डाक्टर नर्स, #माल्दिभ्स, #माल्दिभ्सका नवनियुक्त राजदूत डा. हसन नियाज, #रोजगारी, #श्रम मन्त्रालय, #श्रममन्त्री कृष्ण कुमार श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com