भोजपुरमा हुने निःशुल्क स्वास्थ्य शिविरमा राज्यमन्त्री श्रेष्ठ पनि जाने 


काठमाडौं । भोजपुरमा हुने निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि जाने भएका छन् । यही फागुन २७ र २८ गते भोजपुर जिल्ला अस्पतालमा हुन गइरहेको वृहत्त निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन उनी भोजपुर जान लागेका हुन् ।

राज्यमन्त्री श्रेष्ठले भोजपुर जिल्ला अस्पतालमा सञ्चालन हुन लागेको स्वास्थ्य शिविरमा सहभागी हुन भोजपुर जान लागेकोस्वास्थ्य लाइभलाई बताए । स्वास्थ्य शिविरले भोजपुरको स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुग्ने उनको विश्वास छ । पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका श्रेष्ठले आफू जन्मिएको ठाउँमा वृहत्त स्वास्थ्य शिविर हुन लागेको र जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिने अवसर प्राप्त भएको भन्दै खुसी व्यक्त गरे ।

भाेजपुर  नगरपालिकाकाे आयाेजना तथा नेपाल चिकित्सक संघ, दावाँली मिलन क्लब, कृष्णलक्ष्मी-लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानलगायतका भोजपुरसँग सम्बन्धित विभिन्न सामाजिक संस्थाहरूको समन्वयमा भोजपुर जिल्ला अस्पतालमा दुुुुुुुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना हुन गइरहेको छ । ५० जनाभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा ५ हजार बढी बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिने आयोजक संस्थाहरूको उद्देश्य रहेको छ ।

भोजपुर जिल्ला अस्पतालमा हुने उक्त निःशुल्क स्वास्थ्य शिविरमा डा. लोचन कार्कीदेखि डा. भगवान कोइरालासम्मको जमघट हुनेछ । भोजपुर जिल्ला अस्पतालमा हुने निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन नेपाल चिकित्सक संघका अध्यक्ष समेत रहेका डा. कार्की, कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीरका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र कुमार बस्नेत र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइराला प्रमुख आकर्षकका पात्र हुन् ।

त्यस्तै ओम अस्पतालका अध्यक्ष आनन्दप्रसाद श्रेष्ठ पनि उक्त स्वास्थ्य शिविरमा सहभागी हुने दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठको भनाइ छ । वृहत्त निःशुल्क स्वास्थ्य शिविरमा छाला तथा यौन रोग डा. सञ्जुबाबु श्रेष्ठ, न्युरोसर्जन डा. प्रत्युश श्रेष्ठ, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. रश्मी कोइरालालगायत ५० जनाभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरू संलग्न हुने आयोजक संस्थाहरूले जनाएको छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #कृष्णलक्ष्मी-लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान, #डा. आनन्द श्रेष्ठ, #डा. भगवान कोइराला, #डा. लोचन कार्की, #दावाँली मिलन क्लब, #निःशुल्क स्वास्थ्य शिविर, #नेपाल चिकित्सक संघ, #प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, #रोशन श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com