भोजपुरमा स्वास्थ्य उपचारका लागि बिरामी स्टेचरमै बोकेर लग्नुपर्ने बाध्यता

चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको पहलमा भोजपुरमा नयाँ एम्बुलेन्स पठाइँदै


काठमाडौं । पूर्वी पहाडी जिल्ला भोजपुरमा स्वास्थ्य उपचारका लागि बिरामी स्टेचरमै बोकेर स्वास्थ्य संस्था लग्नुपर्ने बाध्यता अन्त्य भएको छैन ।  भोजपुर जिल्लाका रामप्रसाद राई, आमचोक, हतुवागढी, साल्पासिलिछो, पौवा दुङ्मा, अरुणलगायतका गाउँपालिकामा अझै स्टेचरमै बोकेर बिरामीलाई स्वास्थ्य उपचारका लागि लानु पर्ने अवस्था रहेको छ ।

भोजपुर जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा समेत दुर्गम भेगका बिरामी सदरमुकाम आउन समस्या भएको थियो । भोजपुर जिल्लामा एम्बुलेन्स सुविधा नहुँदा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन निकै कठिनाई भइरहेको छ ।

भोजपुर जिल्लामा सुविधायुक्त एम्बुलेन्स सेवा उपलब्ध नभएपछि दुर्गम भेगका जनतालाई स्थानीय स्वास्थ्य चौकी र  जिल्ला अस्पतालसम्म ल्याएर उपचार गराउन निकै सकस पर्दै आएको छ । स्थानीय युवाहरू विदेश जाने लहर चलेकाले स्टेचरमा हालेर स्वास्थ्य संस्थासम्म लाने मान्छे पनि पाउन मुस्किल छ ।

तस्बिर: रासस

भोजपुर जिल्लामा अझै स्टेचरको भरमा बिरामीलाई स्वस्वास्थ्य उपचारमा लानु पर्ने अवस्था देखेपछि नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले पहल गरेर सुविधासम्पन्न एम्बुलेन्स उपलब्ध गराउने भएका छन् । उनको पहलमा भोजपुरको अरुण गाउँपालिकाको प्याउलीस्थित  प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ एम्बुलेन्स पठाउने लागिएको हो । अध्यक्ष डा. कार्कीका अनुसार भारतीय दूतावासको सहयोगमा प्याउलीमा रहने गरी उक्त एम्बुलेन्स पठाउने तयारी भएको छ । सुविधायुक्त उक्त एम्बुलेन्स भोजपुर जिल्लाभर नै उपयोग गर्न मिल्ने र बिरामीलाई स्टेचरमा बोकेर स्वास्थ्य संस्थामा लानु पर्ने अवस्थाको अन्त्य हुने उनको विश्वास छ ।

एम्बुलेन्स लिनका लागि प्राथमिक स्वास्थ्य केन्द्र प्याउलीका सिनियर अहेब रुपक पुलामी मगरले काठमाडौंमा आएर कागजात बुझाएर फर्किएका छन् । एक महिनाभित्रमा एम्बुलेन्स प्राप्त हुने भन्दै पुलामीले सम्झौता गरेर फर्किएको स्वास्थ्य लाइभलाई बताए ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि भोजपुरका लागि एम्बुलेन्स उपलब्ध गराउने प्रयास थालेका छन् ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : ## एम्बुलेन्स, #अध्यक्ष डा. लोचन कार्की, #अरुण गाउँपालिका भोजपुर, #नेपाल चिकित्सक संघ, #प्राथमिक स्वास्थ्य केन्द्र प्याउली, #बिरामी, #भारतीय दूतावास, #भोजपुर जिल्ला, #स्टेचर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com